नेदरल्याण्डससामू नेपालको विजय हासिल

Avatar photo
Dhadingpost
सोमवार, साउन ३१, २०७३

धादिङ साउन ३१

download

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १९ रनले हराएको छ।
नेदरल्यान्डको आमस्ट्रडममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २१७ रनको योगफल तयार गरेको थियो।

२१८ रन विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याण्डले निर्धारित ५० ओभरको खेलमा १९८ रन मात्र बनाउन सक्यो।नेपालका लागि सोमपाल कामी, पारस खड्का, बसन्त रेग्मीले २(२ तथा शक्ति गौचन, सन्दिप लामिछाने र सागर पुनले १(१ विकेट लिए।

नेपालले प्रतियोगिताको सुरुवात भने राम्रो गर्न सकेन । नेपालले २२ रन जोड्दा पहिलो विकेटका रुपमा अनिल मण्डललाई गुमायो । मण्डल चार रन जोड्दै बाहिरिए । त्यस्तै नेपालका अर्का ब्याट्सम्यान शरद भेषवाकर पनि छ रन जोड्दै दोस्रो विकेटका रुपमा आउट भए ।

तेस्रो विकेटका रुपमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमायो । ५२ बल खेलेका मल्ल एक चौका र एक छक्काको मद्वतमा व्यक्तिगत ३९ रन जोड्दै बाहिरिए । त्यतिबेला नेपालले जम्मा ६५ रन जोडेको थियो । तर नेपाली टोलीका कप्तान पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले।

खेलको १४ दशमलव ४ ओभरमा भेषवाकरको ठाउँमा मैदान प्रवेश गरेका कप्तान खड्काले प्रतियोगितामा अर्धशतक बनाए । चौरानब्बे बल खेलेका उनले सात चौका र एक छक्काको मदतमा ८४ रन जोडेका हुन् । त्यस्तै कप्तान खड्काले सागर पुनसँग ११८ रनको साझेदारी गरे । अठहत्तर बल खेलेका पुनले दुई चौका प्रहार गर्दै ४५ रन जोडे ।

त्यसैगरी विनोद भण्डारीले १७, वसन्त रेग्मीले चार तथा सोमपाल कामीले दुई रन जोडे भने राजु रिजाल रन नजोडी आउट भए । शनिबार भएको पहिलो खेलमा भने नेपाल नेदरल्यान्डसँग सात विकेटको विशाल अन्तरले पराजित भएको थियो ।