धादिङको बिकास, सम्भावना र चुनौती

Avatar photo
Dhadingpost
शनिबार, माघ ९, २०७२

धादिङ राजधानीसँग जोडिएको जिल्ला हो । आफ्नै फरक पहिचाहन रहेको यस जिल्लालाई बिभिन्न तह र तप्काका मान्छेहरुले बत्तिमुनिको अध्यारो जिल्ला भनेर पनि भनिदै आएको जिल्ला हो । राजधानी काठमाण्डौबाट मात्र ८९ किलोमिटरको दुरिमा रहेको यस जिल्लाको समग्र भौगोलिक वनावट र जिल्लाको बिकास निर्माणको गतिलाई हेर्दा धादिङ पछाडी नै रहेको छ । तर विकास भन्ने चिज हतारमा हुने र यो रोकिने कुरा पनि होईन । त्यसैले धादिङको विकास, सम्भावना र चुनौतीका पर्खालहरुको बारेमा यहाँ चर्चा गर्न चाहन्छु ।
धादिङको चिनारी
धादिङ जिल्ला नेपालकै दुर्लभ मानिएको चेपाङ जाती बसोबास रहेको जिल्ला हो । विशेष गरि धादिङको दक्षिणी भेग जोगिमारा, पीडा, धुषा, महादेवस्थान, बेनीघाट लगायतका गाविस चेपाङ जातीको वाहुल्यता रहेको गाविसहरु हुन । यिनै जातीको भाषा अनुसार धादिङ जिल्ला जिल्लाको नामाकरण गरिएकोे बिभिन्न किंवदन्तीमा उल्लेख गरिएको पाईन्छ । चेपाङ जातीको आफ्नै विशेषता रहेको छ । जुन जातीमा विवाह गर्दा छोरीलाई चिउरीको बोट दाइजो दिने प्रचलन रहदै आएको छ । चेपाङ जातीले ज्वालामुखीलाई देवताको रुपमा मानिदै आएको छ । चेपाङ पहिले देखि नै यस जिल्लामा बसोबास गर्दै आएको पाईन्छ । चेपाङ भाषाबाट नै धादिङ नाम रहन गएको पाईन्छ । चेपाङ भाषा अनुसार धा भनेको देवता र दिङ भनेको आगोको ज्वाला भन्ने हुन्छ । प्रसिद्ध ज्वालामुखी मन्दिर पनि यसै जिल्लामा रहनु पनि गतिलो आधार रहेको छ ।
वि.सं २०७१ साल बैशाख २५ गतेबाट सरकारले साविकको नीलकण्ठ, साङकोष, मुरलीभञ्ज्याङ र सुनौलाबजार गरि ४ वटा गा वि सलाई मिलाई सदरमुकाम धादिङबेशी रहेको नीलकण्ठ गाविसलाई हाल नीलकण्ठ नगरपालिका घोषणा गरेको छ । यो सँगै धादिङमा अब एक नगरपालिका र ४६ वटा गाविस कायम रहेको छ । यस जिल्लाको कुल क्षेत्रफल १९२४.९ बर्गकिलोमिटर रहेको छ ।
धादिङको विकास
धादिङ बिकासको दृष्टिकोणले हेर्दा सम्भावना बोकेको तर विकासको गतिले भने पछाडि नै रहेको जिल्ला हो । जिल्लामा शिक्षाको स्थिति हेर्दा उल्लेखनिय प्रगति हुन सकेको छैन । धादिङ जिल्लामा सिमित मात्रामा उच्च मावि खुलेका छन । जसले गर्दा धादिङमा अझै पनि शिक्षाको क्षेत्रमा राम्रो लक्ष्य हासिल गर्न सकिरहेको छैन । धादिङमा न्यून मात्रामा जसोतसो उच्च मावि रहे पनि प्लस टु पास गरे पछि भने धादिङका विद्यार्थीहरु उच्चशिक्षा हाँसिल गर्न कि त धादिङबेशी झर्नुपर्ने वा राजधानी काठमाण्डौ, पोखरा छिर्नु पर्ने वाध्यता रहेको छ । शिक्षाको क्षेत्रमा धादिङमा नै रहि केहि काम गर्छु भन्दा पनि पर्याप्त मात्रामा