धादिङ जोड्ने घाटबेँसी र फुर्केखोला पुलको टेन्डर एक साताभित्र आह्वान गरिँदै

Avatar photo
Dhadingpost
मंसिर १०, २०८३

धादिङ । धादिङलाई जोड्ने घाटबेँसी र फुर्केखोलामा पुल निर्माणका लागि एक साताभित्रै टेन्डर आह्वान गर्ने तयारी गरिएको छ ।

अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिततासहितको निर्णयपत्र प्राप्त भएसँगै सडक विभागले टेन्डर प्रक्रिया अघि बढाउन लागेको हो । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार धादिङ जोड्ने घाटबेँसी र फुर्केखोला तथा नुवाकोटको त्रिशूली बजारलाई पारिपट्टि जोड्ने गरी तीनवटा पुल निर्माणका लागि टेन्डर आह्वान गर्न लागिएको हो ।

तीनवटै पुल निर्माणलाई तीव्रता दिन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने प्रक्रिया कुर्नु नपर्ने गरी ‘डिजाइन एन्ड बिल्ड’ मोडेल अपनाइने भएको छ । यस मोडेलमा निर्माण व्यवसायीले डिजाइन र निर्माण दुवै जिम्मेवारी लिने भएकाले प्रक्रिया छोट्याएर काम अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।

अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले आवश्यक प्रक्रिया पूरा गरी आगामी एक साताभित्रै बोलपत्र आह्वान गर्ने सडक विभागको लक्ष्य रहेको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।

घाटबेँसी र फुर्केखोलामा पुल निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढ्नु धादिङको सडक सम्पर्क र आवागमन सहज बनाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।