सरकारी राहत माग्दा सिडियोले उल्टै हपारे

Avatar photo
Dhadingpost
बुधबार, असार ३०, २०७२

111धादिङ, असार ३० गते । बैशाख १२ गते गएको विनाशकारी भूकम्प पछि राज्यले दिनुपर्ने १५ हजार राहत रकम तत्काल उपलब्ध गराउन नीलकण्ठ नगरवासीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउन गएका नगरवासीलाई प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले अभद्र व्यवहार गर्दै हप्काएर पठाउनु भएको थियो । नगरवासीका नेतृत्व गरेर गएका नन्द प्रसाद रिजाल लगायतलाई प्रजिअ घिमिरेले राहत रकम वितरण दबाबको भरमा नहुने बताउँदै राहतका नाममा राजनीति नगर्न चेतावनी दिनुभएको थियो ।
प्रजिअ सामु नीलकण्ठ नगरवासीका तर्फबाट समयमा राहत उपलब्ध गराउनुपर्ने, समानुपातिक राहत वितरण हुनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउनका लागि नीलकण्ठ नगरपालिका स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो । प्रमुख जिल्ला अधिकारीबाट कार्यकक्षमा नै अपमानित भएपछि नगरवासीले प्रशासन परिसरमा नाराबाजी गरेका थिए । नगरवासीलाई सम्बोधन गर्दै पूर्व गाविस अध्यक्ष नन्दप्रसाद रिजालले राहत वितरणमा काखा र पाखा भएको भन्दै सात दिनभित्र राहत रकम उपलब्ध नगराएमा कडा आन्दोलन गर्ने बताउनुभयो । उता प्रमुख जिल्ला अधिकारी घिमिरेले गृहबाट रकम नआइ राहत रकम वितरण सम्भव नभएको बताउनुभएको थियो ।
भुकम्पबाट घरबार विहीन भएका जनता आफ्ना गुनासो लिएर जिल्लाका प्रमुखलाई भेट्न जाँदा गाली गलौज गर्दै अभद्र व्यवहार प्रस्तुत गर्नु निन्दनीय भएको नगरवासीका नेतृत्व गरेर गएका नन्दप्रसाद रिजालले प्रतिक्रिया दिनुभएको छ । रिजालले प्रमुख जिल्ला अधिकारीको व्यवहारले दुखित बनाएको बताउँदै आफ्नो व्यवहार सच्याएर प्रमुख जिल्ला अधिकारी जस्तो गरिमामय पदको इज्जत जोगाइ राख्न सुझाव दिनुभयो । त्यसै गरी ज्ञापन पत्र बुझाउन सहभागि भएका स्थानीय भवनाथ अधिकारीले २० औँ वर्षदेखि जिल्ला प्रशासन कार्यालय जाँदा पहिलो पटक प्रमुख जिल्ला अधिकारीको घृणित व्यवहार देख्नु परेकोमा आश्चर्य व्यक्त गर्दै सरकारको प्रतिनिधि बनेर आएका प्रमुख जिल्ला अधिकारी जनताको गुनासो सुन्न हिच्किचाउन नहुने बताउनु भयो ।
ज्ञापन पत्र बुझाउन जानुभएका समाजसेवी झंकनारायण श्रेष्ठले प्रमुख जिल्ला अधिकारीले आलाकाच्चा व्यवहार प्रस्तुत गरेर पीडामा परेका जनतालाई थप निराश बनाएर पीडा थप्ने काम गरेको बताउनु भयो । दुईचार जना जनता आफ्ना गुनासा लिएर जाँदा त सल्ट्याउन नसक्ने प्रमुख जिल्ला अधिकारीले अझ ठूला ठूला विपत्तिको सामना कसरी गर्लान् भन्ने प्रश्न उब्जिएको श्रेष्ठले जिज्ञासा प्रकट गरे ।
ज्ञापन पत्र बुझाउन गएका स्थानीयलाई प्रजिअले कार्यकक्षबाट निस्कन निर्देशन दिएपछि नगरका अगुवाहरु जनता सामु आएका थिए । आक्रोशित भिडले प्रशासन कार्यालयमा नारावाजी गर्दै घेराउ गर्ने प्रयास गरेपछि नगरका अगुवाहरुले नै सात दिनसम्म पर्खने भन्दै उत्तेजित भिडलाई साम्य पारेका थिए ।
नगरवासीले प्रशासन घेराउ गरेको र ज्ञापन पत्र बुझाएको समाचार सम्प्रेषणका लागि गएका पत्रकारहरुलाई समेत प्रमुख जिल्ला अधिकारीले तस्विर नखिच्न भन्दै आक्रोश व्यक्त गरेका थिए । निलकण्ठ नगरपालिकामा ८२ सय ८० घर पूर्ण क्षतिग्रष्त छन् । जसमा १२ करोड बयासी लाख रुपियाँ वितरण हुनुपर्नेमा हालसम्म १ करोड ६५ लाख रुपियाँमात्र वितरण भएको छ ।