शैक्षिक संस्थाहरु नरहनु र उच्च शिक्षा हाँसिलको लागि जिल्ला छाडनु परेसि अन्य ठाउमा नै घुलमिल हुदा पछि अध्ययन पुरा गरेपछि आफ्नो गाउ ठाउमा नै बस्ने वातावरण नहुदा धादिङको उच्च शिक्षा हाँसिल गरेको मानिस जिल्ला वाहिर रहेर काम गर्न वाध्य भएका छन । तर पनि धादिङबाट उच्च शिक्षा हासिल गरेका प्रसिद्ध व्यक्तिहरु नभएका भने होईनन् । गृहजिल्लामा नै रहि काम गर्ने वातावरण नभएको कारण अन्य ठाउमा रहि आफ्नो भविष्य बनाईरहेका छन ।
धादिङमा स्वास्थ्य क्षेत्रमा पनि त्यति राम्रो प्रगति हुन सकिरहेको छैन । धादिङको उतरी भेगमा अझै पनि सामान्य स्वास्थ्य सेवा पनि पुग्न सकेको छैन । जिल्लाको विभिन्न गाविसहरुमा स्वास्थ्य चौकी खुले पनि औषधी ,दक्ष तथा अनुभवी डाक्टरको अभावमा सामान्य उपचारको लागि पनि सदरमुकाम झनुपर्ने वाध्यता रहेको छ । सदरमुकाम धादिङबेशीमा रहेको जिल्ला अस्पतालमा पनि सामान्य उपचार मात्र हुने हुदा अप्रेशन लगायत अन्य स्वास्थ्य सम्बन्धी जटिल उपचारको लागि कि त भरतपुर कि काठमाण्डौ दगुर्नु पर्दा धादिङवासी अत्याधुनिक स्वास्थ्य सेवाबाट भने बञ्चीत रहेका छन ।
धादिङवासीले त्यो बेला स्वास्थ्य सेवा राम्रो रहेको महसुश गर्नेछ जुन दिन जस्तोसुकै रोगको पनि जिल्ला वाहिर गएर उपचार गर्न नपरोस । हाल धादिङको वासिन्दा सुत्केरीको अप्रेसन गर्नु प¥यो काठमाण्डौ अन्य उपचार गर्न परेमा काठमाण्डौ धाईरहनु परेको छ । यसरी हेर्दा जिल्लाको स्वास्थ्य सेवा नाजुक नै रहेको भन्दा फरक नपर्ला ।
धादिङ प्रमुख सडक सञ्जालमा जोडिएको जिल्ला हो । जिल्लाको पृथ्वीराजमार्ग भएर प्रत्येक दिन हजारौ सवारी साधन विभिन्न जिल्लाका लागि आवातजावत गर्ने गर्दछ ।तर पनि धादिङ जिल्लाको विभिन्न भूभागमा सडक विस्तारको स्थिति हेर्दा दयानिय अवस्थामा रहेको छ । गाउ गाउमा सडक पुगेपनि कच्ची सडकको कारण दुःख भोगिसाध्य छैन । दुःखको साथ भन्नुपर्छ धादिङको वासिन्दाले पिच गरेको सडकमा यात्रा गर्ने भनेका धादिङबेशीदेखि मलेखु कालुपाण्डे राजमार्ग र नौविसे देखि जोगिमाराको जवाङ खोलासम्म मात्र हो नत्र तपाई धादिङको जुन ठाउमा जानुस ठोक्कीदै ठोक्काउदै, हल्लिदै हल्लाउदै उफ्रिदै उफ्राउदै जानुको अरु विकल्प छैन । तर पनि सडक सञ्जाललाई जोडने कार्य भने तिव्रता दिदै आएको छ । यसरी हेर्दा धादिङमा पक्की सडकको अवस्था भने २०प्रतिशत जति मात्र रहेको छ ।
धादिङ जिल्लामा अझै पनि खानेपानीको अवस्था सबै ठाउमा सुलभ रुपमा पुग्न सकेको छैन । जिल्लाको बिभिन्न वस्तीहरुमा अझै पनि खानेपानीको लागि घण्टौ समय लाग्ने ठाउहरु पनि रहेका छन । जिल्ला भएर बग्ने ठूल्ठूला नदि जस्तै बुढिगण्डकी, त्रिशुली रहेका छन । धादिङमा विद्युत कार्यले केहि हदसम्म प्रगति गरेका कारण आफ्नै उत्पादनले जिल्लामा धानिरहेका छन । देशले दैनिक १५ घण्टा भन्दा बढि लोडसेडिङको मार खेपिरहेको समयमा धादिङमा भने दैनिक आधा घण्टा ३० मिनेट मात्र बति जानु सबैभन्दा खुशिको कुरा हो ।
