सर्वस्व लुट्‍यो मोबाइलको प्रेमले

Avatar photo
Dhadingpost
शनिबार, साउन २, २०७२

प्रेम नेपाली,
फेसबुकमा केटाले पोखरामा डिपार्टमेन्टल स्टोर्स र चारतले घर छ भनेपछि तन, मन र धन सुम्पिएकी झापाकी युवती प्रहरीको सहयोगमा केटाको घर खोज्दै जाँदा ब्लकको एउटा कोठामा पुगिन् ।
aaaaaफेसबुकमै भेटिएका केटाको विश्वासमा परेर काखे बच्चा छाडी घरबाट गहना र सम्पत्ति लिएर हिँडेकी युवती लुटिएर अहिले घर न घाटकी भएकी छन् । मोबाइलमा मायाजालमा परेर धोका खानेहरूमा सोझा महिला र पुरुषहरू बढी छन् ।

फेसबुक, मोबाइल र इन्टरनेटमा आउने सबै कुरा साँचो होइनन्, झूठो र धोका हुनसक्छ भनेर सचेत बन्न जरुरी छ।तपाईंको घरपरिवारका जवान सदस्य मोबाइल र फेसबुकमा झुम्मिरहने गरेका छन् ? अथवा फेसबुकको अपरिचित व्यक्तिले तपाईंको प्रशंसा गर्दै अनुचित प्रस्ताव त राख्ने गरेको छैन ?

फेसबुक र मोबाइलमा भेटिएका अपरिचितलाई विश्वास गरेर मायाजालमा पर्दै हुनुहुन्छ भने होसियार हुनुहोस् । एकछिनको रमाइलोले तपाईंलाई जीवनभर धुरुधुरु रुवाउनसक्छ।

मोबाइल र फेसबुकमा साथी बनेर मीठा कुरा गर्दै अरूको जीउधनमाथि खेलवाड गर्नेहरू बढ्दै गएका छन्। लुटिनेमा अधिकांश वैदेशिक रोजगारमा गएकाका श्रीमतीहरू, माध्यमिक र उच्च शिक्षा पढ्दै गरेका छात्रा र परदेशमा धन कमाउन गएकाहरू बढी छन्।

कतिपय घटना चर्कंदै गएर समस्यामा पारेपछि पीडितहरू न्यायका लागि प्रहरी कार्यालयमा गुहार माग्न पुगेका पाइन्छन्। कास्की लेखनाथकी दुई वर्षीय छोराकी आमा कल्पना (नाम परिवर्तन) फेसबुकमा एक युवकसँग मायाजालमा फसिन्।

श्रीमान् धन कमाउन घरबाहिर गइरहने र कसैले रोकतोक नगर्ने हुनाले फुर्सदमा रहेकी उनी धेरैजसो फेसबुकमै च्याटमा व्ब्यस्त हुन्थिन्। त्यही क्रममा भेटिएका अपरिचित युवकसँग जीवन बिताउने भन्दै उनी गहना र सम्पत्ति लिई बच्चा त्यागेर हिँडिन्।

परिवारले सानो बच्चाको भविष्यका लागि भन्दै प्रहरीकहाँ उजुरी दिएर दुईपटकसम्म फर्काएर ल्याए पनि फेरि भाग्न छाडिनन्।परिवारले उनको मोबाइलको म्यासेजमा गएर हेर्दा अन्य युवकहरूसँग अश्लील कुराकानी र तस्बिर आदानप्रदान गरेको भेटेपछि स्वीकार्न नसक्ने बताए । परिवारको माया र साथबाट वञ्चित ती युवतीले यतिखेर मानसिक सन्तुलन गुमाएकी छन्।

फेसबुकमा भेटिएका युवकले पोखरामा डिपार्टमेन्टल स्टोर र चारतले घर छ भनेपछि झापाकी सरिता (नाम परिवर्तन) ले सजिलै विश्वास गरिन् । युवकलाई आफ्नो सहरमा बोलाएर तन, मन र धन सुम्पिदिइन्।

