सम्झना अनेकोट हत्या काण्ड र अनेकोटका ७ तारा

Avatar photo
Dhadingpost
शनिबार, चैत्र ६, २०७२

खेम थपलिया
जनताका उच्च बलिदान, साहस, सौर्य र सपनाको भावधारामा लतपतिँदै नेपालमा कमरेड विप्लवले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी माओवादी यतिखेर भीषण वर्ग संघर्ष तयारीमा तीव्र रूपमा लागिरहेको छ । जनताको पूर्ण विजय हुने विश्वास र प्रतिबद्धताका साथ अघि बढेको नयाँ जनवादी क्रान्तिका लागि क्रान्तिकारीहरू आवश्यक परे जस्तोसुकै बलिदानको कोटा चुक्ता गर्न ठूलो पंक्तिसमेत तयार भइसकेको छ ।

हामी यतिबेला च्याङ्बा लामा लगायतका सहिदहरूको स्मरण र सम्झनाको भावधारामा १८ औँ सांस्कृतिक प्रतिरोध दिवस मनाइरहेका छौँ । देश र जनताका मुक्तिका लागि क्रान्तिकारी धाराको अवलम्बन सांस्कृतिक प्रतिरोध दिवसको केन्द्रीय मूल्य हो । जबसम्म नेपालमा क्रान्ति सम्पन्न हुँदैन, तबसम्म जनताको मुक्ति हुँदैन । जबसम्म जनताको मुक्ति हुँदैन, तबसम्म हामी निरन्तर क्रान्तिकारी दिशामा अघि बढिरहन आवश्यक हुन्छ । आज म देश र जनताका निम्ति सहिद भएर मर्न चाहन्छु, म कहिल्यै पनि गद्दार हुनेछैन भन्ने प्रतिवद्धता गर्ने दिन हो । यही भावधारामा डुबुल्किँदै नेपालका क्रान्तिकारी कम्युनिस्टहरू आवेग र विवेकको द्वन्द्वात्मक स्थितिको ख्याल गरेर आफ्नो लक्ष्यमा पुग्न सक्छन् ।

हुन त संशोधनवादी र प्रतिक्रान्तिकारीले पनि बेला–बेलामा सहिदका नाममा विभिन्न कार्यक्रम गरेको देखिन्छ यद्यपि त्यो फगत नाटक मात्र हुन् । क्रान्तिमा केही नेताहरूले धोका दिन सक्छन्, धोका दिएका पनि छन् । तर पनि क्रान्तिको प्रवाह रोकिँदैन र रोकिनु पनि हुन्न । क्रान्तिको सामूहिकीकरणको चरित्रलाई ख्याल गर्दै यसको ऊध्र्वगामी दिशा पक्रनु आजको आवश्यकता हो ।

एकीकृत जनक्रान्तिका माध्यमबाट नेपालका दलालहरूलाई ध्वस्त बनाउन सक्छौँ । उनीहरू जनताबाट अलग्गिइसकेका छन् । क्रान्तिक्रारीहरू संयुक्त मोर्चा, क्रान्तिकारी ध्रुवीकरण र एकताका साथ जनआवाज बुलन्द गरेर क्रान्तिलाई नयाँ शिराबाट उठाउन तम्तयारीमा छन् ।

वास्तवमा देश, जनता र समाजको मुक्ति, प्रगति र अग्रगामी परिवर्तनका लागि आफूलाई सचेत ढङ्गले बलिदान गर्ने महान् व्यक्ति सहिद हुन्छ । असचेत मृत्यु सहिदी मृत्युमा पर्दैन । उद्देश्यहीन असचेत मृत्युलाई पनि सहिदी मृत्युमा गणना गर्न थालिएकाले सहिदको अवमूल्यन हुँदै गएको हो । सामन्तवादले खडा गरेका विभेद, दासता, शोषण र दमनका पर्खालहरू भत्काउन नेपालमा विभिन्न समयमा थुपै्र सपूतहरूले रगत बगाएका छन् । जनमुक्तिको क्षितिज नउघ्रिँदासम्म यो सिलसिला जारी जारी रहनेछ ।

