
धादिङ । धादिङबेसीस्थित पुछार बजारमा रहेको किबो बोर्डिङ स्कुलको २०औँ विद्यालयस्तरीय खेलकुद उत्सव ‘20th Kibou Annual Sport Meet-2083’ सम्पन्न भएको छ । मंसिर ८ गतेदेखि सुरु भएको चारदिने खेलकुद उत्सव विशेष समारोहका बीच सम्पन्न भएको हो ।
‘मनमा आशा, मैदानमा जोस, खेलकुदले जोड्छ हरेक मन र सोच’ भन्ने मूल नारासहित आयोजना गरिएको उत्सवमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले करिब १५० वटा खेल तथा प्रतिस्पर्धात्मक गतिविधिमा सहभागिता जनाएका थिए ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसर पारेर आयोजना गरिएको उत्सवमा विद्यार्थीका साथै अभिभावक र शिक्षकहरूका लागि समेत छुट्टाछुट्टै खेल सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीले बताए ।
विद्यालयका निर्देशक काशीनाथ कोइरालाको अध्यक्षतामा सम्पन्न समापन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङ प्रमुख अतिथि तथा विद्यालयका प्रिन्सिपल प्रयास रेग्मी र नगर प्रहरी प्रमुख डिल्ली रमण लम्साल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । समारोहमा विभिन्न खेलमा विजयी विद्यार्थीलाई मेडल, प्रमाणपत्र र ट्रफी वितरण गरिएको थियो ।
शिक्षक अनुप भट्टका अनुसार प्रतियाेगितामा जुनियर र सिनियर गरी दुई तहमा सञ्चालन गरिएको थियो । जुनियर तहमा ५८ स्वर्ण पदक जित्दै रेड हाउस (रातो सदन) ‘Junior House of the Year’ घोषित भएको छ । यस तहमा ग्रीन हाउस (हरियो सदन) ले ४३, ब्लु हाउस (निलो सदन) ले ४२ र यल्लो हाउस (पहेंलो सदन) ले ३५ स्वर्ण पदक जितेका थिए ।
त्यसैगरी, सिनियर तहमा १७ स्वर्ण पदक जित्दै ब्लु हाउस (निलो सदन) ‘Senior House of the Year’ घोषित भएको छ । सिनियरतर्फ यल्लो हाउस र ग्रीन हाउसले समान १५/१५ स्वर्ण पदक जित्दा रेड हाउसले ११ स्वर्ण पदक प्राप्त गरेको थियो ।
विद्यालयले आयोजना गर्दै आएको खेलकुद उत्सवको यो २०औँ संस्करण हो । यस्ता प्रतियोगिताले विद्यार्थीको खेल प्रतिभा पहिचान गर्नुका साथै शारीरिक तथा मानसिक विकास, अनुशासन, नेतृत्व क्षमता र आपसी सहकार्यको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने विद्यालयको अपेक्षा छ ।
