छापामार, कलाकार हुँदै शिक्षक बनेका देवकोटा क्याम्पस टप

Avatar photo
Dhadingpost
सोमवार, माघ १७, २०७३

धादिङबेसी । स्कुल जाँदा जाँदै बुर्जुवा र अव्यवहारिक शिक्षा अन्त्यका लागि तात्कालिन माओवादीको जनयुद्धमा होमिएका संजय देवकोटा छापामार, माओवादी निकट जनकलाकार लापाली विरिम साँस्कृतिक कलाकारको अध्यक्ष र शान्तिकाल प्रवेस गरेपछि पत्रकारीता गर्दै रोकिएको पढाईलाई निरन्तरता दिने निश्कर्षमा पुगे ।

रसुवा धैवुङ ८ मा २०४७/०७/०९ जन्मिएका देवकोटा जनयुद्धमा वचेका सिपाही थिए, जनयुद्धले उनलाई धादिङमा स्थापित गरायो अधिकाँश समय धादिङमा रहेर पार्टीको काममा अभ्यस्त रहे, हिजोका नारा नफेरिए पनि पुर्णत पाटी व्यवहारगत रुपमा फेरिदैगएको आभाष गरे र आफ्नो पढाईलाई लामो ग्यावलाई मेट्ने योजना अनुरुप उनी नीलकण्ठ उमाविमा धादिङबेसीकाट एसएलसी दिने गरि पढाई सुरु गरे यो सँगै रेडियो बिहानीमा पत्रकारीता गर्दै गरेका देवकोटा स्नातकोत्तर प्रथम वर्ष सम्म आईपुग्दा नीलकण्ठ बहूमुखि क्याम्पस टप गर्न सफल भए ।
आफ्नो पढाईको विषय अन्तरगत धादिङबेसी स्थित एक नीजि विद्यालयमा जागीर खाई रहेका देवकोटा धादिङपोष्टका लागि आफ्नो विगत यसरी पोख्नु हुन्छ ।

स्मरण १० वर्षे राजनैतिक यात्राको(गलत गरियो या सही ?)

भाद्र महिना हो २०६३ साल । भर्खरै १५ पुरा भएर १६ मा टेकेको थिएँ । कक्षा ९ को प्रथम त्रैमासिक परीक्षा सकिएर कक्षा सञ्चालन भैसकेको थियो । साथीहरुको लहै-लहैमा विद्यालयबाट फर्केर घरमा किताब कापी बिसाएर ढाटेर तत्कालिन विद्रोही पार्टीको कार्यक्रम हेर्न गइयो ।
राजनीतिप्रति कुनै चासो नभएता पनि जीवन शर्मा र खुसीराम पाख्रिनका जनवादी गीतहरुले मनलाई लोभ्यायो र साथीहरुकै लहैलहैमा पूर्णकालिन बनियो र सांस्कृतिक फिल्डमा काम गर्न थालियो । युद्धबिराम भएता पनि गाउँघरतिर प्रभाव कायम नै थियो । घरमा सबैकुरा थाहा भैसकेपछि रुवाबासि चलेछ । आमा कति छाक भोकै बस्नुभएछ । कति रात अनिदै बिताउनु भएछ । अभियानकै शिलशिलामा दिदीको घरगाउँमा पुग्दा दिदीको रुवाबासीले अहिले पनि मन चसक्क बनाउँछ ।

दसैँ तिहार हुदै १० महिनासम्म घर नजादा र घरमा कुनै सम्र्पक नहँुदा यहाँ छ रे भन्ने सामान्य जानकारीका आधारमा २ दिनको पैदल यात्रा गर्दै ६५ बर्षे बुढो बुबा खोज्दै आउनुभएको र घर फर्किने उहाँको आग्रहलाई अस्वीकार गर्दा देखिएको उहाको आँखाको आशुले कता कता अझै बिझाउँछ । अभियानकै क्रममा रसुवा, नुवाकोट, गोरखा, चितवन र धादिङ्गका अधिकाशं भुभागमा प्रत्यक्ष रुपमा जनतासँग भलाकुसारी गर्ने अबसर पाइयो ।

पार्टी संविधान सभाको चुनावमा होमियो । लाखौ जनताको माया हजारौ पूर्णकालिन कार्यकर्ताको साथ, जनमुक्ति सेनाको ठुलो सहयोग र जनकलाकारको जनवादी गीत सङ्गीतका कारण ठुलै विजय हासिल भयो ।

