
धादिङ । आज नोभेम्बर १२ अर्थात् विश्व निमोनिया दिवस। निमोनियाबारे जनचेतना अभिवृद्धि गर्ने, रोगको रोकथाम तथा उपचारमा पहुँच विस्तार गर्ने र यसबाट हुने मृत्युदर घटाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइन्छ ।
सन् २००९ मा चिकित्सक, पैरवीकर्ता, प्राज्ञ, संयुक्त राष्ट्र सङ्घका अधिकारी तथा व्यवसायीहरूको एक समूहले नोभेम्बर महिनामा पहिलो विश्व निमोनिया दिवसको सुरुआत गरेका थिए। त्यसयता हरेक वर्ष नोभेम्बर १२ मा विश्व निमोनिया दिवस मनाइँदै आएको छ ।
यस वर्षको विश्व निमोनिया दिवसको नारा ‘निमोनिया नियन्त्रणको नयाँ युग’ (A New Era of Pneumonia Control) रहेको छ। यस नाराले निमोनियाको रोकथाम, समयमै पहिचान र प्रभावकारी उपचारमा भएका प्रगतिलाई जोखिममा रहेका समुदायसम्म पुर्याउनुपर्ने आवश्यकतामा जोड दिएको छ ।
निमोनियाबाट वर्षमा २५ लाखको मृत्यु
निमोनिया पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युका प्रमुख कारणमध्ये एक हो । विशेषगरी न्यून तथा मध्यम आय भएका देशहरूमा बालबालिकाका साथै वृद्धवृद्धा र दीर्घकालीन स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा निमोनियाले गम्भीर जोखिम निम्त्याउने गरेको छ।
‘ग्लोबल बर्डन अफ डिजिज’ (Global Burden of Disease) का अनुसार सन् २०२३ मा विश्वभर निमोनियाका कारण करिब २५ लाख मानिसको मृत्यु भएको थियो । तीमध्ये ६ लाख १० हजार पाँच वर्षमुनिका बालबालिका थिए । यसले निमोनिया विश्वव्यापी जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा रहेको देखाउँछ ।
के हो निमोनिया ?
निमोनिया फोक्सोमा हुने संक्रमण हो । यसले फोक्सोका वायुकोषमा सुजन गराउने तथा तरल पदार्थ वा पिप जम्मा गराउन सक्छ । जसका कारण बिरामीलाई सास फेर्न कठिन हुने र शरीरमा अक्सिजनको मात्रा कम हुन सक्ने समस्या देखिन्छ ।
निमोनिया भाइरस, ब्याक्टेरिया तथा अन्य सूक्ष्म जीवका कारण हुन सक्छ । विशेषगरी बालबालिका, वृद्धवृद्धा, कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्ति र दीर्घकालीन रोगबाट पीडितहरूमा यसको जोखिम बढी हुन्छ ।
निमोनियाका प्रमुख लक्षण
निमोनिया हुँदा सामान्यतया निम्न लक्षणहरू देखिन सक्छन् :
- खोकी लाग्ने तथा कफ आउने
- ज्वरो आउने र शरीर काँप्ने
- छिटोछिटो वा कठिनाइपूर्वक सास फेर्ने
- छाती दुख्ने
- थकान तथा कमजोरी महसुस हुने
- बालबालिकामा दूध वा खाना खान कठिन हुने
- गम्भीर अवस्थामा ओठ वा नङ निलो देखिने
बालबालिकामा छिटोछिटो सास फेर्ने, छाती भित्र धसिने, दूध चुस्न नसक्ने वा असामान्य रूपमा सुस्त हुने लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा लैजान आवश्यक हुन्छ ।
निमोनियाबाट कसरी बच्ने ?
निमोनियाको जोखिम कम गर्न नियमित खोप लगाउने, पोषणयुक्त खाना खाने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र धुवाँ तथा वायु प्रदूषणबाट बच्ने उपाय अपनाउन सकिन्छ ।
विशेषगरी बालबालिकालाई उमेरअनुसारका नियमित खोप लगाउनु, स्तनपान तथा पोषणमा ध्यान दिनु, घरभित्रको धुवाँ कम गर्नु र साबुनपानीले नियमित हात धुनु निमोनिया रोकथामका महत्वपूर्ण उपाय हुन् ।
निमोनियाका लक्षण देखिएमा समयमै स्वास्थ्यकर्मीको परामर्श लिनु र आवश्यक उपचार गर्नु महत्वपूर्ण हुन्छ । ब्याक्टेरियाबाट हुने निमोनियामा चिकित्सकको सल्लाहअनुसार एन्टिबायोटिक प्रयोग गर्नुपर्ने हुन सक्छ । भाइरल संक्रमणमा भने उपचार रोगको कारण र गम्भीरताअनुसार फरक हुन सक्छ ।
निमोनिया रोकथाम गर्न सकिने र समयमै उपचार गर्दा निको हुन सक्ने रोग भए पनि जनचेतनाको कमी, खोप तथा स्वास्थ्य सेवामा पहुँचको अभाव र उपचारमा ढिलाइका कारण विश्वभर ठूलो जनधनको क्षति भइरहेको छ । विश्व निमोनिया दिवसले यस रोगबाट हुने मृत्यु न्यूनीकरणका लागि रोकथाम, पहिचान र उपचारमा सबैको ध्यानाकर्षण गराउने उद्देश्य राखेको छ ।

