तातोपानीले नुहाउँदै भर्याङभुरुङमा भब्य मेला लागेको छ

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ३, २०७३

धादिङ कटुञ्जे बैशाख ३ । धादिङको कटुञ्जे गाविस वडा नं १ स्थित भर्याङभुरुङमा आज भब्य मेला लागेको छ । श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा–आराधना गरी रामनवमी मनाईदै भर्याङभुरुङमा मेला लागेको हो ।
भर्याङभुरुङको खोलाको पानीले नुहाँउदा शरीरमा कुनै पनि रोगहरु नलाग्ने, आफुले चिताएको कुरा पुग्ने, मनमा शान्ती मिल्लने जनविश्वास रहेको छ । मेलामा धादिङ, गोरखा, नुवाकोट र छिमेकी जिल्लाका भक्तजनहरु लगायतको सहभागिता रहेको थियो । हरेक वर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने गरिन्छ ।
मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो पर्व मनाउने गरिन्छ । अर्को तर्फ आसुरी शक्तिको अन्त्यका लागि भगवान् विष्णुको अवतारका रुपमा अयोध्याका राजा दशरथको छोराका रुपमा रामचन्द्र जन्मेको दिन भन्दै रामनवमी मनाइने प्रचलन रहेको छ ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका बिभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन पनि रहि आएको छ ।