अर्को खुशिको कुरा भनेको आम धादिङवासी सूचना पहुचमा भने अगाडि रहेका छन । बिभिन्न विद्युतीय सञ्चार माध्यमहरु , छापा तथा श्रव्यदृष्यका साधनमा भने राम्रो पहुच रहेका छन । दुरसञ्चार प्रदायक संस्था नेपाल टेलिकमको सेवा विकास र विस्तार धादिङको सबै ठाउमा भएका छन ।यी बाहेक नीजि स्तरको सेवा प्रदायक संस्था एनसेल, युटिएल, स्मार्ट, स्काई आदि संस्थाहरुले पनि सञ्चार जगतमा जोडने महत्वपूर्ण कार्य गरेको छ । बिभिन्न छापाका माध्यमहरु मार्फत दर्जन भन्दा बढि साप्ताहिक तथा दैनिक पत्रपत्रिका प्रकाशित हुदै आएका छन । हाल आएर बिभिन्न अनलाईन साइडहरु पनि उल्लेख्य मात्रामा वृद्धि हुदै गईरहेका छन । जिल्लामा ७ वटा रेडियो, एक टेलिभिजन सञ्चालनले सञ्चार क्षेत्रमा धादिङ अगाडि नै रहेका छन ।
सम्भावना
सङघीय संरचना अनुसार अब धादिङ प्रदेश नं ३ मा रहने छ । यसमा पनि चितवन, राजधानी काठमाण्डौ पनि यसै प्रदेशमा रहेको हुँदा विकासले फडको मार्ने सम्भावना पनि प्रवल रहेका छन । चितवन अन्न भण्डारको खानी भनेर चिनिदै आएको बेला खाद्यान्नमा आत्मनिर्भर बन्न सकेमा प्रदेश नं.३ को आर्थिक दिगो विकासमा ठूलो टेवा पुग्न सक्छ । यसमा पनि धादिङमा नै एक हजार दुई सय मेगावाटको बहुप्रतिष्ठीत राष्टिय योजना बुढिगण्डकी आयोजना सञ्चालन हुनु भनेको धादिङको मुहार फेरिनु हो । धादिङ र गोरखाको करिब ४५ हजार जनताले आफ्नो थाकथलो छाडनु पर्ने छ ।तर पनि धादिङ र गोरखाकोे सिमानामा बन्न लागेको आयोजना सम्पन्न पश्चात पर्यटकीय गन्तव्य बन्नेछ । सो आयोजना निर्माण पछि पोखरामा रहेको प्रसिद्ध फेवाताल भन्दा १५ गुणा ठूलो ताल बन्ने भएका छन । धादिङलाई पर्यटकीय थलोको रुपमा स्थापित गर्नको लागि यहाँ रहेको धार्मिक तथा ऐतिहाँसिक पुरातात्विक संरचनालाई जोगाउन सकेमा विकासको सम्भावना बोकेको ठाउ हो । प्राकृतिक छटाँले पनि भरिपूर्ण ठाउ बिभिन्न लेकबेशी , गाउ खर्क उकालीओराली भञ्ज्याङ चौतारी धार्मिक स्थल आदिको प्रचारप्रसार गर्न सकेमा धादिङले कोल्टो फेर्नेछ ।
चुनौती
