लोकमानको कार्यालयमा ताला, सचिवालय खारेज

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक ११, २०७३

lokmanकाठमाडौं कात्तिक ११ । गम्भीर अपराधको कसुरमा महाअभियोगको सामना गरिरहेका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सचिवालय बन्द गरेको छ ।

कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातको अध्यक्षतामा बसेको बैठकले निलम्बित प्रमुख आयुक्त कार्कीको कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

आयोग पदाधिकारी बैठकको निर्णयसँगै कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले बुधबार नै कार्कीको सचिवालयमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फिर्ता पठाई उनको सुरक्षा सचिवालय नै बन्द गरेका हुन् । सबै आयुक्तहरूले एकमतका साथ कार्कीको सुरक्षा सचिवालय र उनको कार्यालय बन्द गर्नुपर्ने मत राखेका थिए ।

सोही निर्णयअनुसार कार्यवाहक प्रमुख बस्न्यातले कार्कीले आफ्ना लागि बनाएका सुरक्षा सचिवालय खारेज गर्दै सचिवालयमा कार्यरत ११ जनामध्ये १० सुरक्षा अधिकारीलाई फिर्ता पठाइदिएका हुन् ।

सुरक्षा सचिवालयले कार्कीको आन्तरिक सुरक्षा प्रबन्ध मिलाउनुका साथै अख्तियारका सबैखाले फाइलको रेकर्ड राख्ने, कार्कीका तर्फबाट प्रस्टीकरण लेख्ने, उनका भाषणहरूको प्रारम्भिक मस्यौदा तयार पार्ने र कार्कीको ज्यादतीविरुद्ध आवाज उठाउनेको व्यक्तिगत फाइल बनाएर यातना दिनेसम्मको काम गर्दै आएको थियो । आजको राजधानी दैनिकमा खबर छ ।