बिहे गर्छु भनेको केटाले पोखरा बोलाए पनि घरमा नलगेर बाहिर होटलमा राख्दै झुलाइरहेपछि धोका पाएको महसुस गर्दै उनले न्यायका लागि प्रहरी गुहारिन्। विभिन्न बहानामा केटीको चार लाख रुपैयाँसमेत खाइदिएकाले प्रहरीले छानबिन गर्दा केटा ब्लकको सानो कोठामा बस्दै आएको खुलासा भयो।

सम्पन्न परिवारका श्रीमान्सँग सुखद जीवन बिताउने उनको सपना यतिखेर भताभुंग भयो। लमजुङ घर भएकी रसिला (नाम परिवर्तन) को पर्वतका एक युवकसँग फेसबुकमै चिनजान भयो। कुराकानी गर्दै जाँदा एकले अर्कालाई मन पराएपछि दुवैजना विवाहबन्धनमा बाँधिए। बिहे गरेको केही वर्षपछि बच्चा जन्मियो।

श्रीमती, बच्चा र परिवारको सुखका लागि सम्पत्ति कमाउन युवक वैदेशिक रोजगारमा हिँडे। तर यता, फेसबुकमै च्याट र कुराकानी गर्ने लत बसेकी युवतीको अर्को केटासँग कुराकानीमात्रै भएन, मन पनि साटियो।

नयाँ प्रेमीसँगको कुराकानी र भेटमा होश गुमाएकी उनले काखे बच्चालाई समेत त्यागिन्। लोग्ने, परिवार र प्रहरीले समेत बच्चाका लागि घर फर्कन सम्झाउँदा उनले पटक्कै टेरिनन्।

साउदी अरबमा काम गर्न पुगेका कास्कीका २६ वर्षीय रामेशसँग फेसबुकमा भेटिएकी युवतीले सुरुमा मीठा कुराकानी गर्दागर्दै पछि पैसासमेत माग्न थालिन् । घरमा श्रीमती र दुई बच्चाको सुखका लागि परदेशमा पसिना बगाउन पुगेका उनले कमाइजति युवतीलाई नै पठाउन थाले।

नेपालमा फर्केर मोजमस्ती गर्ने योजना बनाएका उनले एअरपोर्टमा आएर फेसबुकमा भेटिएकी युवतीलाई फोन गरे। काठमाडौंमा नै लिन आउँछु र मजासँग घुमफिर गरौंला भनेकी युवतीको मोबाइल स्विच अफ भइरह्यो । फेसबुक खोलेर हेर्दा ब्लक गरिसकेकी रहिछन्।

पोखराको प्रस्याङमा डेरामा बस्दै आएकी २२ वर्षीया निशा बिहानैदेखि राति अबेरसम्म मोबाइल र फेसबुकमै व्यस्त हुन्छिन्। श्रीमान्ले कतारबाट पठाइदिएको आइप्याडमा नयाँनयाँ युवकसँग हाई हेल्लो भन्दै मीठामीठा कुराकानी गर्दै उपहार माग्नु उनको दिनचर्या नै हो।

आफूलाई अविवाहित बताउँदै फोनमा घन्टौंसम्म रल्लिएर कुरा गर्ने उनी रकम, मोबाइल, कपडादेखि रिजार्च कार्डको नम्बरसमेत माग्ने गर्छिन्।
सूचना र प्रविधिले धेरै सुविधा दिए पनि यसको गलत प्रयोगले बढाएका विकृतिका यी केही नमुना हुन्।

विशेष गरेर क्याम्पस पढ्ने तन्नेरी, परदेशीका श्रीमतीहरू, वैदेशिक रोजगारमा रहेकाहरू फेसबुकमा भेटिएकाहरूको मायाजालमा परेर घर न घाटका भएका छन्। परिवारका सदस्य र आफन्तलाई समेत झन्झटमा फसाएका छन्।

मोबाइलबाट मायाजालमा परेर धोका खानेमा सोझा महिला र पुरुषहरु बढी छन्।

धेरैजसो घटनामा ठगहरूले महिलाको धन, सम्पत्ति र जवानी मजासँग धुतेर छाडिदिने गरेका प्रहरीले जनाएको छ। फेसबुकमा झुन्डिरहने १८ वर्षीया बहिनीका कारण आफूले निकै सास्ती खेप्नु परेको पोखरा बिरौटामा बस्दै आएकी २३ वर्षीया एक महिलाले बताइन्।

