कानुनलाई पैसामा नबेच

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ३, २०७२

हिंसा हामीले सुन्दै र देख्दै आएका एक अप्रिय सामाजिक घटना हो । हिंसा केवल शारीरिक रूपमा दिने पीडामात्र नभइ मानसिक र भावनात्मक रूपमा दिने पिडा पनि हो । बर्तमान समयमा उकालो चढ्दै गरेको हिंसात्मक कृयाकलापमा केबल महिला मात्र पीडित नभै पुरुष पनि पीडित नै छन ।
बिगत देखी बर्तमान समय सम्म बिबिध पत्रपत्रिका र मिडिया लाई नियाल्दा पुरुष हिंसा भन्दा महिला माथि हुने हिंसात्मक घटनाले बिग्रह रुप लिदै गरेको पाईन्छ । महिला हिंसामा पुरूषमात्र सामेल नभई महिला पनि सामेल छन् । विविध विज्ञान र प्रविधिको विकासले संसारले काँचुली फेरेर सयौँ कोश टाढा पुग्दासम्म पनि हामी एउटा अन्धकार कोठामा लुकिरहेका छौँ । हुन त महिलामाथि हुने हिंसा वर्तमान समयमा मात्र नभई वर्षौंदेखि चल्दै अएको विविध धर्मशास्त्रबाट स्पष्ट हुन्छ ।
हिन्दु महिलाहरूले भगवान् मानेर पुज्ने भगवानका अवतारहरूले पनि महिला हिंसा गर्न पछि परेका थिएनन् । विष्णुले वृन्दाको हरण गर्नु, कृष्णले सोह्रसय गोपिनी विवाह गर्नु एक अपराध नै थियो । एकातिर महिलालाई आधा हिंस्ंसा हुन् भन्नेहरू छन् त अर्का्तिर जननी मानेर अरूको अगाडि नारीको पाउ ढोगी पछि पछि छुरा रोप्नेहरू पनि कमी छैनन् । सरकारी स्तरदेखि सर्वसाधारण सम्म भित्रिएको महिला हिंसाको न्यूनिकरणको सट्टा उकासिदो अवस्था छ । देशमा भएको फितलो कानूनले आजसम्म महिलालाई ठाडो शिर गर्न दिएन र अझै सयौँ वर्ष नदिने गरी घोक्य्राएर राखेको छ ।
आज पनि महान् प्रतिभाहरू घरको चार दिवालीमा लुकेर वनपाखामा स्याउला बटुल्दै हराउँदै गएका छन् ,कारण महिलामाथि हेर्ने नजरमा कालो पट्टीले बाँधिएको छ जुन वर्षौंसम्म यथावत रहने सम्भावना छ । आज पनि सयौँ नारीहरू पुरूषले चलाएको जीवन यात्रामा अशुरक्षित यात्रा गर्न वाध्य छन् ,अरूको निम्ति जीवन जिइरहेका छन् । नारी र पुरूष एक सिक्काका दुई पाटा हुन् भन्ने विचारवादीहरू पनि व्यवहारमा कञ्जुस्याई गरिरहेका छन् । कति नारीहरू यस्ता छन् जसले संसारमा कायापलट ल्याएका छन् उदाहरणको रूपमा फ्लोरेन्स नाइटिङ्गल, मदन टेरेसा, झमक घिमिरे, पारिजातलाई लिन सक्छौँ ।
परम्परावादी सोचको छाप परेको हाम्रो समाज आज पनि न त बोक्सीको अरोपमा महिलालाई दुर्व्यवहार गर्न पछि परेको छ, न त रातारात धनी हुन आफ्नै सन्तती बिक्री गर्न नै । जनतालाई सुरक्षा दिने सुरक्षाकर्मी स्वयम् बलात्कार गर्छ र वर्दी लगाएर हिँड्छ, कानूनका पाना कोर्ने हातहरू विविध रूपबाट महिला शोषण गर्छ र पजेरो चढेर हिँड्छ । देश बनाउँछु भन्नेहरू बहुविवाह गरेर बस्छन् तर सर्वसाधारणालाई औँला उठाउँछन् । आज पनि अपराधीहरू खुलेआम सडकमा नाचिरहेका छन्, कारण घुसखोरीमा चलेको सरकार अपराधीलाई सजाय हैन संरक्षण दिन्छ । ड्राइभरबाट यात्रु बलात्कृत हुँदा, बाबुबाट छोरी बलात्कृत हुँदा, सुरक्षाकर्मीबाट जनता बलात्कृत हुँदा, बस्तुझैँ चेली बेचिँदा सरकारले अपराधीलाई जेलको कोठीमा लगी धरौटीमा रिहाइ गरिदिन्छ ।