सबै किसिमका मानवता विरोधी देशी, विदेशी, उत्पीडित र शोषणबाट मुक्त भएर सुन्दर समाज, सुन्दर जीवन अनि सभ्य र उच्च समाजको निर्माण नहुँदासम्म सहिद हुने प्रक्रिया रोकिंदैन । इतिहासको प्रत्येक चरणमा सहिदहरूको बलिदानले पर्खाल भत्काउँछ र अग्रगामी परिवर्तनको ढोका खोल्छ तर नेपालमा त्यसलाई परिवर्तनकारी जनताले संस्थागत गर्न नपाउँदै सहिदी उद्देश्यलाई कुल्चने काम भएको छ । यो दुःखद् शृङ्खलाको अन्त्यका निम्ति निर्णायक युद्धको आवश्यकता खट्किएको छ ।

अग्रगामी परिवर्तन र मानवमुक्ति यात्राकै एउटा हिस्साका रूपमा नेपालमा जनयुद्धको थालनी भएको थियो । यो दासता र पराधीनतालाई अस्वीकार गरेको महान् युद्ध घोषणा थियो । यो युद्धमा हजारौँ जनता र योद्धाहरूले बलिदान गरे । नेपालको इतिहासमा बलिदानको यो गाथा अद्वितीय छ ।

जनयुद्धको यही त्याग र समर्पणको जगमा विकास भएको आन्दोलनको लपेटाले सामन्ती राजतन्त्रको गजुरलाई धुलोमा सुताइदियो र कथित लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो तर सामन्तवाद भने यथावत् छ । अग्रगामी परिवर्तनका ढोका फेरि पनि अवरुद्ध भएका छन् । राज्यसत्तामा प्रतिगामी चिन्तन हावी भएकोले दुःखद् शृङ्खलाको पुनरावृत्ति भएको छ । यो शृङ्खलाको अन्त्यका लागि जनताको महान् सङ्घर्षको आवश्यकता छ र समयले पनि यही कासन गरिरहेछ । यसको नायकत्व एकीकृत जनक्रान्तिले गरिरहेको छ ।

सहिद कुनै एक्लो व्यक्ति होइन, त्यो मुक्ति, क्रान्ति, प्रगति, न्याय, समानता, र अग्रगामी परिवर्तनको समष्टि हो । साथै, त्यो हरेक गद्दारी, आत्मसमर्पण, बेइमानी र विसर्जन विरुद्धको खबरदारी पनि हो । त्यो त्याग, बलिदान, समर्पण, उदात्तता, मानिसको सुन्दर भविष्य र जनकल्याणको प्रतिबिम्बन हो ।

त्यो मुक्ति र स्वतन्त्रताको कहिल्यै ननिभ्ने ज्योतिपुञ्ज हो । त्यसैले सहिदसँग जीवनको स्पन्दन छ, सुन्दरता छ, गन्तव्य छ अनि परिवर्तनको अविरल धारा छ । मानवमुक्ति, उन्नति र प्रगतिका मूल्य, विचार र आदर्शहरूमा सहिद बाँचेको हुन्छ । सहिदको आदर्श ओझेलमा पार्नु भनेको अधोगति हुनु हो । ऐतिहासिक क्रममा सहिदका उद्देश्य र आदर्शहरू प्रगतिशील भए पनि सर्वकालिक रूपमा ती समान हुन्छन् । इतिहासको यही कडीमै जनयुद्धका सहिदहरूसँग विगतका सहिदहरू जोडिएका छन् ।

यतिखेर नेपाल वर्गयुद्धको तुफानी शृङ्खलाको अर्को मोडमा उभिएको छ । नेपाली जनता १० वर्षको वर्गयुद्धले ल्याएको उथलपुथललाई संस्थागत गर्ने प्रक्रियामा अघि बढेका छन् । असजिलो परिस्थितिका बीचमा पनि नेपालमा नयाँ जनवादी क्रान्ति अगाडि बढाउनुको कुनै विकल्प छैन ।

नयाँ जनवादी गणतन्त्र स्थापनाको सहिदका सपना अझै पूरा भइसकेको छैन । त्यसको नेतृत्व गर्ने दायित्व क्रान्तिकारीहरूकै काँधमा आएको छ । हामीले मनाउँदै आएको प्रतिरोध दिवसको सन्दर्भ र औचित्य पनि यसैमा सङ्केन्द्रित छ ।

