धादिङ कात्तिक २०-
मलेसियामा जारी एएफसी सोलिडारिटी कपमा नेपालले आज टिमोर लिस्टेसँग खेल्दैछ । खेल मलेसियाको निगेरी रंगशालमा नेपाली समय अनुसार बेलुका सवा पाँच बजे सुरु हुने छ ।
नेपालका लागि आजको खेलमा राम्रो गोलअन्तरले टिमोरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने सुनौलो मौका छ। टिमोर आफ्नो पहिलो खेलमा ब्रुनाईसँग ४–० ले पराजित भइसकेको छ।
दुई दिनअघि कुचिङमा ब्रुनई र टिमोरबीच खेल हुँदा वर्षाले प्रभावित बन्न पुगेको थियो। अहिले नेपालको सबैभन्दा ठूलो चिन्ता भनेको शनिबारको खेल पानीले प्रभावित नहोस् भन्ने नै छ। शुक्रबार कुचिङमा ठूलो हावा हुन्डरीसहित पानी परेको थियो।
टिमोर र नेपालबीच यसअघि दुईपल्ट भिडन्त भएको छ। दुवैपल्ट नेपालको पोल्टामा जीत हात लागेको छ। सन् २०१४ को विश्वकप छनोटअन्तर्गत टिमोरविरूद्ध भएको खेलमा नेपालले पहिलो लेगको खेल २–१ र दोस्रो लेग ५–० गोलअन्तरले जितेको थियो।
नेपाली टिमका मुख्य प्रशिक्षक ग्योटुकु कोजीले टिमोर लिस्टेले पहिलो खेल गुमाएको भएपनि आफूहरुले उसलाई कमजोर रुपमा नलिएको बताएका छन् । ब्रुनाइसँगको खेलमा टिमोर लिस्टेले पानीले भिजेको मैदानमा खेलेकाले उनीहरुको वास्तविक खेल देख्न नपाएको प्रशिक्षक कोजीले बताए ।
टिमोर लिस्टेका मुख्य प्रशिक्षक फाबियो डा सिल्भाले पहिलो खेलमा मैदानका कारण राम्रो खेल्दा खेल्दै पनि नतिजा आफ्नो पक्षमा नआएका बताउँदै नेपालसँगको खेलमा सुधारिएको प्रदर्शन गर्ने बताएका छन् ।
आजको खेलमा टिमोरका स्टार स्ट्राइकर रुफिनो गामा अनुपस्थित रहने छन्। उनले ब्रुनाईविरूद्धको खेलमा रातो कार्डको सामना गर्नु परेको थियो।
सात देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल, टिमोर लिस्टे र ब्रुनाइ समूह एमा छन् । यस्तै समूह बीमा श्रीलंका, मकाउ, मंगोलिया र लाओस छन् । नेपालले समूह ‘ए’ मा दोस्रो खेल मंगलबार ब्रुनईविरूद्ध खेल्ने छ।