मुलुक विगत एक महिनादेखि भारतको अघोषित नाकाबन्दीको चपेटामा छ । इन्धन संकटले धेरैको दसैं खल्लो भयो । आउँदै गरको अर्को महत्वपूर्ण पर्व तिहार पनि खल्लो हुने हो कि भन्ने आमचिन्ता बढ्दै गएको छ । यही बीचमा सरकारले उत्तर छिमेकी चीनबाट इन्धन ढुवानी प्रक्रिया अघि बढाएको छ । आपूर्तिमन्त्री गणेशमान पुनसँग सिंहदरबारस्थित मन्त्रालयमै पुगेर गरिएको कुराकानीको सम्पादित अंशः–
चीनबाट इन्धन आयातको प्रक्रिया सुरु गर्नुभएको छ, जनताले कहिलेदेखि पाउँछन् इन्धन ?
कहिलेदेखि आउँछ भन्ने भन्दा पनि प्रक्रिया कहाँ पुगेको छ भन्दा राम्रो होला । औपचारिक हिसाबले व्यापारिक तहमा पनि खरिदका लागि पत्र पठाएका छौं । सोमबार मात्रै वार्ता टोली चीन गएको छ । अनुदानको हकमा १३ लाख लिटर पेट्रोल आउँदैछ । ढिलोमा दुई/तीन दिनमा हामी त्यो रिसिभ गर्दैछौं । अनुदानको इन्धन ल्याउन प्राविधि र सुरक्षा टोली खटिइसकेको छ ।
चीन गएको सरकारी टोलीले त्यहाँ के गर्छ ?
इन्धन आयातका लागि चिनियाँ अधिकारीहरुसँग वार्ता गर्छ । इन्धन आयातको सम्भाव्यता सहित प्राविधिक पक्षको पनि थप अध्ययन गर्छ ।
अन्तिम सम्झौता गरेर आउँछ ?
इन्धन आयातसम्बन्धी सम्झौताको संयुक्त ड्राफट् तयार गर्छ । सम्भौताको एकप्रति उतै रहन्छ । एकप्रति यता आउँछ । टोली फर्केर नेपाल आएपछि हामी मन्त्रिपरिषद्बाट पारित गरेर त्यसलाई वैधानिकता प्रदान गर्छौं ।
भनेपछि दसैंमा इन्धन अभावले जनताले जुन प्रकारको सास्ती भोग्नुपरेको थियो अब तिहारमा त्यो भोग्नुपर्दैन ?
इन्धन अभावका कारण जनताले ठूलो पीडा भोग्नुपरेको छ । दसैंजस्तो ठूलो सांस्कृतिक पर्वका बेलासमेत इन्धन अभावका कारण आमजनताले ठूलो पीडा भोग्नु प¥यो । तिहारमा त्यस्तो नहोस् भनेरै हामी अहोरात्र लागिपरेका छौं । यति लामो समयसम्म भएको नाकाबन्दीको असर केही दिनमै अन्त्य हुन्छ म भन्दिन तर तिहारका धेरै हदसम्म सहज हुन्छ ।
भूकम्पले तातोपानी र केरुङ नाका अवरुद्ध छ, इन्धन चाहिं कसरी ढुवानी गर्नुहुन्छ ?
हाम्रो प्राविधिक टोलीले सडकको अवस्थाबारे अध्ययन गरिसकेको छ । तत्काल अनुदानमा आउन लागेको इन्धन हामी केरुङ नाकाबाट ल्याउछौं । तातोपानी नाकाको अवस्थाका बारेमा मैले आजै (सोमबार) मात्रै पनि जानकारी लिएको थिएँ । भूकम्पले भत्किएका कारण केही समस्या त छ तर भन्सार सुचारु हुने बित्तिकै बाटोका कारण सामान ढुवानीमा समस्या आउँदैन ।
चीनबाट आयात गरिएको इन्धन भारतबाट ल्याउने गरिएको भन्दा महंगो पर्ने भयो भन्ने चर्चा सुनिन्छ त्यो के हो ?
