कालिकोट पौष २ । नेपाली युवाहरूको स्वयंसेवी अभियान “बेटर नेपाल” ले कालिकोटको कुपोषण् ग्रस्त रकु गाविसमा स्वास्थ शिविर र जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ ।
पछिल्लो समय छापामा यस भेगमा कुपोषण ग्रस्त बालबालिकाहरूको वीभत्स तस्वीर र अवस्था सार्वजनिक भएपछि यस समस्यालाई प्राथमिकतामा राखेको यस अभियानले औषधी, खाद्यान्न र लुगा कपडा सहित उक्त दुर्गम भेगमा स्वास्थ शिविर गरेको हो ।
काठमाडौँ र नेपालगञ्जबाट अभियानका सह–संयोजक रबिन खतिवडाको नेतृत्वमा राहत सामग्री लिएर कालिकोट पुगेको उक्त समूहमा चिकित्सा शास्त्रका विद्यार्थी तथा अभियन्ता सन्तोष सिँह थापा, र अभियन्ताहरू कुबेर सोडारी र अनिल खतिवडा सामेल थिए ।
स्थानीय स्वास्थ्यचौकीका अहेबको रोहबरमा सम्पन्न उक्त शिविरमा २५० जनागाउँलेहरूको स्वास्थ परीक्षण गर्नुका साथै करीब ४० परिवारलाई खाद्यान्न र लुगाफाटा वितरण गरेको थापाले बताएका छन् ।
उनका अनुसार यस ठाउँमा कुपोषण एक भयावह समस्याका रूपमा रहेको छ, र यसका साथैदम, पायल्स, छाला रोग, महिलाहरूको तल्लो पेट दुख्ने आदि समस्या गम्भीर रहेको छ । जनचेतनाको कमीहुनु, छोराको आसमा छोरी जन्माइरहनु, अत्यधिक धुम्रपान गर्नु आदि समस्याको जड भएको पनि थापाले बताए ।
शिविर सम्पन्न गरेर काठमाडौँ फर्कने क्रमका समूहले सुर्खेतको वीरेन्द्रनगरमा, तथा दाङ्को तुलसीपुरमा पनि जनचेतना मूलक शिविर र युवाहरूका बीच परामर्शका कार्यक्रम सम्पन्न गरेको सह संयोजक खतिवडाले बताएका छन् । फोटोः कुबेर सोडारी