हाम्रा अगाडि महान् सहिदहरूका रगतले लेखेको इतिहास, उनको जीवन उत्सर्ग, आस्था, उनका बलिदानको सपना र विचारको निष्ठाले औँला ठड्याएर आज पनि सचेतना दिइरहेको छ– नयाँ नेपाल निर्माणको सपना नभुल्नू, सर्वहारावर्गको राज्यव्यवस्था स्थापनाको सङ्कल्प नछोड्नू, सामनता, न्याय र स्वतन्त्रताको समाज स्थापना गर्ने दृढ अठोट नबिर्सनू, सामन्ती र साम्राज्यवादी उत्पीडन, दमन र शोषणका विरुद्ध सधैँ जागिरहने निष्ठा र समर्मणलाई नछोड्नू । तिनले हामीलाई प्रतिरोध संस्कृति, त्याग, बलिदानको संस्कृति र वर्गसङ्घर्षको संस्कृतिलाई निरन्तर अगाडि बढाउन सन्देश दिइरहेका छन् ।

शौर्य, साहस र वीरताको १० बर्से जनयुद्ध वर्गसंस्कृतिको स्मरण गराइरहेछन् । अनेकोट यस्तो महान् भूमि हो जहँ सातजना सांस्कृतिक योद्धाले मुक्तिका लागि क्रान्तिको बेदीमा आत्माहुति चढाएका थिए । २०५५ सालको चैत ५ गतेको दिन तत्कालीन बर्बर र अमानवीय तानाशाहीसत्ताले काभ्रेको अनेकोटमा सशस्त्र घेरा हाली कुची, कलम र मादलका माध्यमबाट वर्गीय विचार र आस्थामा प्रतिवद्ध भएका कारण निःशस्त्र जनकलाकारहरूलाई ज्यूँदै आगो लगाएर मारेको थियो । उक्त स्थानमा ७ जना संस्कृतिकर्मीहरूले सहादत प्राप्त गरेका थिए । अछामको डुङ्गालामा नौजनाको सहादत भएको थियो भने रोल्पाको भवाङ्गमा ११ जना जनकलाकारहरू तथा डोटीको मुडभरा, अछामकै विनायकमा पनि जनकलाकारको सामूहिक सहादत भएको थियो ।

प्रतिरोध दिवस औपचारिकतामा मात्र होइन, निरन्तर सङ्घर्षको सन्देश पनि हो । सहिदको स्मृति भनेको तिनको त्याग, निष्ठा र समर्पणको निरन्तर आत्मसातीकरणको प्रक्रिया पनि हो । तिनका सपना पूरा गर्ने वाचा र प्रतिबद्धता हो । सहिदका रगतले लेखेको इतिहास कसैले मेट्न नदिने जुझारु सङ्घर्ष जारी राख्नु पनि हो ।

वर्गमुक्तिको यात्रामा वर्गचेतना, वर्गप्रेम र वर्गघृणालाई साम्यवादको युगसम्म जीवित राख्ने र वर्ग सङ्घर्षलाई लगातार अघि बढाउँदै सर्वहारावर्गलाई अन्तिम विजय नुहुँदासम्म निरन्तर सङ्घर्ष गर्ने सन्दर्भ पनि हो । त्यसकारण वर्गविद्रोहका संवाहकहरूका सामू ठूला चुनौती र महान् सम्भावनाहरू ठडिएका छन् ।

नयाँ विचारको निर्माण गर्दै यस शताब्दीमा विश्वकै सर्वहारावर्गलाई निर्देशित गर्ने नयाँ जनक्रान्तिको सूत्रपात नेपालबाट भएको छ । यतिखेर आमूल परिवर्तनकामी सहचारी वर्गमुक्तिका पक्षधर शक्तिहरूलाई गोलबन्द गरेर अघि बढ्नुपर्ने अनिवार्यता पनि हाम्रो सामू छ । यस स्थितिमा सांस्कृतिक प्रतिरोध दिवस मनाउनुको अर्थ जनमुक्तिको महान् अभियानात्मक प्रवाहमा जनसमुदायलाई मोर्चाबन्दी गर्नु पनि हो । यसको नेतृत्व कमरेड विप्लवहरुले गरिरहनुभएको छ ।

अहिले एमाओवादी बहुरूपी भएको छ । दलाल र स्वार्थीहरूले सहिदहरूलाई सम्झनु गलत हुन्छ । सच्चा क्रान्तिकारीहरुले सहिदलाई साँझ बिहान सम्झने प्रतिबद्धता जाहेर गर्नुपर्दछ । कमरेड विप्लवप्रति मुक्तिकामी नेपाली जनताले अलि बढी आशा गरेका छन् । सहिदको सपना क्रान्ति थियो, वर्गीय मुक्ति थियो । त्यो आज के भो ? सहिदलाई सम्झनु चानचुने कुरा होइन । आमूल परिवर्तन संसदीय बाटोबाट होइन, आन्दोलन या संघर्षको बाटोबाट मात्र सम्भव छ । त्यो बाटो जनयुद्ध हो ।