पार्टी सरकारमा गयो बिस्तारै सत्ताको उन्माद भरिदै गयो सरकारमा रहेकाहरुमा । हजारौँ पूर्णकालिन कार्यकर्ताको विचल्ली हुदै गयो । अहिले न उनीहरुको गासको टुङ्गो छ न बासको । अहिे पनि पार्टी सरकारमा छ । कार्यकर्ताको व्यवस्थापन गर्न चाह्यो भने असम्भव छैन । हिजो बुर्जुवा शिक्षाको विरोध गर्दै हिड्ने म मा अब नपढी भबिस्य छैन भन्ने छाप परेपछि धेरै साथीहरुको बिरोधका बाबजुद पनि आफ्नो इच्छाशक्तिका कारण पढाइलाई निरन्तरता दिदै अहिले स्नातकोत्तर दोस्रो बर्षमा अध्ययनरत छ ।

मलाई एस.एल.सि. र कक्षा ११ पढ्ने क्रममा आर्थिक र भौतिक रुपमा निकै ठुलो सहयोग गर्ने तत्कालिन माओवादी धादिङका सेक्रेटरीहरु ज्ञानु बस्नेत (आकाक्षां) र राजु नेपाल(विकास) लाई नसम्झिरहन सक्तिन । यस क्रममा धेरै साथीहरुको बिचल्ली भएको देखेको छु । कोही अरबको खाडीमा भौतारिदै छन् त कोही ज्याला मजदुरी गरेर गुजारा चलाउदै छन् । आफै पनि बैशाख जेठको मध्य घाममा महिनाको रु १५०० मा पत्रिका बाढ्दै हिडेको तितो अनुभव छ ।

यो १० वर्षको अबधिमा आफूभन्दा पछाडि जोडिएका र सगँै सहकार्य गरेका केही साथीहरु आलिसान महलका मालिक भैसकेका छन् । चिल्ला पजेरो चढेर हिड्छन् । महिना महिनामा मोटरसाइकल फेरेर हिडछन् । ठुलाठुला पोष्टमा पुगेका छन् । जसले नेतृत्वको चाकडी चाप्लुसी गरे । कहिलेकाही त लाग्छ गलत नै पो गरिएछ कि ?

पार्टी बिग्रिएको छ, राम्रा भन्ने नीति भन्दा हाम्रा भन्ने नीति लागु हुदैछ । आफ्ना नजिकका र पैसा वालहरुको हालिमुहाली छ पार्टी, अब पनि पार्टी सुद्धिकरण भएन र नेतृत्वले जिउ ज्यानको माया नगरी युद्ध र आन्दोलनमा होमिएका हिजोका कार्यकर्तालाई बिर्सिएर सहिद बेपत्ताहरुलाई भुलेर अहिलेका सुकिला मुकिला र पैसावालहरुलाई असली कार्यकर्ता मानि विश्वास गर्दै गएमा सहिद, बेपत्ता र पुराना कार्यकर्ता जसको अहिले गास बास कपासको कुनै टुङ्गो छैन तिनीहरुको रगत र पसिनाले पोल्ने छ र कालान्तरमा नेपालमा पनि माओवादी नाम गरेको पार्टी थियो रे भन्ने नहोला भन्न सकिन्न ।

म त एउटा प्रतिनीधि पात्र हुँ । म आफ्नो खुट्टामा उभिएर खान सक्ने भैसकेको छु । तर आफ्नै आखाँले देखेको छु हिजो युद्धमा लागेकै कारण परिवार र समाजबाट एक्लिएर बेहाल जिन्दगी बिताइरहेका हजारौ योद्धाहरु । आफ्नो पढ्ने र सिप सिक्ने उमेर पूर्ण रुपमा पार्टीमा बिताएका र अहिले वार न पार भएर बिजोग अवस्थामा रहेका छन् ।

हामीले उठाएका शैक्षिक सवालका मुद्धाहरु, विस्तारै पुरा हुँदै जाललान् मैले आफ्नो जीवनमा केहि आशाका किरणहरु पैदा गरेको छु तर हिजो स्कुलका शैक्षिक प्रमाण पत्रहरु जलाएर वुर्जुवा शिक्षा अन्य गर्न भन्दै जनयुद्धका लागेकाहरु को आवाज कता विलय भयो, हिजो पोखिएका भट्टीका तरलपदार्थमा आज चोक चोकमा तिनै कार्यकर्ता रमाई रहेका हुन्छन्, हिजो न्याय र समानताको लागि गरिएका निर्णय र जनकम्यूनको अभ्यास खै, कम्यूनिष्ट नामले मात्र होईन व्यवहार हुनुपर्छ ।

मेरो निष्कर्ष आत्म सम्मानका लागि मैले केहि गर्नै पर्छ भनेर पूर्णकालिनबाट बाहिरिए र शिक्षण पेशामा लागे मलाई हिजो जनयुद्धका हिड्दा जति आनन्द आउँथ्यो शान्तिप्रक्रिया देखि अहिले सम्म आईपुग्दा शिक्षण पेशामा त्यतिकै आनन्द आउँछ । शिक्षणको अलवा पत्रकारीतालाई रुचिको क्षेत्र मान्दै धादिङपोष्ट अनलाईनमा शैक्षिक विट हेर्दै आएको छु ।