के पैसाले नारीको लुटिएको अस्मिता फिर्ता हुन्छ ? हुन त महिला माथिको अन्याय रोक्न सरकारले कुनै सभा समारोहमा घोक्रो फुलाएर महिलाको गुणगान नगाएको होइन, आफूलाई पवित्र बनाउन दोसल्ला ओढाएर एक दुई महिलाको सम्मान नगरेको होइन, केही महिलालाई रोजगार नदिएको पनि होइन तर बदलामा सयौँ नारी शोषित हुँदा किन मौन बस्छ सरकार । महिलामाथि भएको कुण्ठित भावना बाहिर पर्दाफास गर्दा नारी रङ्गमञ्चको हास्यकलाकार बन्छिन् आखिर कहिलेसम्म । किन कानून अपराधलाई पैसामा तुलना गर्छ ?
हुन त यी सब कुरा भनिरहँदा पुरूषहरू पनि महिलाबाट हिंसा नभएका भने होइनन् । श्रीमति र परिवार पाल्न खाडी मुलुकमा पसिना बेच्ने पुरूष दाजुभाइको पसिनाको मूल्य नारीले मेटी दिँदा पुरूष दाजुभाइ पीडित नै छन् । स्वदेशमा श्रीमती र कलीला नानी बाबु छाडेर समुन्द्र पारी खाडीमा पैसाको निम्ति रगतको बाजी राखेर पसिना बेच्ने दाजु भाई जन्माभुमी फर्किदा रित्तो घर देख्दा उसलाई शैया होला र ?के यो नारिले पुरुषलाई गरेको हिंसा होइन र ? यो पिडा बाहिर निकाल्दा किन सुनुवाई गर्दैन सम्बन्धित निकाय ? के पुरुष हिंसालाई न्याय दिलाउने कानुन छैन नेपालमा ? किन महिलाबाट पुरूषमाथि भएको अपराधको न्याय माग्न जाँदा हास्यपात्र हुन्छन् पुरूषहरू ।
परदेशिएको दाजु भाईको घर उजाडिएको कारण नियाल्दा प्राय घटना श्रीमती र परपुरुषसँगको सम्बन्ध नै भेटिन्छ तर यहाँ प्रश्न उठ्न सक्छ, स्वदेशमा श्रीमतिले परपुरूषसँग सम्बन्ध जोड्दा पाप धर्मको पाठ पढाउने पुरूष दाजुभाइहरू के खाडीमा ब्रह्मचारी नै होलान् त ? के उनीहरू आफ्नु जवानी पवित्र नै राख्दैछन् त ? आफूले परस्त्रीसँग सम्बन्ध जोड्नेहरू श्रीमतिले परपुरूषसँग सम्बन्ध जोड्दा किन स्वीकार गर्न सक्दैनन् ।वर्तमान् समयलाई नियाल्दा महिला तथा पुरूष हिंसा हुनको कारणहरूमा बढ्दो विदेशी विकृति, टेलिभिजनमा देखिने अपराध नियन्त्रण सम्बन्धि कार्यक्रमहरूमा देखिने अपराधिक क्रियाकलाप, अन्धविश्वास, समय र परिस्थिति विपरीत मानिसको मानसिक सोचाइ र मुख्यतय फितलो कानून जसले अपराधीलाई पैसामा रिहाइ दिन्छ र अपराधी पालेर राख्छ ।
