`रहरले शरिर बेचिन्न` : केकी अधिकारी

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २१, २०७१

अभिनेत्री केकी अधिकारी पछिल्लो पुस्ताकी चर्चित अभिनेत्री हुन् । आफूले पाएको भूमिकालाई न्याय गर्न सक्ने अभिनेत्रीको रूपमा स्थान बनाएकी केकीको पछिल्लो फिल्म ‘श्री ५ अम्बरे’ प्रदर्शनको क्रममा छ । मंसिर ५ गते रिलिज हुन लागेको यो फिल्म भित्र केकी कसरी देखिनेछिन् त ? फिल्मीखबरले बुझ्ने प्रयास गरेको छ ।

`श्री ५ अम्बरे`को ट्रेलरमा असन्तुष्टी जनाउँदै तपाई प्रचारमा हिंड्दिन भन्नु भएको थियो रे ! वास्तविकता के हो ?
मैले ट्रेलरमा असन्तुष्टी जनाएको होइन । मिडियामा समाचारलाई कुन तबरले प्रस्तुत गरियो भन्ने कुरा मुख्य हो । मिडियामा आएको समाचारपछि मैले निर्माणपक्षलाई कुन तबरले फिल्मको प्रचार गर्न खोज्नु भएको हो भनेर सोधेकी थिएँ । मैले आफ्नो फिल्मलाई सधैं नै प्रचार गरेकी छु । मेरो उत्तरदायित्व पनि हो । अझ ‘श्री ५ अम्बरे’ त मेरो लागि विशेष छ ।

असुन्तुष्टी केमा त ?
मैले धेरै व्यक्तिलाई कन्भिन्स गरेर मात्र यो क्षेत्रमा आएकी छु । यसैले अलिकति समाचारमा मिडिया पनि ‘सेन्सेटिभ’ भैदियोस् भन्ने मेरो चाहना हो । ‘केकी अधिकारी पैसा कमाउन वेश्यावृत्तीमा’, ‘केकी अधिकारी शरीर बेच्दै’ भनेर समाचार आउँदा मानिसले के सोच्छन् ? सबै मानिसमा समाचार र फिल्मको ट्रेलर हेर्ने समय हुँदैन । यसैले, यस्तो बिषयमा ध्यान दिए हुन्थ्यो भन्ने मात्र हो । लामो समय लगाएर गरेको आफ्नो इमेजको ‘मेन्टेन’लाई यस्ता खालका शिर्षकले सही बाटोमा लान मद्दत गर्दैन ।

त्यसो भए यस्ता चरित्र किन नै निर्वाह नगर्ने त ?
म सधैं कुर्ता सुरुवाल मात्र लगाउने, सोझी केटी बनेर मात्र भूमिका गर्न कहाँ सक्छु र ? हामीले पनि दृश्यलाई दायरामा राखेर काम गर्ने गर्छौ । समाज रूपान्तरणका लागि समाजले पचाउन सक्ने भूमिका गर्न पर्छ र गर्छु पनि ।

‘श्री ५ अम्बरे’मा कसरी गर्नुभयो ‘कल गर्ल’को भूमिका ?
मलाई यो काम गर्न सहज भएन । मैले यस्ता व्यक्तिहरु त मेरो वरिपरि पनि देखेको छैन । निर्देशक दीपा बस्नेत पनि एक महिला भएकाले मलाई काम गर्न सहज भयो । हामी यस्तो पेशामा लाग्ने दिदी बहिनीको बारेमा वुझ्न डान्सबारमा पनि पुग्यौं । हामीले कसैको वास्तविकतामा मजाक गर्नु हुँदैन भन्ने बुझेका थियौं । डर पनि थियो, कतै हामीले गलत पात्र चयन त गरेनौं भनेर । तर, फिल्म समाजको ऐना भएकाले यस्ता भूमिका पनि गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले केही ‘रिसर्च’ गरेपश्चात यो भूमिका गरें । आफ्नो भूमिकालाई न्याय गरेजस्तो पनि लाग्छ ।

वेश्यावृत्ती किन हुन्छ ? तपाईंको भूमिकाले के सिकाउँछ ?
कसैले आफ्नो शरीर रहरले बेच्छ जस्तो मलाई लाग्दैन । यो जीवन धान्नका लागि कुनै पनि विकल्प नभएपछि अपनाइने पेशा हो जस्तो लाग्छ । यो कसरी र किन हुन्छ भन्ने कुराको आधार नै छैन । यो विश्वबाट नै हटाउन सकिन्छ भन्ने मलाई लाग्दैन । वेश्यावृत्ती पेशा होइन र राम्रो कुरा पनि होइन । फिल्म भित्रको मेरो भूमिकाले यस्तै भन्छ ।