मैले भर्खरै मन्त्रीको जिम्मेवारी सम्हालेको हुँ । मन्त्री भएलगत्तै दसैं बिदा भयो । त्यसैले डिटेलमा अध्ययन हुन त बाँकी छ । तर अनौपचारिक रुपमा भएका चिनियाँ पक्षसँग भएको कुराकानीका आधारमा मलाई त्यस्तो लाग्दैन । भारततिर समथर जमिन छ । चीनतिर बडेमानको पहाड र भीर छ भन्ने आधारमा कोही मानिसले महंगो पर्छ भनेका होलान् । त्यो कुरा सत्य होइन । भारतले पनि अन्तर्राष्ट्रिय बजारबाट ल्याएरै हामीलाई इन्धन दिने हो । चीनले पनि गर्ने त्यही हो । एउटै बजारबाट आउने इन्धन भारत र चीनसँग लिँदा मूल्यमा आकास पातालको फरक कसरी पर्छ ? त्यसमा फेरि ढुवानीका लागि दूरी पनि खासै फरक होइन । सिगाछेबाट काठमाण्डु साढे ६ सय किमीको दूरीमा छ । भारततर्फबाट आयात गर्दा पर्ने दूरी पनि त्यही हो । मूल्य फरक पर्छ भन्ने हल्ला हो । त्यसमा सत्यता छैन । हामीले एकैतिर मात्र भर पर्न नहुने रहेछ । नाकाबन्दीपछि हामीले एकातिर मात्र भर पर्न नहुने रहेछ भन्ने कुरा महसुस गरेका छौं । एकतिर मात्र भरपर्दा राजनीतिक कारणले मात्र होइन, कहिले भूकम्प जाला । कहिले पहिरोले बाटोघाटो अवरुद्ध होला । त्यस्तो बेलामा आपूर्ति अवरुद्ध हुँदा जनजीवन प्रभावित हुन्छ । त्यसैले चीन वा भारतसँग मात्र होइन । हामी तेश्रो मुलकबाट समेत इन्धनसहित अत्यावश्यक वस्तु आयात गर्नेतिर लाग्नुपर्छ ।
कुटनीतिक र राजनीतिक पहलकदमीबाट इन्धन आउन लागेकाले चीनलाई सहुलियत दिन भन्नुभएको छैन ?
हामीले भनेका छौं । वार्ता टोलीले पनि छलफलका क्रममा त्यो विषय उठाउँछ ।
भारतले नाकाबन्दी हटाएपछि चीनबाट इन्धन ल्याउन बन्द हुन्छ भन्ने आशंका आमजनतामा छ, के भन्नुहुन्छ ?
विगतमा त्यस्तो भयो । त्यो गल्ती थियो । अब चाहिं त्यस्तो हुँदेन । भारतले नाकाबन्दी हटाएपछि पनि हामी चीनबाट सामान ल्याउन छाड्दैनौं । नेपाल सार्वभौम मुलुक हो । नेपालले संसारका जुनसुकै मुलुकसँग व्यापार गर्न सक्छ । यो अरु कसैका लागि टाउको दुखाइको विषय होइन । राष्ट्रिय खपतको एउटा उल्लेख हिस्सा चनिसँग खरिद गर्छौं । यसका साथसाथै अरु पनि के ल्याउन सकिन्छ त्यसमा पनि जान्छौं । यसको अर्थ भारतसँग चाहिं ल्याउँदैनौं भन्ने पनि होइन ।
सरकारले चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढाएपछि दक्षिण (भारत) ‘फायर’ छ भन्ने सुनियो नि ?