अन्त्यमा कानून विपरीत कार्य गर्ने सम्पूर्ण मानव अपराधी हुन् , चाहे सभासद् हुन् चाहे प्रहरी, चाहे बुढो, चाहे बच्चा, चाहे ड्राइभर, चाहे वकिल सम्पूर्णलाई कानूनी दायरामा ल्याइ कारबाही होस् । पोखरामा भर्खरै घटेको घटनाले यो स्पष्ट हुन्छ कि नारीहरू परिचित तथा अपरिचित आफन्त या शत्रु चारै दिशाबाट अशुरक्षित छन् । तर अर्को्तिर भर्खरै धाढिङमा अदालतमा झुटो बयान दियको भन्दै जेलको कालो कोठिमा दिन र रात गुजारिरहेकी नारिलाई हेर्दा कती नारी त्यस्ता छन् जो पैसाको निम्ती अति निच व्यबहार गर्न सक्छन् । अशिक्षा र गरिबीले पिरोली रहेको देशमा हेटौंडामा भर्खरै घटेको घटना हेर्दा लाग्छ कि हामी अझै ढुंगे युगामा जियर बर्तमान समयको बिकास र परिस्थितीको भाषाण गाइरहेका छौ ।
चार बर्षअ गाडि देखी घटेको घटनाको किन समयमै निकाशा पायन । यो घटनाले एउटा प्रश्न अबश्य उठाउछ । यो घटना पीडितले लुकायर राखे अथवा सम्बन्धित निकायले सुनुवाई गरेन ? यदी यो घटनामा बिरबहादुरले घटना लुकायका हुन भने कृष्ण बहादुर सँगै बिरबहादुर लाई पनि कारबही होस् र यदी सम्बन्धित निकायले सुनुवाई नगरेको हो भने यथाशिघ्र छनबिन गरी कारबाही होस् । विगतदेखि वर्तमान समयसम्म हेर्दा बर्षभरि घट्ने घटनामा प्रायः घटना यौन, छुवाछुत र रुढिबादी परम्परासँग सम्बन्धित रहेकै हुन्छन् साथै ती अति निन्दनिय हुन्छन् । यि घटना पनि अन्य घटनाको तुलनामा कम निन्दनिय छैनन् । तर अपराधी अपराध गरे पश्चात् केही रकम तिरेको भरमा उम्कने, धम्की र शक्तिको आडमा उन्मुक्त जीवन व्यतित गरिरहेका छन् यस्तो प्रवृत्तिलाई निरूत्साहित तुल्याउनु पर्छ ।
समयमै सरकारी तथा गैर सरकारी निकायबाट यस्ता घटना न्युनिकरण गर्न कदम नचालिय अझै यस्ता घटनाले बिग्रह रुप नलिग्ला भन्न सकिदैन । बिद्यालय स्तर देखिनै यौन शिक्षा दिने ठाउँ ठाउमा सडक नाटक गरी चेतना दिने , बिबिध र्याली र प्रचा बितरण र बिशेषत सरकारी कानुन बलियो बनाउनु आवश्यक छ । अपराधी बिरूद्घ दिइने सजाय यस्तो होस्, पीडितको होइन कि पीडकको घाउको खाटो ऊ बाँचुन्जेल नमेटियोस् । उसले चाहेर पनि विर्सन नसकोस् । ऊ तड्पितड्पि बाँच्नु परोस् ।
न्यायाधिश, वकिल, पुलिस तथा राजनीतिक दलका कार्यकर्ता कोही पनि अपराधीका पैसामा नबिकुन्, देशको न्याय प्रणाली नबिकोस् । चाहे त्यो २ वर्षे नातिनी बलत्कार गर्ने हजुरबुबा हुन् या सङ्गिता माथि एसिड छर्ने अपराधी या चाहे रात बिताउन नमानेको भन्दै बहिनी मार्ने हत्यारा या त विदेशमा पसिना बेच्ने श्रिमानको पसिनामा मोज गर्ने नारी, अथवा आफुमाथि बलत्कार गरेको भनी मुद्दा हाली अदालतमा झुटको खेती रोप्ने नारी नै किन नहोस् सबैलाई कानून बनाइयोस् । सबै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाइयोस् । कानुनलाई पैसामा नबेचियोस् । लेखकको स्वतन्त्र विचार

बिन्दा खतिवडा, धादिङ कल्लेरी
हाल काठमाडौं