मस्यौदाको सुझावमा पनि ‘शुन्य थबाङ’

Avatar photo
Dhadingpost
सोमवार, साउन ४, २०७२

नवीन लोचनमगर
रोल्पा । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि बन्न लागेको नयाँ संविधानमा सबैको अधिकार सुनिश्चित गर्न भन्दै संविधानको प्रारम्भिक मस्यौदा बोकेर सभासद तथा सरकारी निकाय गाउँगाउँ पुगेका छन् । जनताका भावनालाई सहज रुपमा संविधानमार्फत मुखरित गर्ने गरी गाउँ फर्क अभियानमा लागेका सभासद् तथा सरकारी कर्मचारीहरुलाई राजनीतिक द्वन्द्वका कारण समस्या परेको छ ।
जनयुद्धको उद्गम थलोको रुपमा परिचित रोल्पामा सुझाव संकलनको अवस्था कसरी अगाडि बढ्छ भन्ने बारेमा सबैको चासो बढिरहेको बेला जिल्ला सदरमुकामबाट २६ कोष टाढा थबाङ गाउँले सुझाव संकलनमा भाग नलिने संकेत गरेको छ ।
Tawang-copyसंविधानसभाको दोस्रो निर्वाचनमा समेत शुन्य मतदान बनाएको थबाङले मस्यौदामाथिको छलफललाई समेत अस्विकार गरेको छ । थबाङ गाविस सचिव अधिकार मगरसहितको सुझाव संकलन टोलीलाई थबाङ्गीहरुले कुनै सुझाव नै नदिएर आइतबार सदरमुकाम फिर्ता पठाएका हुन् । शनिबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सुझाव संकलनका लागि कर्मचारीहरु थबाङ गाउँमा खटिए पनि थबाङ्गीहरुले कुनै चासो देखाएनन् । बेलुकीसम्म कोही नआएपछि संविधानको प्रारम्भिक मस्यौदा प्रहरीलाई बुझाएर आइतबार कर्मचारी सदरमुकाम लिबाङ फर्किएका छन् ।
२०३७ जेठमा भएको जनमत संग्रहमा आफ्नो सबै मत बहुदलको पक्षमा खन्याएको थबाङले २०३८ बैशाखको राष्ट्रिय पञ्चायतको चुनावदेखि नै राज्यको विरुद्धमा उभिएको वास्ताविकता देख्न सकिन्छ । थबाङले संविधानसभाको दोस्रो निर्वाचानमा समेत शुन्य मतदान गरी परम्परागत सामुहिक भावनालाई निरन्तरता दिएको थियो । बेला बेला चर्चामा आइरहने थबाङ संविधानसभाको प्रारम्भिक मस्यौदाको सुझाव संकलनको पनि विरोधमा उभिएको छ ।

रोल्पाकै बुढागाउँमा कालोझण्डा

यता रोल्पाकै दक्षिणपश्चिम क्षेत्रको बुढागाउँ गाविसमा सुझाव संकलनका लागि पुगेको टोलीलाई चन्द नेतृत्वको नेकपा माओवादीका जिल्ला कार्यालय सचिव जागृतिको नेतृत्वको माओवादी कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् । सुझाव संकलनका लागि त्यहाँ पुगेका संकलन टोलीलाई विरोध स्वरुप कालो झण्डा देखाइएको नेकपा माओवादी रोल्पाले बताएको छ ।
यसैगरी पूर्वी रोल्पाकै फगाम गाविसमा पनि मस्यौदामाथिको छलफल वैद्य माओवादी र चन्द माओवादीका कार्यकर्ताले अवरोध पु¥याएका छन् । आइतबार त्यहाँ पुगेको टोलीले मस्यौदा वितरण तथा सुझाव संकलनका लागि कार्य गर्न खोज्दा उनीहरुले अवरोध गरेको त्यहाँ पुगेका कर्मचारी हेमराज महराले जानकारी दिएका छन् । रोल्पाका विभिन्न क्षेत्रमा कार्यविभाजनसहित माओवादी कार्यकर्ताहरु सुझाव संकलनको विरोधमा खटिएको माओवादी स्रोतले बताएको छ ।
पूरानै संविधानलाई नाम मात्र फेरेर ल्याउन खोजेको भन्दै माओवादीले विरोध जनाउँदै आएको छ । संविधानसभाको दोस्रो निर्वाचनलाई समेत वहिष्कार गरेको नेकपा माओवादीले सुझाव संकलनको कार्यलाई सफल हुन नदिन केन्द्रदेखि नै सर्कुलर गरेको बुझिएको छ । रातोपाटीबाट साभार