नम्रताको निःसन्तान स्वरुप (फोटो कथा)

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २१, २०७१

विवाहित महिला त्यतिबेलासम्म आफूलाई अपूर्ण महसुस गर्छन्, जबसम्म उनीहरु आमा बन्दैनन् । आमा बन्न नसक्नुको पीडा आफ्नो निजी सुखसँग मात्र हैन, परिवार र समाजसँग पनि गाँसिएको हुन्छ । निसन्तान आमाले ‘अपुत्री’को आरोप खेप्दै समाजमा अपहेलित हुनुपर्छ ।

यही दुःखद यथार्थलाई जीवन्त अभियनमा उतारेकी छिन् नेपाली सिने जगतकी सुन्दर नायिका नम्रता श्रेष्ठले ।
आजभन्दा ८० वर्ष पहिले लेखिएको स्पेनिस नाटक ‘यार्मा’ यतिबेला काठमाण्डौमा प्रर्दशन भइरहेको छ । यार्मा अर्थात निसन्तान महिलाको भूमिका निर्वाह गरेकी छिन् नम्रताले । नम्रताको अभिनय यति जोडदार छ कि दर्शकले बेलाबेला उनको दुःखमा लामो सास फेर्छन् ।

‘म तिर्खाएकी छु, तर पानी खान एउटा गिलास पनि छैन, बच्चै बेला कुनै पुरुषले छुँदा कापेको मेरो शरीर बिहे भएको यतिका बर्षसम्म तात्न पाएन’, म सुत्ने तन्ना कहिल्यै मैलिएन’ जस्ता मार्मिक र बलिया सम्वादमार्फत् नम्रताले निसन्तान महिलाको मनोदशालाई जीवन्त तुल्याएकी छिन् ।

पतिले आफ्नो सन्तान चाहना नबुझ्ने र ब्यापार र भेडापालनमा मात्र रुची दिने गर्दा उनी विक्षिप्त छिन् । अन्त्यमा नम्रता आफ्नै पतिको हत्या गर्न पछि पर्दिनन् । पतिको भूमिकामा छन् राजकुमार पुडासैनी ।