`केटीहरू मेरो मुस्कानको फ्यान` : अनमोल केसी

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २१, २०७१

अभिनेता भुवन केसीका छोरा हुन् अनमोल केसी । फिल्म ‘होस्टेल’को सफलतापछि एकाएक चुलिएको उनको चर्चा युवतीमाझ अझ लोकप्रिय बन्दै छ । हेर्दा उनी जती चकलेटी र प्लेब्वाइ लाग्छन्, वास्तवमा त्यस्ता छैनन्, उनी भन्छन् । एकान्तमा रमाउन चाहने अनमोलको अभिनय रहेको फिल्म ‘जेरी’ कात्तिक २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

तपाईंको फिल्म ‘जेरी’ प्रदर्शनको क्रममा छ, कस्तो प्रतिक्रिया पाउंदै हुनुहुन्छ ?
म एकदमै खुशी छु । मलाई निक्कै राम्रो रेस्पोन्स पनि आइरहेको छ । सबैले मलाई साथ दिनुभएको छ । ‘होस्टेल’ले जुन सफलता दिलायो त्यो भन्दा धेरै दर्शकले ‘जेरी’बाट पाउनुहुन्छ ।

के फरक छ ‘होस्टेल’ र ‘जेरी’मा ?
‘होस्टेल’मा म बाबु आमालाई मतलब नगर्ने भूमिकामा थिएँ । तर, ‘जेरी’मा म बाबु आमालाई खुबै माया गर्छु । तर, जीवनलाई कहिले सिरियस रुपमा नलिने भूमिका मैले निर्वाह गरेको छु । ‘जेरी’मा म धेरै केटी घुमाउँछु, प्लेव्वाय जस्तै।

वास्तविक जीवनमा भने कत्तिको केटी घुमाउनुहुन्छ ?
म वास्तविक जीवनमा धेरै फरक छु । मलाई एक्लै बस्न मन लाग्छ । पार्टी खासै जान मन लाग्दैन । घरमै बस्न पाएको खण्डमा आनन्द लाग्छ । मलाई अरुलाई धेरै सम्मान दिन मन लाग्छ । सबैसँग राम्रो बनुँ भन्ने लाग्छ ।

तर, तपाईंलाई केटी धेरै घुमाउँछ भन्छन् नि !
म केटी घुमाउने खालको छैन । तर, मेरो फ्यानहरु केटी धेरै भएकाले पनि यस्तो सोच आएको होला ।

कस्तो केटी मनपर्छ ?
मलाई केटी त क्यूट नै मनपर्छ । हट त उसिनेको आलु पनि हुन्छ ।

तपाईंको विचारमा अभिनय के हो त ?
अभिनय वास्तविक जीवनलाई विर्सेर गर्नुपर्छ । निर्देशकले स्क्रिप्टमा दिएको कुरालाई वास्तविक जीवनभन्दा पर बसेर पात्रमा भिज्न सक्नुपर्छ ।

भुवन केसीको छोरा हुनुमा फाइदा र बेफाइदा के छन् ?
फाइदा धेरै छ । ट्राफिकको चेकिडमा पर्नु पर्दैन । रेष्टुरेन्टमा पनि सम्मान पाइन्छ । हरेक कुरामा छुट छ । अरुले हेर्ने दुष्टिकोण पनि विल्कुल फरक छ । तर, ममा ड्याडको छायाँ परेको छ । उहाँले थुप्रै हिट फिल्म दिनु भएको छ । मेरो एउटा फिल्म असफल हुने वित्तिकै नराम्रो चर्चा गर्ने धेरै हुन्छन् । फेरी भुवन केसी आफैमा मेरो लागि चुनौती हो ।

तपाईंलाई कुन अभिनेत्रीसँग काम गर्न मन छ ?
अभिनेत्री करिष्मा मानन्धर भने निकै मन पर्छ । उहाँसँग काम गर्न मन छ । पछिल्लो समयका अभिनेत्रीमा काम गरौं गरौं लाग्ने कोही छैन । मलाई नयाँँ अनुहारसँग नै काम गर्न मज्जा लाग्छ ।

तपाईं अहिले सिंगल त हुनुहुन्न होला ?
म सिंगल नै छु । स्कुल पढ्दा मैलै धेरै गर्लफ्रेन्ड बनाएँ । सानोमा निकै प्लेव्याय थिएँ । तर, अहिले काम गर्ने समय छ । गर्लफ्रेन्ड बनायो भने किचकिच मात्र सुन्नु पर्छ ।

आफूलाई कसरी मेन्टेन गर्नुहुन्छ ?
म बिहान व्यायाम गर्छु । हर्स राइडिङ जाने, स्विमिड गर्ने मेरो बानी छ । म ट्राभल गर्न पनि रूचाउँछु । यसले दिमाग बढाउँछ ।

तपाईंको यूवतीहरुले कुन कुरा बढी मन पराउँछन् जस्तो लाग्छ ?
मेरो मुस्कानको धेरै फ्यान छन् । जुन मेरो ड्याडमा पनि थियो ।

घरमा ममी र ड्याडीविच आएका समस्या र भूवन केसीका विभिन्न स्क्यान्डलले जीवनमा कुनै असर गर्यो कि गरेन ?
मलाई खासै स्क्यान्डलले असर गरेन । म सानैबाट होस्टेलमा बसेर पढ्दै आएँ । म घरमा पनि खासै गफ गर्दिन । ड्याड र मेरो बिषय भन्दा बाहिर रहेर खासै कुरा हुँदैन । उहाँ मलाई कामको कुरा मात्र सिकाउनुहुन्छ । उहाँको जीवन उहाँलाई जीउन दिनुपर्छ, मैले आफ्नो जीवन आफ्नै तरिकाबाट जिएको छु ।

ममीसँग कस्तो छ सम्बन्ध ?
उहाँसँग पनि मेरो सम्बन्ध निक्कै राम्रो छ । हामी हप्तामा ३ पटकसम्म भेट्छौं । खाना खान जान्छौं । म आज जहाँ छु, यसमा मेरो ड्याडी र ममीको उत्तिकै हात छ ।

अबको योजना के छ त ?
मेरो दिमागमा फिल्म नगरी र यसमा काम गर्ने सोचाइ भन्दा अरु केही पनि छैन । म फिल्म क्षेत्रलाई नै अगाडि लैजान चाहन्छु । नेपाली फिल्म हेर्दै छु भन्दा लाज मान्ने बर्गलाई म गर्वका साथ नेपाली फिल्म हेर्दै छु भन्न सक्ने स्थानमा ल्याउन चाहन्छु ।

आफ्नो कमजोरी के जस्तो लाग्छ ?
मैले धेरै पढ्न सकिन । सायद यही नै मेरो कमजोरी होला ।

कस्ता फिल्म खेल्ने योजना हो त ?

मेरो ध्यान अहिले लभ स्टोरी फिल्ममा नै छ । अहिले यो बाहेक अरू फिल्ममा फिट पनि हुन्न जस्तो लाग्छ । उमेर बढ्दै गएपछि म एक्सन फिल्ममा पनि काम गर्ने छु ।