स्वाइन फ्लुबाट संक्रमित नेकपा नेता रामनाथ ढकालको निधन

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २२, २०७१

ramnath dhakalधादिङ चैत्र २२ गते । स्वाइन फ्लुबाट संक्रमित नेकपा एमालेका पोलिटब्यूरो सदस्य रामनाथ ढकालको स्वाइन फ्लूबाट निधन भएको छ । ढकालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।
एमाले पोलिटब्युरो सदस्य एवं लुम्बिनी अञ्चल ईञ्चार्ज रामनाथ ढकालको स्वाइनफ्लुले निधन भएको छ । ५२ बर्षका ढकालको उपचारको क्रममा काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा दिउँसो पौने २ बजे निधन भएको अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँलाई स्वाइन फ्लुसँगै क्षयरोग र क्यान्सर पनि थियो । स्वाइनफ्लु पुष्टि भएपछि थप उपचारका लागि ढकाललाई नयाँ दिल्ली लैजाने तयारी भएको थियो । स्वाइन फ्लू संक्रमण भएपछि ढकाललाई चैत १४ गते अस्पताल भर्ना गरिएको थियो ।
२०५१ सालमा गुल्मी– १ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित ढकाल २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा रूपन्देही क्षेत्र नं ५ बाट विजयी हुनुभएको थियो ।
नेकपा एमालेले चिकित्सकहरूको अथक प्रयासका बाबजुद उपचारको क्रममै भएको उहाँको दुःखद निधनले सिङ्गो पार्टी असाध्यै मर्माहत भएको जनाएको छ । आज विज्ञप्ती निकालेर एमालले नेता रामनाथ ढकालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार ढकालको पार्थिव शरीरलाई भोलि बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि श्रद्धान्जलीका लागि पार्टी कार्यालय बल्खुमा राखेर पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।