राजनीतिमा वैकल्पिक शक्तिको खोजी बहस भैरहने विषय हो । तर वैकल्पिक शाक्तिको खोजी कसले गर्दछ ? यस्तो शक्तिको खोजी सधैँ भैरहन्छ कि समयसन्दर्भमा मात्र हुने हो ? के वैकल्पिक शक्ति खोजेर पाइने हो ? यसको कुनै ठोस र सैद्धान्तिक उत्तर छैन । तर पनि नेपालको राजनीतिमा वैकल्पिक शक्तिको बहस चलिरहेको छ । नेपाल जस्तो अस्थिर राजनीति भएको मुलुकमा भविष्यमा पनि चलिरहने छ ।
प्रजातान्त्रिक व्यवस्थामा राजनीतिक शक्ति भनेको राजनीतिक दलहरु हुन् । तर यी वास्तविकि शक्ति भने होइनन् । राजनीतिमा वास्तविक शक्ति चाहिँ जनता नै हुन् । वास्तविक शक्ति अर्थात् जनताको शक्तिको विकल्प हुँदैन । जनताको शक्तिको विकल्प त जनताको शक्ति नै हो । प्रजातन्त्रमा जनताको शक्ति अजेय, अपरिवर्तनीय र चिरस्थायी शक्ति हो ।
राजनीतिमा परिवर्तन गर्न सकिने शक्ति भनेको जनताले छान्ने प्रतिनिधिहरुको शक्ति हो । जनताको प्रतिनिधिको रुपमा दल र दलका नेता जनताले परिवर्तन गर्न सक्तछन् । जनता परिर्वनका स्रोत हुन् । जनताको लागि परिवर्तनको ढोका सधैँ खुला हुन्छ । त्यो ढोका भनेको चुनाव हो । चुनावको माध्यमद्वारा जनताले पार्टी परिवर्तन गर्न सक्तछन् । नेता परिवर्तन गर्न सक्तछन् । आज एकलाई दिएको मत भोलि अरुलाई दिन सक्तछन् । यसरी जनता सधैँ उत्तम विकल्पको खोजीमा हुन्छन् ।
प्रजातन्त्रमा वैकल्पिक शक्ति किन ? जब विद्यमान शक्तिप्रति जनताको विश्वास रहन्न तब विकल्पको खोजी हुन्छ । तर यस्तो विकल्पको खोजी नेपाल जस्तो विकाशोन्मुख र कलिलो प्रजातन्त्र भएको मुलुकमा बढी हुन्छ । प्रजातन्त्रको जरा गाडेको मुलुमा पनि विकल्प त खोजिन्छ । तर विकाशोन्मुख र कमजोर प्रजातन्त्र भएको मुलुकमा जस्तो नयाँ विकल्प खोजिन्न । भएकै मध्येबाट उत्तम विकल्पको चयन गरिन्छ ।
जस्तो अमेरिकामा विकल्प भनेको रिपब्लिकनको विकल्प डेमोक्र्याट र डेमोक्र्याटको विकल्प रिपब्लिकन हो । बेलायतमा लेबर र कन्जरभेटि पार्टी एक अर्काका विकल्प हुन् । यी दलहरु त्यहाँ जरा गाडेरै बसेका छन् । जनताबाट त्यहाँ तेस्रो वैकल्पिक शक्तिकोे खोजी गरिन्न । दुई बाहेक कुनै अर्को पार्टीले आफूलाई तेस्रो विकल्पको रुपमा दाबी गरे पनि जनताले तिनीहरुलाई पत्याउँँदैनन् । बेलायत र अमेरिमा दुई दल बीच आलोपालो प्रणाली जस्तो देखिन्छ । त्यहाँ उनीहरुको विकल्प उनीहरु नै हुन् । ती वर्तमान सन्दर्भमा निर्विकल्प देखिन्छन् । जबसम्म जनताको विश्वास गुमाउँदैनन् ।