प्रतिभाहरू र तिनका वैचारिक आधारलाई जोगाउनु ठूलो कुरा हो । क्रान्तिकारी पार्टीले त्यो प्रतिबद्धता जाहेर गर्नुपर्छ । हस्तक्षेपकारी बन्दुकका विरुद्धमा बन्दुक उठ्नु सामान्य कुरा हुन्छ । सीआइए, ‘रअ’ का कथित मास्टर माइन्डमाथि बम हान्न आवश्यक छ । संशोधनवाद संशोधनवाद नै हो, क्रान्तिकारी क्रान्तिकारी नै हो । संशोधनवादबाट जनअपेक्षा गर्नु र दर्शन ढुंगाबाट चल्ला कोरल्न खोज्नु उस्तै उस्तै असम्भव कुरा हुन् ।

प्वाँखभन्दा हलुका मृत्यु रोजेका नवसंशोधनवादीहरूको औचित्य सकिएको छ । नयाँ लालसेनाका साथ सहिद र जनताका सपना पूरा गर्न आवश्यक छ । जनता महान् सपनाका साथ बा“चिरहेका छन् भने नवसंशोधनवादी–दक्षिणपन्थीहरू बाँचेर पनि मरिरहेका छन् । त्यसकारण सहिदहरूलाई सम्झनु भनेको संशोधनवाद र दलालीकरणका विरुद्ध आन्दोलित हुनु हो, संघर्ष गर्नु हो । विचार, बलिदान, विश्वास, रूपान्तरण अर्थात् आमूल परिवर्तनका निम्ति सांस्कृतिक प्रतिरोध दिवसको अर्थबोध गर्न आवश्यक छ ।

जनताको गीत गाउँदै हिँड्नेक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित ७ जना कलाकारहरूलाई २०५५ साल चैत ५ गते तत्कालीन राज्यपक्षले नियन्त्रणमा लिएर हत्या गरेको दिनलाई प्रतिनिधिमूलक दिनको रूपमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले हरेक वर्ष सांस्कृतिक प्रतिरोध दिवसको रूपमा मनाउँदै आएको छ । महासङ्घले रोल्पाको भावाङलगायतका सामूहिक हत्याकाण्ड र देशैभरका सांस्कृतिक सहिदलाई सम्मान गर्ने र उनीहरूका सपनालाई पूरा गर्नका लागि प्रण गर्ने दिनको रूपमा यो दिवस मनाउँदै आएको हो ।

स्मरण रहोस्, नेकपा एमालेको सुराकीमा प्रहरीको एक जत्थाले जनताका कलाकारहरू कमरेड च्याङ्बा लामा, कमरेड निर्मला देवकोटा, कमरेड गुम्बासिं तामाङ, कमरेड मञ्जु कुँवर, कमरेड डम्बर श्रेष्ठ, कमरेड सुभद्रा देवकोटा र कमरेड चिनीमाया लामालाई २०५५ साल चैत ५ गते जिउँदै जलाएर हत्या गरेको थियो ।

एकातिर महान् सहिदहरूका सपनाको साम्यवादी बगैँचा लाजिम्पाटमा ढकमक्क भएर फुलिरहेको छ भने अर्कोतिर दक्षिणी फाँटमा नयाँ शक्तिरूपी बन्दाकोबीका फसल असरल्ल पारिएका छन् । क्रान्तिकारीहरूलाई थाहा छ– साम्यवादमा पुग्न कैयौँ महान् सांस्कृतिक क्रान्तिहरू पार गर्नुपर्नेछ । कैयौं बलिदान र कठिनाइहरू पार गर्नुपर्नेछ । महान् सहिदहरूको स्पिरिट कायम गरेर मात्र कम्युनिस्ट क्रान्तिकारीहरू मानवजातिका साथ साम्यवादमा पुग्नेछन् । इतिहासको पाठ र वर्तमानको भोगाइबाट देखिएका सपनाहरू कोरा कल्पना हुनै सक्तैनन् । जनताका महान् सपनाको हत्या गर्ने दुस्प्रयत्नकारीहरू एक दिन इतिहासको गर्तमा पुरिनेछन् ।
नेपालमा नयाँ जनवादी क्रान्तिको सफलताका साथै जनताको समृद्ध सत्ताको स्थापना नै महान् बलिदानका सहिदीमूल्य हुन् ।