रोनाल्डोले बनाए सबैभन्दा बढी ह्याट्रिकको रेकर्ड

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २१, २०७१

म्याड्रिड, मंसिर २१ – क्रिस्टियानो रोनाल्डोले दुईवटा व्यक्तिगत कोशेढुंगा पार गर्दा रियल म्याड्रिडले सेल्टा भिगोलाई ३–० गोलले पराजित गरेको छ ।

आफ्नो गृहमैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा लगातार १८ औं खेलमा जित निकाल्दै रियलले लगातार खेल जित्ने रेकर्ड पनि बराबरी गरेको छ । यसअघि फ्रांक राइकार्डको बार्सिलोनाले अक्टोबर २००५ र जनवारी २००६ का बीच लगातार १८ खेल जित्दै रेकर्ड राखेका थिए ।

पर्चुगलका फरवार्ड रोनाल्डोले शनिबार राती भएको खेलमा ह्याट्रिक गर्दै स्पेनिस ला लिगामा सबैभन्दा बढी ह्याट्रिक गर्ने रेकर्ड तोडेका हुन् । उनको यो २३ औं ह्याट्रिक हो । ह्याट्रिकसँगै उनले स्पेनिस ला लिगामा आफ्नो गोल संख्या २०० पुर्याएका छन् । उनले मात्र १७८ औं खेलमा यो कोशेढुंगा पार गरेका हुन् ।

रोनाल्डोले खेलको ३६, ६५ र ८१ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

जितसँगै लिगमा रियल शीर्ष स्थानमा कामय रहेको छ ।

सन् २०१४ को फिफा वर्ष खेलाडी जित्ने दाउमा रहेका रोनाल्डो खेल सकिन केही समयअघि मैदान छाड्दा बर्नाबेउमा उपस्थित हजारौं समर्थकले उठेर विदाई गरेका थिए ।

उता, एथ्लेटिको म्याड्डिले इल्चेलाई २–० गोलले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लेको छ । तर, आइतबार ईस्पानियोललाई पराजित गरे बार्सिलोना पुनः दोस्रो स्थानमा उक्लने छ ।