नेपालले उपाधिको लागि आज मकाउसँग भिडदै

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक ३०, २०७३

धादिङ कात्तिक ३०-

नेपाल एएफसी सोलिडारिटी कपअन्तर्गत मंगलबार साँझ सवा ५ बजे फाइनलमा करिब २० वर्षदेखिको प्रतिद्वन्द्वी मकाउविरूद्ध भिड्दैछ । नेपाल र मकाउले यसअघि पाँच वटा खेल खेलिसकेका छन्। जसमा नेपाल नै बलियो देखिन्छ । मकाउविरूद्ध नेपालले ३ मा विजय, १ बराबरी र १ पराजय भोगेको छ । यस अवधिमा नेपालले १५ गोल गरेको छ भने ७ गोल मात्र खाएको छ ।

सेमिफाइनलमा प्रतियोगिताकै बलियो बरियताको टिम लाओसलाई टाइब्रेकरमा ३–० ले हराएपछि यतिबेला नेपाली टिमको मनोबल उच्च छ । नेपालले यस वर्ष खेलेको तीनवटै महत्वपूर्ण प्रतियोगिताको फाइनल पुगेर नयाँ उपलब्धि चुमिसकेको छ। वर्षको सुरुवातमा बंगलादेशमा आयोजना भएको बंगबन्धु कप र १२ औं दक्षिण एसियाली खेलकुदको उपाधिपछि नेपाल लगातार तेस्रो प्रतियोगिताको फाइनल पुगेको हो। मकाउ पनि पहिलोपल्ट एएफसीको आधिकारिक प्रतियोगिताको फाइनलमा पहिलोपल्ट प्रवेश गरेको हो।

नेपाली टिमबाट मंगलबार उपाधिको धेरै आशा गरिएको छ । अहिले नेपालका तीन जनै स्ट्राइकर भरत खवास, नवयुग श्रेष्ठ र विमल घर्तीमगर लयमा देखिन्छन् ।

मिडफिल्डमा हेमन गुरुङ र अन्जन बिष्ट जम्नु पनि नेपालको लागि सकारात्मक सन्देश हो। लाओसलाई पराजित गरेको खेलमा दुबैले आफ्नो भूमिकालाई स्थापित गरेका थिए।

नेपाली टिममा लाओसविरूद्धको सेमिफाइनलबाहेक अन्य खेलमा डिफेन्स र गोलरक्षकले विपक्षीहरूलाई गोल गर्ने अवसर दिएका छैनन्। त्यसैले कोजीले फाइनल जित्न त्यति सहज नभए पनि सम्भावना बलियो रहेको बताएका छन्। उनले मंगलबारको खेलमा जितको आधार नै डिफेन्डरले तयार पार्ने प्रतिक्रिया दिएका छन्।