काठमाडौं, पुस २ । प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ २३ गते संसदमा सार्वजनिक महत्त्वका विषयमा सम्बोधन गर्दै स्वास्थ्योपचारका लागि महत्त्वपूर्ण कुरा उठाए । उनको सम्बोधनको बुँदा नम्बर १९ मा अस्पतालहरूमा साँझसम्म बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्ने प्रतिबद्धता थियो । १० देखि २ बजेसम्म सञ्चालन हुँदै आएको सेवा ५ बजेसम्म सञ्चालन हुने उल्लेख थियो ।
त्यसैलाई आधार मानेर स्वास्थ्य मन्त्रालयले असोज ९ गते सबै अस्पताल र विभागलाई सोहीअनुरूप सञ्चालन गर्न परिपत्र गर्यो । कार्यान्वयन भने भएको छैन । कतिपय अस्पतालहरूले जनशक्ति अभावलगायत कारणहरू देखाएर सेवा दिइरहेका छैनन् भने कतिपयले यसबारे कुनै निर्देशन नआएको बताएका छन् । कतिपय अस्पतालमा भने यही समयावधिलाई बहाना बनाएर उल्टै महँगो ‘पेइङ’ उपचार सेवा थालेका छन् ।
अस्पतालहरूले ‘जनशक्ति अभाव’ लाई कारण देखाउँदै आएका छन् । ‘१० देखि ५ ओपीडी चलाउन सक्ने अवस्था छैन,’ कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलले भने, ‘ल्याब, एक्सरे, काउन्टरलगायत फाँटमा कर्मचारी अभाव छ । नियमअनुसार ८ घण्टा काम गरेकालाई १२ घण्टा लगाउनुपरेपछि अतिरिक्त भत्ता दिन अस्पतालसँग स्रोत छैन ।’ अहिले १० देखि ५ बजेसम्म चलाउने कुनै तयारी नभएको उनले बताए ।
जनकपुर अञ्चल अस्पतालका चिकित्सकको उस्तै जवाफ छ, ‘तयारीबिना ल्याइएको नीति कार्यान्वयन गर्न सकिन्न ।’ अस्पतालका मेडिकल अधिकृत एवं नेपाल चिकित्सक संघ जनकपुरका कामु अध्यक्ष डा.अनिलकुमार ठाकुर यथास्थितिमा नयाँ तालिकाअनुसार सेवा सञ्चालन गर्न नसकिने बताउँछन् । ‘एक त दरबन्दीभन्दा झण्डै आधा चिकित्सक र स्वास्थ्यकर्मी मात्रै छन्,’ उनले भने, ‘अतिरिक्त समय काम गरेको बेग्लै सुविधा दिने प्रावधान छैन । यस्तो अवस्थामा निर्देशन कार्यान्वयन गर्न सकिन्न ।’
दुई सय शय्या क्षमता भएको जनकपुर अञ्चल अस्पताल यस भेगकै ‘रेफरल’ अस्पताल हो । यसमा नेपाल सरकारतर्फ १ सय ३८ चिकित्सक, स्वास्थ्यकर्मीलगायत कर्मचारीको दरबन्दी भए पनि हाल ६४ जनामात्र कार्यरत छन् । अस्पताल विकास समितिको १ सय ५२ दरबन्दीमा १ सय २५ पदमात्र छन् ।
निर्देशनै आएन
भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा पनि यो सेवा सुरु भएको छैन । मेची अञ्चलका चारवटै जिल्लालाई लक्षित गरी सञ्चालन गरिएको यो अस्पतालमा झापाकै सेवाग्राही हत्तपत्त पुग्दैनन् । पुगेकाले पनि भनेजस्तो उपचार पाइरहेका छैनन् । अहिले जम्माजम्मी १ घण्टा जति ओपीडी सञ्चालन हुन्छ । शुक्रबार ११ बजे सुरु भएर १२ बजे बन्द भयो । ‘अञ्चल अस्पतालप्रति बिरामीको विश्वास नै देखिन्न,’ भद्रपुरका एक स्थानीय भन्छन्, ‘त्यही भएर उपचारका लागि हत्तपत्त बिरामी पुग्दैनन् ।’
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले १०–५ बजेसम्म ओपीडी सेवा सञ्चालनका लागि मन्त्रालयबाट कुनै निर्देशन नआइसकेको दाबी गरे । ‘पत्रपत्रिकामा सुनेका हौं,’ उनले भने, ‘आधिकारिक निर्देशन कतैबाट आएको छैन ।’
उता राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल र जिल्लास्थित स्वास्थ्य संस्थामा पनि लागू हुन सकेको छैन । सदरमुकाम राजविराजस्थित अञ्चल अस्पताल र जिल्लामा रहेका ४ वटा प्राथमिक स्वास्थ्य केन्द्र र १ सय ११ स्वास्थ्य चौकीमा यो प्रावधान लागू हुन सकेको छैन ।
‘दरबन्दीअनुसार डाक्टर छैन, १० देखि २ बजेसम्मै चलाउन गाह्रो छ,’ अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिलीपकुमार साहले भने, ‘थोरै डाक्टरले राउन्ड चलाउनु कि, बहिरंग चलाउनु कि के गर्नु ?’ जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख छेदी यादवले पनि स्वास्थ्य संस्थाहरूमा बहिरंग सेवा २ बजेसम्म मात्र सञ्चालन भइरहेको बताए ।
उल्टै महँगो ‘पेइङ’
चितवनका सरकारी अस्पतालमा २ बजेपछि सेवा बन्द हुन्छ । भरतपुर अस्पतालमा कर्मचारी अभाव देखाउँदै २ बजेपछि नियमित जाँच बन्द हुने गरेको छ । अस्पतालले १२ बजेसम्म टिकट दिने गरेको छ । टिकट लिएकालाई चिकित्सकले २ बजेसम्म मात्र जाँच गर्छन् । ‘यथास्थितिमा ५ बजेसम्म ओपीडी सञ्चालन गर्न सकिँदैन,’ अस्पताल प्रमुख डा. रुद्र मरासिनीले भने, ‘कर्मचारी अभाव छ, त्यसपछि अस्पतालमा अन्य सेवा सुचारु गर्नुपर्ने हुनाले ओपीडी मात्र सञ्चालन गर्न सकिँदैन ।’
भरतपुर अस्पतालले ओपीडी बन्द गरेर २ बजेपछि ‘पेइङ’ सेवा सुरु गरेको जनाएको छ । यो सेवाका लागि बिरामीले २ सय ५० रुपैयाँ तिर्नुपर्छ । ओपीडीका लागि ३० रुपैयाँ मात्र लाग्छ । अस्पतालमा दैनिक ५ सय हाराहारी बिरामी जँचाउन आउँछन् । ६ सय कर्मचारी रहेको अस्पतालमा १ सय ५० सरकारी र बाँकी अस्पताल व्यवस्थापन समितिले नियुक्त गरेका छन् । ‘यति म्यानपावरले ५ बजेसम्म ओपीडी सम्भव छैन,’ प्रमुख मरासिनीले भने, ‘स्वास्थ्य मन्त्रालयले तोकेको समयसम्म सञ्चालन गर्दा कर्मचारीलाई ड्युटी मिलाउन गाह्रो हुन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।