गेल ले ४८ बल, ११ छक्का, ५ चौका

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र ४, २०७२

चैत ४ – भारतमा चलिरहेको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप अन्तर्गतको पहिलो खेलमा नै वेष्ट इन्डिजका ब्याट्स म्यान क्रिस गेलले ४८ बलमा ११ छक्का र ५ चौका हानी किर्तिमानी कायम गरेको छ ।
गेलको नटआउट शतकीय पारीको मद्दतमा सुपर टेनको पहिलो लेगमा वेष्ट इन्डिजले इंग्ल्याण्डमाथि ६ विकेटको जित दर्ता गर्‍यो ।
४८ बलमा मात्रै खेलका गेलेले नटआउट एक सय रन बनाए । ४४ बलमा ९८ रन बनाएका गेलले यो खेलमा ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा सबै भन्दा छिटो शतक बनाउने कीर्तिमान बनाउनबाट भने चुके । ४५ बलमा शतक बनाएको भए उनले दक्षिण अफ्रिकाका रिचार्ड लेवीको कीर्तिमानसँग बराबरी गर्ने थिए । यो प्रतियोगितामा भने सबै भन्दा छिटो शतक बनाउने खेलाडी उनी नै बनेका छन् । गेलले ४७ बलमा शतक पूरा गरेका थिए । यस क्रममा उनले ११ छक्का प्रहार गरे ।
ट्वेन्टी–ट्वेन्टी विश्वकपमा एक पारीमा हानिएको सबै भन्दा धेरै छक्का हो यो । उनले सन् २००७ मा दक्षिण अफ्रिकासँगको खेलमा १० छक्का प्रहार गरेका थिए ।
ट्वेन्टी–ट्वेन्टी विश्वकपमा पहिलो शतक बनाउने पनि गेल नै हुन् । उनले सन् २००७ को पहिलो विश्वकपमा पहिलो शतक बनाएका थिए । बुधबार राति मुम्बइको वानखडे रंगशालमा भएको खेलमा गेलले पाँच चौका पनि हाने । ट्वेन्टी–ट्वेन्टी विश्वकपमा सबै भन्दा धेरै छक्का हान्ने खेलाडी गेल नै हुन् । उनले अहिलेसम्म ट्वेन्टी–ट्वेन्टी विश्वकपका सबै प्रतियोगितामा गरी ६० छक्का हानेका छन् । दोस्रो स्थानमा रहेका भारतका युवराज सिंहले अहिलेसम्म ३१ छक्का प्रहार गरेका छन् । गेल ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । उनले सबै ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ९८ छक्का प्रहार गरेका छन् । उनले अहिलेसम्म ९१ छक्का प्रहार गरेका न्युजिल्याण्डका ब्रेन्डम म्याकुलमको कीर्तिमान तोडेका हुन् ।