धादिङ । विनासकारी भुकम्पको कारण घरबार बिहिन भएकाहरुलाई दैवी प्रकोप उद्धार समिति धादिङले पुनस्थापनाको व्यवस्था मिलाएको छ । बैशाख १२ गते र त्यसयता गएको विनासकारी भुकम्पका कारण विस्थापित भएकाहरुलाई धादिङ जिल्लाका विभिन्न स्थानहरुमा बसोबासको व्यवस्था मिलाइएको छ ।
जोखिमपुर्ण स्थानहरुमा बसोवास गरिरहेका भुकम्प पिडितरुलाई अस्थाई रुपमा बसोवास गर्न व्यवस्था मिलाइएको र दैवी प्रकोप उद्धार समितिले तोकेका स्थानहरुमा वसोवास गर्दा तीन महिनाका लागि अस्थाई बसोवासको ब्यवस्था जिल्ला दैवि प्रकोप उद्धार समिति धादिङले मिलाउने गरी योजना बनाइएको बताइएको छ ।
अस्थायी बसोबासको व्यवस्था मिलाइएका स्थानहरुमा री गाउँ विकास समिति वडा नं. ५ रिचेत, काम्राड., री ९ कन्द्राङ, कराङ र चेप्राङका पीडितहरुलाई निलकण्ठ नगरपालिका वडा नं. १२ स्थित निजी जग्गामा बसोबासको व्यवस्था मिलाइएको छ ।
त्यसैगरी री ७, ताजिम्राङका पीडितलाई ससादेउराली मा.वि.पछाडी निजी जग्गा री ९ किचेत गाउ पिडितलाई नीलकण्ठ न.पा. १२ को आँपस्वारा भन्ने ठाउको पर्ति जग्गामा राखिने भएको छ ।
लापा गाविसको वडा नं. १, ३, ६ र ७ कपुरगाउ, झाक्रीटोल, लामाटोल, कुप्चेत, रिचेत, नेवेरको आधाबस्ती, तायुङ र भ्रमताङ काम पारी सांकोष कुमालगाउँ निजी जग्गामा राखिने भएको छ ।
लापा २ छुम्राङ, चपाङचेत, तिङचेत, तेन्चेत, कप्चेत पिडितहरुलाइ सांकोष गा.वि.स को धन्सार पाखा निजी जग्गामा, लापा ३ नेवेरको आधा वस्तीका पिडितहरुलाइ नीलकण्ठ न.पा. १२ को आँपस्वारा भन्ने ठाउको पर्ति जग्गा, लापा २ चपाङचेत र छुम्राङ, लापा २ कच्चेत र तेन्चेतको आधा वस्ती, अस्थायी बसोबास गर्न आग्रह गएिको छ ।
त्यसैगरी तिप्लिङ गाविसको वडा नं. १ र ८ सिम्पले, कामी गाउँ र दुर्पाङ, सेर्तुङ ९, हिन्दुङ, सेर्तुङ ८ खर्चगाउँ, झार्लाङ ८ क्युङ, थली, कान्द्राङ, गोरगाङ, च्यामथली, छापचेतका पिडितहरुलाइ नलाङ गा.वि.स. को डुम्रेखोला, दार्खा गाउँ विकास समितिको वडा नं. ८ धार्ना, सत्यदेवी ४ माउर, ब्रादी, थम्बु, सत्यदेवी ७ माथिल्लो नम्सारी, छुसा, सिन्जागाङ, सत्यदेवी ५ नयसिंह, सत्यदेवी ६ तल्लो नम्सारी, तल्लो मम्मई, वर्दान, गुम्दी ५ अम्मोटेका जोखिमपुर्ण वस्तिहरुलाई दार्खा र सत्यदेवी गा.वि.सको दारमे डाँडा र गौरे डाँडामा बसोबासको व्यवस्था गरिएको छ ।
फुलखर्क ९ मजुवा बेसी, बसेरी १ दलितबस्ती, बसेरी २ ठूलो मंसिरे, बसेरी ७ राईगाउँका पिडितहरुलाइ बसेरी गा.वि.स.को गाईखर्क चौरमा र मार्पाक ३ लामिडाँडा, पोल्चेत, वल्लोथला, बेसीटोल, मार्पाक ४ अर्चले, मार्पाक ७ केराबारी, बोराङका पिडितहरुलाइ त्रिपुरेस्वर, अचानेटार पुछार डाँडागाउँमा राखिने भएको छ । गोगनपानी तिनघरे गाउँका पिडितहरुलाइ गोगनपानी गा वि स वडा नं. ५ को रातमाटे डाडा र जोगीमारा भर्पाङका पिडितहरुलाइ जोगिमारा गा.वि.स.को मझिमटारको कृषी चुन उद्योग बसेको खाली जग्गामा राख्ने निर्णय भएको जिल्ला दैवि प्रकोप उद्धार समिति धादिडले जानकारी दिएको छ ।