नेपाल र अन्य विकाशोन्मुख मुलुकमा भने अमेरिका र बेलायतमा जस्तो निर्विकल्प स्थायी शक्ति छैनन् । न यहाँ आलोपालो छ, न कुनै विश्वास गर्न योग्य वैकल्पिक शक्तिको उदय नै हुन सकेको छ । नयाँ विकल्प नपाए यथास्थितिमा सम्झौता गर्नु जनताको बाध्यता हुन्छ । नेपाली जनता यतिबेला विकल्पको खोजीमा छन् तर विकल्प नहुँदा यथास्थितिसँग सम्झौता गरिरहेका छन् ।
नेपालको राजनीतिमा वैकल्पिक शक्तिको दाबी भने नभएको होइन । २००७ सालमा नेपाली कांग्रेसले आफूलाई वैकल्पिक शक्तिको रुपमा उभ्यायो । तत्कालीन परिस्थितिमा त्यो वैकल्पिक भए पनि नेपाली कांग्रेस लामो समय निर्विकल्प भने हुन सकेन । झण्डै ७ दशकको इतिहास पार गर्दा नेपाली कांग्रेसले जनताको जुन विश्वास जित्नुपथ्र्यो त्यो विश्वास जित्न सकेन । नेकासँगै जन्मेका प्रजापरिषद्लगायतका केही दलहरु पनि इतिहासको गर्तमै बिलाए । पछिल्लो समय नेकाको वैकल्पिक शक्तिको रुपमा एमाले देखिएको भए पनि त्यो पनि नेकाको वैकल्पिक हुनै सकेन । परिणाम माओवादीको जन्म भयो । माओवादीले आफूलाई कांग्रेस एमाले जस्ता पुरातन शैलीका पार्टीको वैकल्पिक भएको दाबी त ग¥यो तर त्यसलाई जनताले पत्याएनन् । छोटो समयमै उसको हैसियत तासको घर झैँ ढलेर छताछुल्ल भयो ।
राणा शासन उखल्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भनी आफूलाई प्रजातन्त्रको पहरेदार ठान्ने नेपाली कांग्रेसदेखि पछिल्लो समय आफूलाई वैकल्पिक शक्ति दाबी गरिरहेको नयाँशक्ति सम्मका बग्रेल्ती पार्टी नेपालको राजनीतिक इतिहासमा देखिए । कम्युनिष्ट पार्टीका गन्न र सम्झनै नसकिने दर्जनौँ घटकदेखि समानुपातिक निर्वाचन प्रणालीको तर मार्ने एक मात्र उद्देश्य बोकेर पनि सयौँको संख्यामा पार्टी दर्ता भए । तर तीमध्ये अधिकांश केही हजारको संख्यामा भोट बटुलेर १÷२ समानुपातिक सभासदको सिट प्राप्त गर्ने काममा सफलता हात पार्नु बाहेक जनताले तिनको नाम समेत जानेनन् । प्रत्येक पार्टीले आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने तर जनताले कसैलाई पनि नपत्याउने किन होला ? कमजोरी के हो ?
