नौविसेकी सरस्वतीले नागरिकता लिन ३१ महिना लाग्यो

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १९, २०७१

saraswati_414343031धादिङ । विवाहपछि पतिको मृत्यु भएर नागरिकता प्राप्त गर्नबाट वञ्चित नौबिसे ७ निवासी सरस्वती भुजेलले अन्तत: मुद्दा लडेरै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । नेपाली नागरिक बन्न पाऊँ भनेर जिल्ला प्रशासन कार्यालय धादिङमा निवेदन दिएको दुई वर्ष सात महिनापछि उनी नागरिकता हात पार्न सफल भएकी हुन्।
विवाहपछि सरस्वतीका पतिको मृत्यु भएको र घरपरिवारसमेत नचिनेका कारण उनले वंशजकै आधारमा आमाबुबाको नाम राखी नागरिकता पाउन जिल्ला प्रशासन कार्यालय धादिङमा ०६९ साउन ३० गते निवेदन दिएकी थिइन् ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले विवाह भएकी महिलालाई बाबुआमाको सनाखतबाट वंशजका आधारमा नागरिकता प्रदान गर्न नमिल्ने उल्लेख गरी नागरिकता नदिएपछि सरस्वतीले ०६९ चैत १९ गते पुनरावेदन अदालत पाटनमा नेपाली नागरिकता पाउन आदेशको माग गर्दै रिट दायर गरेकी थिइन्।
सरस्वतीले रिट दायर गरेपछि पुनरावेदन अदालतले सरस्वतीलाई नागरिकता किन नदिएको हो, त्यस सम्बन्धमा खुलाई पठाउन लिखित जबाफ माग गरे पनि खरेलले लिखित जबाफसमेत दिएका थिएनन् । घरपरिवारसमेत नचिनेका व्यक्तिसँग विवाह गरेर दुईवटा बच्चा जन्माएकी सरस्वतीले आफ्नो नागरिकता नहुँदा बच्चाको जन्मदर्ता गर्न नपाएको धिकारकर्मीसामु गुनासो गर्ने गरेकी थिइन् । बालबालिकाको जन्मदर्ता नहुँदा विद्यालयले समेत भर्ना लिन नमानेको र अधिकारकर्मीको पहलमा पछि जन्मदर्ता उपलब्ध गराउने गरी बालबालिकालाई िद्यालयले भर्ना लिएको थियो ।
नागरिकताका पाउन रिट परेपछि पुनरावेदन अदालत पाटनले सरस्वतीलाई नागरिकता दिनेसम्बन्धी निर्णय छिटो गर्न २०७० कात्तिक २० गते आदेश जारी गरेको थियो । गृह मन्त्रालयले २०६९ माघ ७ को मितिमा २०६९ माघ ५ को निर्णय लागू गर्न भनी ७५ वटै जिल्ला प्रशासन कार्यालयका नाममा गरेको सातबुँदे परिपत्रको बुँदा १ मा नै विवाहित महिलाले आफ्ना बाबुआमाका नामबाट वंशजका आधारमा नागरिकता दिन आदेश गरेको छ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सरस्वतीले अदालत नगईकन पहिले नै नागरिकता पाउनुपर्ने बताए। उनले भने, ‘पहिले किन र के आधारमा उनलाई नागरिकता नदिएको हो, थाहा भएन तर प्रक्रियाअनुसार उनलाई पहिले पनि नागरिकता दिन मिल्थ्यो र अहिले गृहले परिपत्र नै जारी गरेपछि त झन् सजिलो भयो ।’प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वंशजका आधारमा सरस्वतीलाई नागरिकता दिन कुनै बाधा नपर्ने भन्दै मंगलबार नागरिकता प्रदान गरे। नागरिकता पाएपछि सरस्वतीले खुसी हुँदै भनिन्, ‘अब यो नागरिकताको प्रयोग गरेर सबैभन्दा पहिले बच्चाहरूको जन्मदर्ता गराउँछु।’ नौबिसेबाट सरस्वतीको नागरिकता दिनका लागि सनाखत गर्न आएकी अधिकारकर्मी अप्सरा उप्रेतीले अदालतबाट मुद्दा लडेरै भए पनि एक महिला आफ्नो अधिकार स्थापित गर्न सफल भएको प्रतिक्रिया दिइन्। धादिङबाट मनिस दुवाडीले अन्नपूर्ण पोष्टमा लेख्नु भएको खवर हो यो ।