यसमा कोही ‘फायर’ हुनुपर्ने कारण छैन । हामीले कसैका विरुद्धमा यो काम गरेका होइनौं । हामी कसैको विरुद्धमा छैनौं, नेपाल र नेपाली जनताको पक्षमा छौं । हामी आफैं बाँच्न खोजेका मात्र हौं । लामो समयदेखि आयात ठप्प हुँदा जनताले दुःख पाए । जनताको चुल्हो बलेन । हिंडडुल गर्ने अवस्था भएन । सरकार जनताको अभिभावक हो । यस्तो बेलामा सरकार चुप लागेर बस्न सक्दैनथ्यो । हामीले गरेको यत्ति हो । राजनीतिक र कुटनीतिक हिसाबले पनि भारतसँग कुरा भइरहेको छ । हामीले आयल नगिमका अधिकारीहरुलाई पनि भारत पठाएका छौं । उहान्हरुले पनि इन्धन ल्याउन पहल गरिरहनु भएकै छ । रक्सौलमा धर्ना, प्रदर्शन भएकाले सामान आउन सकेन भनियो । हामीले त्यो बाहेकका नाकाबाट ल्याउन खोज्यौं । तर त्यो पनि त सहज भएन । अनि हामीसँग भारत रिसाउनुपर्ने किन ?
परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय नेताहरुले गरेको बाचा पुरा गरेनन् भनेर संसदमै बोल्नुभयो । परराष्ट्रमन्त्रीलाई त नटेरेको भारतले आयल निगमका कर्मचारीलाई टेर्छ भनेर पठाउनुभएको ?
परराष्ट्रमन्त्रीले असहजता अन्त्यका लागि गम्भीर कुरा राखेर आउनुभयो । भारतीय पक्षको कुरा मीठो नै छ । तर व्यवहारमा त्यो पुरा हुन सकेन । म आग्रह गर्न चाहन्छु कि भारले बोलेका कुरा पुरा गरेर देखाओस् । रक्सौलबाहेकका नाका सुचारु गर्छु भनेको त धेरै दिन भइसक्यो । खैत बोलेको जस्तो काम गरेको ?
चीनसँग इन्धन ढुवानी सम्झौता नगर्न भारततिरबाट दबाब आयो कि आएन, नढाँटी भनिदिनुस् त ?
अरुलाई दबाब आएको छ भने थाहा छैन । तर मलाई कसैको दाबाब आएको छैन । आए पनि दबाबमा पर्ने पक्षमा म छैन । हामी नेपाली जनता स्वतन्त्र र सार्वभौम छौं । हामीसँग आत्मनियर्ण गर्न पाउने अधिकार छ । संसारभर जुन देशसँग पनि व्यापार गर्न पाउने हाम्रो अधिकार सुरक्षित छ । हामी नेपाली जनताका प्रतिनिधि हौं । जनतालाई दुःख परेका बेलामा कसैको अनुचित दबाबमा परेर हात बाँधेर बस्न सकिँदैन । दबाब आए पनि सरकार आफ्ना जनताले दुःख पाएको टुलुटुलु हेरेर बस्न सक्दैन ।
चीनसँग नेपालले अहिलेसम्म व्यापार सम्झौता गरेको छैन, अब गर्नुहुन्छ ?
पहिला हामी तत्कालका लागि इन्धनको सहज आपूर्ति व्यवस्था मिलाउँछौं । इन्धनको सहज भएपछि अन्य वस्तुहरुको आयात वा निर्यातका लागि व्यापार सम्झौता गर्छौं । सरकारले त्यो विषयलाई आफ्नो प्राथमिकतामा राखेको छ ।
अन्त्यमा केही भन्नु छ ?
एकमहिनाभन्दा बढी समयदेखि नाकाबन्दी छ । नाकाबन्दीले जनजीवन असामान्य बनेको छ । तर पनि जनताले धैर्य गरेका छन् । राजनीतिक नेतृत्वलाई जनताको सन्देश छ, बरु हामी अझै कष्ट खप्त तयार छौं, तर तपाईंहरु विदेशी शक्तिका अगाडि अनावश्यक ढंगले नझुक्नुहोला । साहस, धैर्य र स्वाभिमानी भावनाका लागि म जनतालाई सलाम गर्छ चाहन्छु । काठमाण्डु टुडे