धादिङ जेठ २५ – अमेरिकामा जारी कोपा अमेरिका फुटबलमा आज बिहान भएको खेलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । क्यालिफोर्नियामा भएको समूह डीको खेलमा अर्जेन्टिनाले गएको वर्षको विजेता चिलीलाई २–१ ले हरायो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा अर्जेन्टिनाको जितमा एन्जल डी मारिया र एभर बेनेगाले एक एक गोल गरे । ५१ औं मिनेटमा मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाए । त्यसको ८ मिनेट पछि नै बेनेगाले अग्रता दोब्बर पारे । चिलीका लागि इन्जुरी समयमा होसेफ पेड्रोले एक गोल फर्काए । बलमा नियन्त्रण चिलीले बढी लिएको भएपनि गोल गर्ने केही राम्रा अवसर गुमायो । कप्तान लियोनल मेस्सी बिना मैदान उत्रिएको अर्जेन्टिनाले गएको वर्षको फाइनलमा चिलीसँगको हारको बदला लियो । अर्जेन्टिनाले अहिलेसम्म १४ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।