पात्र अनुसार फिल्ममा अन्तरंग दृश्यहरु पनि दिनुभएको छ होला । गाह्रो भएन त ?
कतिपय अन्तरंग दृश्यहरु दिन मलाई गाह्रो भयो । आवश्यकताले गर्दा कतिपय दृश्यहरु फिल्ममा मैले गरेको छु, तर यस्ता दृश्य पुरुष निर्देशक नभएको भए सायद मैले दिन सक्दिन थिएँ होला ।

केकीलाई पर्दामा निर्वाह गर्न मन लागेका भूमिका कस्ता हुन् ?
म जस्तो छु त्यो भन्दा बेग्लै दृश्य गर्न मन लागेको छ । मलाई वायोपिक फिल्म, तथा ‘मेन्टल्ली च्यालेञ्जिङ’ भूमिका गर्ने धेरै रुचि छ, जहाँ म आफ्नो अभिनय देखाउन सकुँ ।

अभिनय किन गर्ने ?
साँच्चै हामीले अभिनय किन गरिरहेका छौं भनेर मैले बुझ्न सकेको छैन । एकदिन नाम नै रहँदैन भन्ने पनि छ । पैसाका लागि गरौं भने करोडौं कमाउने क्षेत्रमा पनि हामी छैनौं । एउटा फिल्म गरेरै नाम र दाम मात्र कमाउँ अनि छोडौं भन्न सक्ने अवस्था पनि छैन । यसैले, अलिकति नाम, अलिकति दाम अनि अलिकति सन्तुष्टीको लागि जसोतसो अभिनय गरिरहेका छौं जस्तो लाग्छ ।

फिल्ममा आएर गल्ती गरें भन्ने लागेको त छैन ?
कहिलेकाहीं लाग्छ, आखिर म यहाँ बसेर दैनिक हजार प्रश्नको जवाफ किन दिइरहेकी छु ? अनावश्यक कुरा सुनेर म किन बसिरहेको छु ? के सबै प्रश्नको उत्तर दिनै पर्छ ? मेरो आफ्नो व्यक्तिगत जीवन हुँदैन ? तर, मैले यो कुरालाई मनमा नै राख्ने गरेकी छु । यसलाई मनबाट पनि हटाउने कोशिस गरिरहेकी छु ।

पुरूषको तुलनामा एउटा महिलालाई फिल्ममा निरन्तर लाग्न कत्तिको गार्‍हो हुन्छ ? केकीलाई फिल्ममा निरन्तर लागेको देख्न सकिन्छ या सकिन्न ?
प्रकृतिले नै महिलालाई आमा बन्ने जिम्वेवारी दिएको छ । यो जिम्वेवारी ममा पनि छ । एउटा आमालाई अस्कर अवार्ड भन्दा महत्व उसको सन्तान हुन्छ । त्यो मलाई पनि हुन्छ । म पनि कुनै दिन आमा बन्छु । त्यसैले, कुनै क्षण मेरो काममा केही समय ब्रेक हुनेछ । म आमाको माया दिन नचाहने केटी पनि त होइन । त्यसपछी पनि फिल्ममा निरन्तर लाग्ने वातावरण बनोस् भन्ने चाहन्छु । कलाकारिता आमा भएपछि पनि रहिरहन्छ । त्यसैले निश्चित समय टाढा भएपनि जीवन्त फिल्ममै लाग्ने लाग्ने सोच छ ।

अन्तमा, केकी अधिकारी कस्तो व्यक्ति हो ?
हरेकको हेराई र बुझाई फरक हुन सक्छ । मैले त आफूले आँफैंलाई जे कुरा पनि ठीक गरे जस्तो लाग्छ । मैले आफ्नो लागि राम्रो हुने गर्छु । यो कुरामा म स्वार्थी चाँहीं हुन सक्छु । ‘नेचर’ले नै मानिसलाई केहि मात्रामा भएपनि स्वार्थी बनाएको हुन्छ । त्यसैले म आफ्नो खुसी चाहन्छु र यही खुसीको लागि फिल्ममा काम गर्दै छु । तर, अरूलाई चित्त नदुख्ने काम गर्छु । आफ्नो गल्ती छ भने माफि माग्न हिच्किचाउँदिन । कसैसँग रिसराग राख्दिन । जे काम गर्छु त्यो देश, समाज तथा परिवारको लागि गर्छु ।