काठामाडौं फागुन ७ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्तहरुसँगको भेटमा प्रजातन्त्र दिवसका अवसरमा शनिबार स्थानीय निर्वाचन मिति तोकिने बताएका छन् ।
‘प्रधानमन्त्री प्रचण्डले हामीसँगको भेटमा स्थानीय निर्वाचनको मिति शनिबारै तोकिने बताउनुभयो’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै आयोगका एक सदस्यले भने ।
जतिसक्दो छिटो स्थानीय निर्वाचनको मिति घोषणा गर्न आयोग पदाधिकारीले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए । आयोगका प्रमुख आयुक्त यादवले जेठ १ र २१ गतेको मिति प्रस्ताव गरे पनि प्रधानमन्त्रीले भने ‘सात–दस’ दिनको फरकमा निर्वाचन गराउनुपर्ने धारणा राखेको बताइएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
प्रधानमन्त्री प्रचण्डले आयोगका पदाधिकारीसँगको परामर्शमा मुलुकको सुरक्षा अवस्थालाई दृष्टिगत गरी शनिबार नै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बनाएको प्रधानमन्त्री सचिवालय स्रोतको भनाइ छ ।