पहिलो कुरा त कलिलो प्रजातन्त्र । कलिलो प्रजातन्त्रमा यस्तो अस्थिरता हुन्छ । जहाँ अस्थिरता हुन्छ त्यहाँ पद्धतिले व्यक्तिलाई हिँडाउँदैन । बरु व्यक्ति पद्धतिमाथि हाबी हुन्छ । व्यक्ति पद्धतिमाथि हाबी भै प्रजातान्त्रिक पद्धतिलाई नै दलहरुले थिचोमिचो गर्न पुग्दा उनीहरु जनताको नजरबाट गिर्दछन् । दोस्रो कुरा गरिब मुलुक । जहाँ गरिबी हुन्छ त्यहाँ राजनीतिमाथि पनि गरिबीले रजाइँ गर्छ । आर्थिक गरिबी विस्तार भएर विचारको गरिबीसम्म पुग्छ । अनि विचारमा धमिरा लाग्छ । विचारमा धमिरा लागेपछि उदारताले तिलाञ्जली पाउँछ । त्यसको मारमा प्रजातन्त्र नि पर्छ र दलहरुप्रति पनि जनताको आक्रोश उत्पन्न हुन्छ । तेस्रो कुरा आत्मकेन्द्रित दल । आफ्नो मात्र स्वार्थ हेर्ने जनताको कुरा नगर्ने हुँदा कुनै पनि दल जनताको नजरमा पर्न सक्दैनन् । क्षणिक रुपमा जनतालाई दलहरुले झुक्याए पनि कालान्तरमा ती जनताको नजरबाट टाढिन्छन् ।
अब रह्यो वैकल्पिक शक्तिको आवश्यकताको कुरा । के वैकल्पिक शक्ति आवश्यक छ ? यो प्रश्न टड्कारो छ । विद्यमान शक्तिले केही गर्न नसक्ने र देशलाई प्रयोगशाला मात्र बनाउने हो भने त्यहाँ वैकल्पिक शक्तिको ढोका सधैँ खुला रहन्छ । नेपालको राजनीतिमा यतिबेला वैकल्पिक शक्तिको लागि ढोका खुला छ । तर ढोका खुला छ भन्दैमा त्यो ढोकाबाट दुरदृष्टिविहिन व्यक्तिहरु पसेर आफूलाई वैकल्पिक शक्ति दाबी गर्दैमा चाहिँ वैकल्पिक शक्ति हुँदैन ।
वैकल्पिकको आवश्यकताको ढोकामा पसेर आफूलाई वैकल्पिक शक्ति दाबी गर्न जति सजिलो छ, व्यवहारमा अरुभन्दा फरक देखाएर आफूलाई वैकल्पिक प्रमाणित गर्न चाहिँ त्यत्ति नै गाह्रो छ । आफूलाई वैकल्पिक शक्ति भनेर कुरामा त धेरैले प्रमाणित गरिसके तर व्यवहारमा प्रमाणित हुन सकेको छैन । नेताहरुमा इमान्दारिता, नैतिकता, दुरदर्शीता विना जनताले खोजे जस्तो वैकल्पिक शक्ति निर्माण गर्न सकिँदैन । केही भाषण गर्न जान्ने व्यक्तिहरुको झुण्ड नै वैकल्पिक शक्ति हो भन्ने भ्रम अब कसैले नपाले हुन्छ ।
नेपालमा आफूलाई वैकल्पिक प्रमाणित गर्नमा भन्दा पनि वैकल्पिक देखाउने र भनाउने प्रतिस्पर्धा चलिरहेको छ । हिजोका भुरे टाकुरे कम्युनिष्ट घटकदेखि पछिल्लो समय उम्रिएका नयाँशक्ति भन्ने विशेषण जोडिएका आधा दर्जनभन्दा बढी समूहहरु सबैको हालत उस्तै छ । काममा भन्दा नाममा देखिएको प्रतिस्पर्धाले गर्दा यस्तो वैकल्पिक दाबी गर्नेहरु सबै जनताको नजरमा हाँसो मजाखका पात्र बन्न थालेका छन् ।
काम गरे स्वतः नाम पाइन्छ भन्ने सामान्य सिद्धान्त पनि नबुझी आफ्नो डम्फू आफैँ बजाउने र अरुले तपाईँ भनोस् नभनोस् आफैँ मपाईँ गर्ने क्रियाकलाप आफूलाई वैकल्पिक दाबी गर्नेहरुले गरिरहेका छन् । तर तिनीहरुमा विगतको भन्दा फरकपन केहीमा पनि देखिएन । फरकपन छ भने मात्र केही छुद्रताका शब्दहरुमा बढोत्तरी भएको छ । आफ्नो सबलतामा विश्वास गर्नेभन्दा पनि अरुको दुर्वलतामाथि रजाईँ गरेर आफ्नो विजय देख्ने भ्रमको मैदानमा सबै शक्तिहरु खेल खेलिरहेका छन् । त्यो खेलमा कुनै पनि वैकल्पिक भन्न लायक देखिएका छैनन् । त्यसैले नेपालमा अहिले विकल्पको ढोका खुला छ, तर जनताले विश्वास गर्न सक्ने वैकल्पिक शक्ति हुने लक्षण अहिलेसम्म कसैमा पनि देखिएन ।