हरिहरसिंह राठौर
धादिङ साउन २२
राष्ट्रिय वन अतिक्रमण गरेर धादिङस्थित पृथ्वी राजमार्ग छेउछाउमा स्थायी संरचना र घुम्तीपसल संचालन गरि वसेका घर टहराहरु शनिवारबाट हटाउन सुरु गरिएको छ । वैरेनी-८, भल्टारस्थित बालकुमारी सामुदायिक वन समितिले मासिक भाडामा लगाएका ३ वटा घरटहराहरु शनिवार जिल्ला बन कार्यालयले भत्काएको छ ।
भल्टारको हाईवे बन कटेज, भल्टार वन कटेज तथा कोल्ड स्टोर संचालन गरि बसेका ३ वटा स्थायी संरचना र चिरौंदीको निर्माणाधिन संरचना डोजर लगाएर भत्काईएको छ । यी पसलवाटै ग्राहक लाई गाँजा बेच्ने गरेको आरोपमा गत १९ गते स्थानीय २८ वर्षीय सुवर्ण खतिवडा लाई प्रहरीले वेच्न तयार राखेको ५८ वटा गाँजाको पोका सहित पक्राउ गरेको थियो ।
शनिवार अपरान्ह जिल्ला वन अधिकृत इमानाथ पौडेलको नेतृत्वमा सडक डिभिजन कार्यालय सहितको टोलीले राजमार्गको मापदण्ड मिचेका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका घर टहरा भत्काउनु सँगै लगत संकलन पनि सुरु गरेको छ ।
जिल्ला परिषद को निर्णय अनुसार शुक्रवार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीको अध्यक्षतामा वसेको जिल्ला वन समन्वय समितिको बैठकले पृथ्वी राजमार्ग छेउमा अतिक्रमण गरेर बसेका अवैध घरटहराहरु तत्काल भत्काउने निर्णय गरेको जिल्ला बन अधिकृत पौडेलले बताए ।
अनुगमन टोलीले अतिक्रमण गरि करोडौंको लगानीमा निर्माण गरेको वेनीघाटको सलाङ्गघाट स्थित कृपान्जली होटलका संचालक कृष्ण सिलवाल लाई पनि घर खाली गर्न ७ दिने म्याद दिएकोछ । बन अधिकृत पौडेलले भल्टारमा व्यापार गर्न टहरा निर्माण गरि वसेका व्यक्तिहरु संग लालपुर्जा माग गर्दा कसैले पनि देखाउन नसकेको बताए । टोलीले भल्टार वन कटेजका संचालक सरोज अधिकारी लाई पक्राउ समेत गरेको छ ।
राष्ट्रिय वन अतिक्रमण गर्ने लाई वन ऐन २०४९ को दफा ४९ वमोजिम कारवाहीको माग गरि मुद्दा दायर गरिने वन अधिकृत पौडेल वताउँछन् ।पृथ्वीराजमार्गको धादिङ खण्डमा पर्ने ८६ किमीमा पक्की संरचना निर्माण गरि सयौं होटलहरु संचालनमा छन् ।