काठमाडौं, फागुन १९ । अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको हो ।
सिआइबीका अनुसार उनीहरु ५५ दिनअघि बरामद साढे ३३ किलो सुन तस्करीमा संलग्न थिए । पक्राउ परेकामध्ये केहीले भारतमा सुन पठाउने र केहीले नेपालकै सुन पसलमा बेच्दै आउका थिए ।
उनीहरुमाथिको अनुसन्धानबाट सुनपसलको पनि पहिचान हुने प्रहरीले जनाएको छ ।
अनुसन्धान अन्तिम चरणमा
सिआइबी निर्देशक डिआइजी नवराज सिलवालले तस्करीमा संलग्न थप व्यक्तिलाई पक्राउ गरिएको बताए । ‘सुन तस्करीको अनुसन्धान अन्तिम चरणमा पुृगेको छ ,’ उनले भने, ‘आइतबारसम्म अनुसन्धान पूरा गरी मुद्दा दायरको प्रक्रियामा जान्छौं ।’ मुख्य नाइके अझै फरार छन् । तस्करीमा संलग्न प्रमोद श्रेष्ठलगायत व्यपारी दुबईमा रहेको प्रहरी स्रोतले बतायो ।
एयरपोर्टका भन्सार कर्मचारी तथा प्रहरीको मिलेमतोमा लामो समयदेखि दुबईबाट नेपालमा सुन तस्करी हुँदै आएको थियो । सिआइबीले गत २१ पुसमा दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको साढे ३३ किलो सुन बरामद गरेको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।