कपाल फुल्नु एक प्राकृतिक प्रक्रिया हो । तर, उमेरभन्दा पहिल्यै कपाल फुल्नु भने समस्या हो । शरीरमा आवश्यक पोषक तत्त्वको कमी, महिलामा रक्तअल्पता, दीर्घरोग, कुनै एलोपेथिक औषधिको सेवनजस्ता कारण असमयमै कपाल फुल्छ । अनि, फुलेको कपाललाई आवश्यक पर्छ मेहन्दी । तर, मेहन्दी लगाउने तरिका नजान्दा कपाल झन् रुखो हुने र बढी फुल्ने समस्या निम्तिन सक्छ ।
१. चिसो मौसममा कपालमा मेहन्दी लगाउँदै हुनुहुन्छ भने मेहन्दीमा तेल, चियाको पानी या कफी मिसाएर लगाउनु राम्रो हुन्छ । केही ल्वाङ मिसाएर लगाउँदा पनि चिसोले समस्या गर्दैन ।
२. एउटा कपुर र एक चम्चा मेथी मिसाएर पेस्ट बनाएको मेहन्दी लगाउँदा कपाल असमयमै फुल्दैन । मेथीले कपाललाई रुखो हुन दिँदैन ।
३. कपाल नुहाएको केही समयपछि दुई चम्चा मेहन्दी पाउडरमा दुई चम्चा सुन्तालाको रस मिलाएको पेस्ट लगाउने । १० मिनेटपछि कपाल धुने । यसले कपाल स्वस्थ राख्छ ।
४. कपाल रंगाउन मेहन्दी प्रयोग गरिरहनुभएको छ भने दुई चम्चा चियाको पानी मिसाउनुहोस् । चियाले कपालको रंगमा निखार ल्याउँछ ।
५. लामो समय बिरामी भएपछिको अवस्थामा कपाल धेरै नै झर्न सक्छ । यस्तो वेला हल्का तातोपानीमा मेहन्दी घोलेर हरेक दुई–तीन दिनको अन्तरमा कपालको जरामा लगाउनुहोस् । कपाल झर्न कम हुन्छ ।
६. आजकल घरायसी मेहन्दीभन्दा बजारिया मेहन्दी नै बढी प्रयोग गरिएको पाइन्छ । बजारिया मेहन्दीमा केमिकलको मात्रा पनि मिलाइएको हुन्छ । मेहन्दीको गुणस्तर बुझेर मात्रै खरिद गर्नु राम्रो हुन्छ ।