बहिनी काखे बच्चा छोडेर फेरि पनि रुपैयाँ गुटमुट्याएर हिँडेको खबर दिएपछि भक्कानिँदै प्रहरी कार्यालयमा आइपुगेकी उनले रुँदै बिलौना गरिन्।’जतिखेर पनि फेसबुकमा हुन्थिन्, मोबाइल खोसेर हेर्दा, सुन्दरी, आई लभ यु, मिस यु, होटलमा कोठा लिएर बस्छु, के के लेखेको रहेछ’, उनले भनिन्, ‘विचरा लोग्नेले श्रीमती र बच्चालाई भनेर दिनरात नभनी काम गर्छन्।

ऊ भने घर छाडेर दुईचार दिन बेपत्ता भइरहने। अहिले पनि पैसा लिएर हिँडेकी घरबाट खबर आएपछि उजुरी दिन आएकी हुँ।’उनले पहिला पनि फेसबुकमा आउने केटाहरूले बहिनीले घरबाट लगेको सम्पत्ति सकेपछि अलपत्र पारेर छाडिदिएको बताइन्।

प्रहरीमा पछिल्लो समय अनुचित सम्बन्ध, धोका, जीउज्यानको नोक्सानी, पारिवारिक, सामाजिक र सांस्कृतिक विचलनका घटनाका मुद्दाहरू बढी पर्न थालेको छ। बढ्दो सहरीकरण, उपभोगवादी संस्कृतिले यस्ता विकृति बढेको जिल्ला प्रहरी कार्यालय कास्कीकी महिला तथा बालबालिका सेलकी प्रमुख चन्द्रा गुरुङले बताइन्।

‘वैदेशिक रोजागारमा गएकाका श्रीमती, भर्खर क्याम्पस पढ्ने युवतीहरू बढी मात्रामा फेसबुक र मोबाइलमा भेटिएकाहरूसँग लागेर घर नै छाडेर हिँड्ने गरेका छन्’, प्रहरी निरीक्षक गुरुङले भनिन्, ‘फेसबुकमा झूठो नाम, ठेगाना र फोटो हालेर अरूलाई फसाउनेहरू सक्रिय भइरहेका छन्।

कसैको जालमा आफू र अरूलाई फस्न नदिन सचेत बन्नुपर्छ।’ उनले झापाकी केटी ठगिएको घटनामा पनि राजु अधिकारी नामको केटाले अर्कै नाम र ठेगाना राखेर केटीको चार लाख रुपैयाँ खाएर धोका दिएको जानकारी दिइन्।

‘फेसबुकमै साथी बनेर विवाह गरेका र पछि आफूले भनेजस्तो नभएर झगडा गर्दै बिछोड भएका घटना बढिरहेका छन्’, उनले भनिन्, ‘पहिला ठीक बेठीक केही नछुट्ट्याईकन, कसैले भनेको नसुनीकन आपूmखुसी निर्णय गर्छन्। पछि धोका भयो भन्दै झगडा गर्दै छुट्टिनु पर्‍यो भन्दै आउँछन्।’

आफन्तलाई कुबाटोमा जान नदिन अभिभावकले अनावश्यक कुराहरू दिन नहुने उनले बताइन्। ‘विदेशमा भएकाहरूले घरमा कुराकानी गर्न सजिलो होला भनेर महँगो मोबाइल पठाइदिएका हुन्छन्’, उनले भनिन्, ‘कतिपयले त्यही चलाउँदाचलाउँदै अर्कोसँग लागेर जिन्दगी बर्बाद पारेका छन्।’ श्रीमान् घर आउँदा श्रीमती र सम्पत्ति दुवै नरहने स्थिति रहेको र कतिपय पुरुषले भने वैदेशिक रोजगारबाट फर्कंदा अर्की श्रीमतीसमेत ल्याएका घटना प्रहरीमा आउने गरेका छन्।

