हरिहरसिंह राठौर
धादिङ कात्तिक २३-
मासुका लागि भए पनि सामूहिक रुपमा ढुवानी गर्नुपर्ने पशुवस्तुको सडक ढुवानी मापदण्ड कागजमै सिमित भएको छ । देशका विभिन्न भागहरुमा लाग्ने साप्ताहिक हाट बजारहरुवाट ट्रकमा खाँदेर २ देखि ३ दिन समय लगाई राजधानीसम्म ढुवानी हुने राँगाभैंसी मापदण्ड र सडक ढुवानी मापदण्ड विपरित छन् ।
दैनिक ४० देखि ६० वटासम्म रातारात आउने राँगा–भैंसी, पाडा–पाडी बोकेका ट्रकहरुमा ३० वटा सम्म पशु कोचिएको हुन्छ । ‘सामान्यतया ठुलै ट्रकहरुमा पनि २० वटाभन्दा बढी पशु राख्न पाईंदैन,’ स्थानीय प्रशाासन समेतलाई लिएर पृथ्वीराजमार्गमा पशु ढुवानी अनुगमन गर्न गएका जिल्ला पशु सेवा कार्यालयका प्रमुख देवेन्द्र भगतले भने ।
हरेक हप्ता तराईमा आयोजना हुने पशुमेला, हटिया, हाटबजारबाट खरिद गरिएका राँगा–भैंसी रातारात भोकभोकै राजधानीसम्म ढुवानी गरिन्छ । ‘सबैभन्दा बढी मंगलबारदेखि बिहीबार बिहानसम्म दैनिक २० देखि ४० वटासम्म सामान्य अवस्थामा र दशैं अवधीमा ४० देखि ८० सम्म राँगा–भैंसी र पाडा–पाडी बोकेका ढुवानी साधनहरु राजधानी गएको देखेका छौं,’ जिल्ला ट्राफिक कार्यालय, गजुरीका प्रमुख मुरारी मिश्रले भने ।
यौटा ठुलो ट्रकमा २० वटा र साना ट्रकमा १२ देखि १५ सम्म मात्रै बोक्नुपर्नेमा व्यापारीहरुले ३० वटा सम्म राखेका हुन्छन् । अव्यवस्थित ढुवानीका कारण पशुको स्वास्थ्य, कार्य क्षमता, उत्पादन क्षमता र गुणस्तरीयतामा समेत प्रतिकूल प्रभाव पर्ने र उपभोक्तालाई गुणस्तरीय पशुजन्य पदार्थ उपलव्ध गराउनका लागि ढुवानी व्यवस्थित गर्न नेपाल सरकारले नियमावली बनाएकै १७ वर्ष पुगेको छ ।
पशु स्वास्थ्य तथा पशु सेवा नियमावली–२०५६ (दोश्रो संशोधन, २०६४) नेपाल सरकार, कृषि तथा सहकारी मन्त्रालय, पशु सेवा विभागले पशुहरुको सडक तथा पैदल ढुवानी मापदण्ड लागु गरी संशोधन गरेको समेत ९ वर्ष भैसकेको छ ।
सडकमार्गबाट पशु ढुवानीमा नियमावली लागु गर्न अन्य सरकोकारवालाहरु कसैलाई निर्देश गरिएको छैन । जिल्लास्थित पशु सेवा कार्यालयमा नियमावली छ तर पृथ्वीराजमार्गमा पशु ढुवानी अनुगमन गत असोजमा दसैंताका पहिलोपटक भएको हो । ‘यौटा ढुवानी साधनमा कति राँगा–भैंसी ढुवानी गर्न पाउने, मापदण्ड विपरित गरे के कति जरिवाना हुने ? कुन नियममा रहेर जरिवाना गर्ने ? हामीलाई केही जानकारी छैन,’ जिल्ला ट्राफिक प्रमुख मिश्रले भने ।
पशुहरुको सडक ढुवानीको तरिका तथा अपनाउनु पर्ने सावधानी नियमावलीमै स्पष्ट उल्लेख छ । पशुलाई पैदल, गाडा, गाडी, ट्रक, पिकअप, रेल, हवाईजहाज, पानी जहाजमा राखेर स्थलमार्ग, जलमार्ग वा हवाई मार्गबाट ढुवानी गर्न सकिने र ढुवानी गर्दा विभिन्न सावधानी अपनाउनुपर्ने उल्लेख छ ।
‘पशुलाइ ढुवानी गर्दा हलचल गर्न मिल्ने, घाउचोट नलाग्ने, अत्यधिक चिसो वा तातोबाट बचाई, एक आपसमा ठोक्किएर अगंभगं नहुने गरी सावधानी पूर्वक ढुवानी गर्नुपर्ने उल्लेख छ ।
चालकले सवारीको गति एकनासको हुने गरी पशुलाइ अप्ठ्यारो नपारीकन हाक्नुपर्ने, असावधानी भए ढुवानी गर्दा पशुलाई तनाव हुने, सास फेर्न गाह्रो हुने, हृदयाघात हुने, घाममा अत्यधिक जलन हुने, पेट ढाडीने, कब्जियत हुने, जुध्ने र अंगभंग हुने जस्ता अवस्था सृजना हुन गएमा पशु प्रति असावधानी व्यवहार भएको ठहर गरी सजाय हुने प्रावधान छ । ढुवानी हुने पशुहरुको नाक र पुच्छर पनि बाँध्न नहुने स्पष्ट उल्लेख छ ।
सडक ढुवानीमा देश भित्र आन्तरीक ओसार पसार हुने पशुको हकमा गोठालासंगै निर्दिष्ट ढाँचाको पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाणपत्र हुनुपर्ने भए पनि सबै पशुको प्रमाणपत्रमा एकमुष्ट रुपमा स्वस्थ्य भएको उल्लेख हुन्छ ।
पश्चिमबाट आउने पशुवस्तुलाई नवलपरासी र पूर्वबाट राजधानी आउने पशुलाई चितवनमा पशु क्वारेन्टाईन स्थापना गरिएको छ । मुलुकी ऐनमा स्त्रीजातीको पशुचौपाया मासु खाने प्रयोजनका लागी वध गर्न नहुने स्पष्ट उल्लेख भए पनि सबै भैंसीलाई थारो उल्लेख गरेर जाँचै नगरी स्वास्थ्य प्रमाणपत्र दिइने गरिएको छ ।
‘उक्त कार्य वापत हामी प्रति राँगा–भैंसी बराबर ३ सय देखि ५ सयसम्ममा कुरा मिलेको हुन्छ,’ ना४ख ६७५४ मा बाराबाट २९ वटा राँगा ल्याएका रहमान हलवाईले भने । रहमान लगायतका ६ वटा ढुवानी ट्रकहरुलाई क्षमताभन्दा बढी र मापदण्ड विपरित ढुवानी गरेकोमा जिल्ला पशु सेवा कार्यालयको सिफारिसमा ट्राफिक प्रहरीले १५ सय र गजुरी गाविसले पुच्छर र नाक बाँधेको आरोपमा ५ हजारका दरले जरिवाना गर्ने अभियान थालेका छन् ।
कान्तिपुरबाट साभार