राहत सामाग्री वितरणमा गाविस सचिवको अनियमितता देखियो

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ ११, २०७२

आशिष ठकुरी,
धादिङ जेष्ठ ११ । धादिङ जिवनपुरका विभिन्न वडामा बाँडिएको राहत सामाग्रीमा अनियमितता भएको पाईएको छ । जिल्ला विकास समिती धादिङबाट प्रदान गरीएको ९ लाख रुपैँयाको विभिन्न खाद्यान्न सामाग्री खरीद गरी गाविस बाट बाँडिएको राहत सामाग्रीमा अनियमितता भएको पाईएको हो ।
गाविसमा सर्वदलीय बैठक बसेर सम्पुर्ण वडाका प्रत्येक भुकम्प पिडीत घरधुरीलाई दाल, नुन, तेल, मसला राहत वितरण गर्ने भनिए पनि पहिलो चरणमा बाँडिएको राहत सामाग्रीमा मसला नबाँडिएको र दालमा तौल कम गरेर बाँडिएको पाईएको छ । वडा नम्बर १, २, ३ मा वितरण गरीएको राहत सामाग्रीमा दाल एक किलोग्राममा ३०० ग्राम कम गरी बाँडिएको र मसाला वितरण नगरीएको जिवनपुर १ बाह्रबिसेका महेश्वर सुबेदीले बताउनुभयो । यसैगरी भारतको ईनिडयन एम्बेसीबाट राहतको नाममा आएको नुन पनि गाविसले आफैँले खरीद गरेर वितरण गरेको बताएपछि स्थानिय आक्रोशित भएका छन् ।
गाविस सचिव बिन्दा कुमारी खड्काले जिल्ला विकास समिती धादिङबाट राहतका लागि प्रदान गरीएको ९ लाख रुपैँयामा केहि राहत सामाग्री आफु खुसी खरीद गरी अनियमितता गरेको एमाओवादीका बासुदेव बास्कोटाले बताउनुभएको छ ।