धादिङको विकासमा जति सम्भावना बोकेका छन त्यो भन्दा केयौँ गुणा चुनौतीको सामाना गर्नुपर्ने हुन्छ । बुढिगण्डकी आयोजना निर्माणको लागि धादिङको सलाङ, मैदी, खरी , चैनपुर, सल्यानटार, आगिञ्चोक, त्रिपुरासुन्दरी, मार्पाक, बसेरी, मूलपानी र बुढाथुम गाविसको भूभागमा बसोबास गर्ने रैथानेहरुले आफ्नो घरवार छोडि हिडनु पर्ने हुन्छ । त्यहाँको वासिन्दालाई मुआब्जा वितरणमा कसरी खुशि पार्नी र वस्ति छाडि हिडेका वासिन्दालाई कसरी व्यवस्थापन गर्नी हो त्यो चुनौतीको बिषय बन्न जानेछ । धादिङ यसै त भूकम्पबाट तहसनहस भएको जिल्ला त्यसमा पनि धादिङ र गोरखाको करिव ४५ हजार वासिन्दा आफ्नो थाकथलो छाडेर हिडनु पर्दा व्यवस्थापनमा कठिनाई पक्कै पनि आउनेछ । बुढिगण्डकी आयोजना निर्माणको लागि सरकारले चालु आ.व मा तीन अर्ब रुपैया बजेट समेत विनियोजन गरेता पनि देशको राजनैतिक अस्थिरता र जटिल परिस्थितिको कारण उक्त योजनालाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिरहेको छैन । धादिङको भौगोलिक विकटताका कारण पनि विकासका कार्यलाई दु्रत गतिमा अगाडि बढाउन सकिरहेको छैन । देशको गौरव बोकेको बुढिगण्डकी आयोजना अगाडि बढाउनको लागि सर्वप्रथम सडक सञ्जाललाई जोड दिनु पर्ने देखिन्छ ।
धादिङको ऐतिहाँसिक एवं धार्मिक दृष्टीले महत्वपूर्ण त्रिपुरासुन्दरी माईको मन्दीर, मास र भटमासको लागि प्रसिद्ध सल्यानटारको भूभाग मासिने हुदा यसबाट धादिङले केहि महत्वपूर्ण धार्मिक स्थल र टार फाट गुमाउने हुदा यसको व्यवस्थापनमा त्यहाँको वासिन्दालाई कसरी मनाउन सकिने हो त्यसमा पनि शंकाको विषय छ । बर्षौदेखि बसि आएको थलो त्यसमा पनि धार्मिक स्थल नै नरहने भएपछि करिब ४५ हजार वासिन्दाको मन जित्न सरकारले कसरी प्रभावकारी कदम चाल्न सकिन्छ त्यो पनि चासोको विषय भएका छन । धादिङ र गोरखा वासिन्दाको प्रमुख व्यापारिक केन्द्र आरुघाट नै नरहने भएपछि त्यस ठाउमा बसोबासको लागि र व्यापारको लागि आफ्नो घर सम्पति जोडेका मानिसहरुले त्यहाँबाट उठेर हिडदा कुन हद सम्म त्यस ठाउ छाडन सहमत होला र सरकारले पनि त्यहाँको वासिन्दाको भावना कुन हदसम्म सम्मान गर्न सक्ने हो त्यो भोलीका दिनमा थाहा हुने नै छ ।
आखिर जे होस त्यस ठाउमा बसोवास गर्ने मानिसहरुलाई पुर्नस्थापना गर्दा सर्प पनि मर्ने लौरो पनि नभाँचिनि खालको रहोस । धादिङको शान, मान र प्रतिष्ठाको बिषयमा सानो कुराले तिलको पहाड नहोस । सबै धादिङवासी केहि पाउन के गुमाउन पर्छ भन्ने कुरालाई ध्यानमा राखि आफ्नो जिल्लाको विकासमा सबै तह र तप्काका मानिसहरुले एक आपसमा मिलि अगाडि बढन सकेमा र पर्यटकिय सम्भावना बोकेको जिल्लाको बिभिन्न ठाउमा विकास लहरहरु फैलाउन र समाजम रहेको आपसी भाइचारालाई सुढृण गर्दै आफ्नो ठाउबाट सबै उठन सकेमा बिकासले गति पाउन समय लाग्ने छैन ।
धादिङमा औद्योगिक कलकारखाना बिकास हुन नसकिरदा जिल्लाको लाखौ युवा आफ्नो जिल्ला छोडि अन्य जिल्लामा जान वाध्य रहेको छ । यसको निराकरणको लागि जिल्लामा औद्यौगिक क्रान्तिको आवश्यक रहेका छन ।