भाद्र महिना हो २०६३ साल । भर्खरै १५ पुरा भएर १६ मा टेकेको थिएँ । कक्षा ९ को प्रथम त्रैमासिक परीक्षा सकिएर कक्षा सञ्चालन भैसकेको थियो । साथीहरुको लहैलहैमा विद्यालयबाट फर्केर घरमा किताब कापी बिसाएर ढाटेर तत्कालिन विद्रोही पार्टीको कार्यक्रम हेर्न गइयो । राजनीतिप्रति कुनै चासो नभएता पनि जीवन शर्मा र खुसीराम पाख्रिनका जनवादी गीतहरुले मनलाई लोभ्यायो र साथीहरुकै लहैलहैमा पूर्णकालिन WT बनियो र सांस्कृतिक फिल्डमा काम गर्न थालियो ।युद्धबिराम भएता पनि गाउँघरतिर प्रभाव कायम नै थियो । घरमा सबैकुरा थाहा भैसकेपछि रुवाबासि चलेछ । आमा कति छाक भोकै बस्नुभएछ । कति रात अनिदै बिताउनु भएछ ।
अभियानकै शिलशिलामा दिदीको घरगाउँमा पुग्दा दिदीको रुवाबासीले अहिले पनि मन चसक्क बनाउँछ । दसैँ तिहार हुदै १० महिनासम्म घर नजादा र घरमा कुनै सम्पर्क नहुदा यहा छ रे भन्ने सामान्य जानकारीका आधारमा २ दिनको पैदल यात्रा गर्दै ६५ बर्षे बुढो बुबा खोज्दै आउनुभएको र घर फर्किने उहाँको आग्रहलाई अस्वीकार गर्दा देखिएको उहाको आखाको आशुले कता कता अझै बिझाउँछ । अभियानकै क्रममा रसुवा, नुवाकोट, गोरखा, चितवन र धादिङ्गका अधिकाशं भुभागमा प्रत्यक्ष रुपमा जनतासँग भलाकुसारी गर्ने अबसर पाइयो ।
पार्टी संविधान सभाको चुनावमा होमियो । लाखौ जनताको माया हजारौ पूर्णकालिन कार्यकर्ताको साथ, जनमुक्ति सेनाको ठुलो सहयोग र जनकलाकारको जनवादी गीत सङ्गीतका कारण ठुलै विजय हासिल भयो । पार्टी सरकारमा गयो बिस्तारै सत्ताको उन्माद भरिदै गयो सरकारमा रहेकाहरुमा । हजारौँ पूर्णकालिन कार्यकर्ताको विचल्ली हुदै गयो । अहिले न उनीहरुको गासको टुङ्गो छ न बासको । अहिे पनि पार्टी सरकारमा छ । कार्यकर्ताको व्यवस्थापन गर्न चाह्यो भने असम्भव छैन ।
हिजो बुर्जुवा शिक्षाको विरोध गर्दै हिड्ने म मा अब नपढी भबिस्य छैन भन्ने छाप परेपछि धेरै साथीहरुको बिरोधका बाबजुद पनि आफ्नो इच्छाशक्तिका कारण पढाइलाई निरन्तरता दिदै अहिले स्नातकोत्तर दोस्रो बर्षमा अध्ययनरत छ । मलाई एस.एल.सि. र कक्षा ११ पढ्ने क्रममा आर्थिक रुपमा निकै ठुलो सहयोग गर्ने तत्कालिन माओवादी धादिङका सेक्रेटरीहरु ज्ञानु बस्नेत (आकाक्षां) र राजु नेपाल(विकास) लाई नसम्झिरहन सक्तिन ।
यस क्रममा धेरै साथीहरुको बिचल्ली भएको देखेको छु । कोही अरबको खाडीमा भौतारिदै छन् त कोही ज्याला मजदुरी गरेर गुजारा चलाउदै छन् । आफै पनि बैशाख जेठको मध्य घाममा महिनाको रु १५०० मा पत्रिका बाढ्दै हिडेको र सम्बन्धित संस्थाले पुरा पैसा नदिएको तितो अनुभव छ । हुन त पदको लोभ हिजो पनि थिएन आज पनि छैन र भोली पनि नहोला भन्ने विश्वास छ । हाल पार्टीको साधारण सदस्यसम्म पनि छैन । यो १० वर्षको अबधिमा आफूभन्दा पछाडि जोडिएका र सँगै सहकार्य गरेका केही साथीहरु आलिसान महलका मालिक भैसकेका छन् । चिल्ला पजेरो चढेर हिड्छन् । महिना महिनामा मोटरसाइकल फेरेर हिडछन् । ठुलाठुला पोष्टमा पुगेका छन् । जसले नेतृत्वको चाकडी चाप्लुसी गरे । कहिलेकाही त लाग्छ गलत नै पो गरिएछ कि ? तर आस्था र आदर्शलाई कहिल्यै मर्न दिने छैन ।
पार्टी बिग्रिएको छ । राम्रा भन्ने नीति भन्दा हाम्रा भन्ने नीति लागु हुदै छ । आफ्ना नजिकका र पैसावालहरुको हालिमुहाली छ पार्टिमा । अब पनि पार्टि सुद्धिकरण भएन र नेतृत्वले जिउ ज्यानको माया नगरी युद्ध र आन्दोलनमा होमिएका हिजोका कार्यकर्तालाई बिर्सिएर सहिद बेपत्ताहरुलाई भुलेर अहिलेका सुकिला मुकिला र पैसावालहरुलाई असली कार्यकर्ता मानि विश्वास गर्दै गएमा सहिद, बेपत्ता र पुराना कार्यकर्ता जसको अहिले गास बास कपासको कुनै टुङ्गो छैन तिनीहरुको रगत र पसिनाले पोल्ने छ र कालान्तरमा नेपालमा पनि माओवादी नाम गरेको पार्टी थियो रे भन्ने नहोला भन्न सकिन्न । बेलैमा सोच्न जरुरी छ ।
म त एउटा प्रतिनीधि पात्र हुँ । म आफ्नो खुट्टामा उभिएर खान सक्ने भैसकेको छु । तर आफ्नै आखाँले देखेको छु हिजो युद्धमा लागेकै कारण परिवार र समाजबाट एक्लिएर बेहाल जिन्दगी बिताइरहेका हजारौ योद्धाहरु । आफ्नो पढ्ने र सिप सिक्ने उमेर पूर्ण रुपमा पार्टीमा बिताएका र अहिले वार न पार भएर बिजोग अवस्थामा रहेका छन् ।
सञ्जय देवकोटा
रसुवा
हाल धादिङ