घटनाले साह्रै जटिल मोड लिएपछि प्रहरी कार्यालयमा आइपुग्ने बताउँदै उनले धेरैजसोलाई सम्झाएर मिलापत्र गराई पठाइने गरेको जानकारी दिइन्। दिनहुँजसो प्रहरीमा आइरहने बढ्दो महत्‍वाकांक्षा, लोभ, धोका र स्वार्थले प्रेरित अधिकांश घटना केलाउँदै जाँदा मोबाइल र फेसबुकले सम्बन्ध जोडेको भेटिएको उनले बताइन्।

अभिभावकले पनि छोराछोरी र परिवारका सदस्यको गतिविधि र चालचलनमाथि निगरानी राख्ने, अनावश्यक माग पूरा गर्न नहुने उनको सुझाव छ।
जिल्ला प्रहरी कार्यालयमा विभिन्न ब्लफ कल गरेर हैरानी बनाएका कारण खोजबिन गरिदिन दिनहुँ उजुरी आउने गरेको छ।

प्रहरीले घटनाको अनुसन्धान गरी अपराधी पत्ता लगाउन मोबाइलमा कल डिटेल र इन्टरनेट प्रयोग गरिएका विषयबारे अध्ययन गर्ने गरेको छ।
‘फसाउनेलाई कडा कारबाही गरिनुपर्छ’ जसरी हुन्छ धन कमाउने र मोजमस्ती गर्ने उपभोगवादी संस्कृति विकास हुँदै जाँदा समाजमा विकृति र अपराध बढेको समाजशास्त्री डा. विश्वकल्याण पराजुलीले बताए।

मोबाइल, फेसबुक, इन्टरनेटमार्फत अरूलाई सजिलै झुक्याएर स्वार्थ पूरा गर्न सकिने हुनाले ठगहरूले सूचनाप्रविधिको प्रयोग बढी गर्न थालेका उनले बताए। ‘बदलिँदो विश्वपरिवेशमा हाम्रोजस्तो अविकसित देशका बासिन्दालाई फेसबुक, मोबाइल, ईमेल, इन्टरनेटबारे पूर्ण जानकारी छैन’, उनले भने, ‘यी साधन प्रयोग गरी झूटो परिचय र विवरण राखेर अरूलाई धोका दिन सकिन्छ। तर अधिकांश नेपाली यसलाई पूर्ण सत्य ठानेर अरूले राखेको जालमा पर्छन् र धोका खान्छन्।

उनले पहिला ईमेलमा तपाईंलाई करोडौं रकमको चिट्ठा पर्‍यो, बधाई छ, करबापतको रकम जम्मा गरेर रकम लैजानुहोस् भन्दै आएको झूठो विवरणमा धेरै नेपाली विश्वासमा परेर ठगिएका बताए। अहिले भने फेसबुकलाई पूरै सत्य मान्ने कमजोर बुझाइ भएकाहरूलाई ठगी खानेहरू बढिरहेका उनले बताए।

इन्टरनेटमा अनेक पक्ष समेटिए पनि यौन र अश्लील विषयले धेरैलाई आकर्षित गर्ने भएकाले त्यो हेरेर प्रयोग गर्न खोज्दा विचलन आउने उनको भनाइ छ।‘सोझासीधा किशोरी, महिला र पुरुषहरू मोबाइल र फेसबुकमा जे आउँछ त्यसैलाई शतप्रतिशत विश्वास गर्छन्’, उनले भने, ‘अनि ठगहरूले मीठा कुरा गर्दै, आकर्षक प्रलोभन देखाएर लुट्नसम्म लुटेर बिचल्लीमा पार्छन्।’ महिलाहरू सीधा हुने र अरूलाई चाँडै विश्वास गर्ने हुनाले पनि सजिलै लुटिने गरेको उनले बताए।

उनले नियोजित ढंगले लुट्नेहरूलाई कानुन कार्यान्वयन गर्ने निकायले कडा कारबाही गर्नुपर्ने र सर्वसाधारणले मोबाइल, फेसबुक र इन्टरनेटमा झूठो विवरण पनि आउनसक्ने हुनाले विश्वास गरिहाल्न हुँदैन भनेर सचेत बन्न सल्लाह दिए।
साभारः अन्नपूर्ण पोष्ट