
धादिङ । धादिङ समाज जापानले नेपाली कला, संस्कृति र परम्पराको संरक्षणसँगै आपत्कालीन राहत कोषमा सहयोग जुटाउने उद्देश्यले देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ ।
समाजका अध्यक्ष विमल श्रेष्ठका अनुसार आगामी नोभेम्बर ८ तारिख आइतबार साँझ ५ बजेदेखि जापानको टोकियोस्थित सिनओकुबोमा रहेको कुमारी रेस्टुरेन्टमा कार्यक्रम आयोजना गरिनेछ ।
नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको समाजले जनाएको छ । देउसी–भैलोबाट संकलित सहयोग आपत्कालीन राहत कोषलाई थप सुदृढ बनाउन उपयोग गर्ने लक्ष्य राखिएको छ ।
समाजले जापानमा बसोबास गर्ने नेपालीहरूलाई कार्यक्रममा सहभागी भई नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा मानवीय सेवाको अभियानमा साथ दिन आग्रह गरेको छ ।
धादिङ समाज जापानले स्थापना कालदेखि नै धादिङको स्वास्थ्य, शिक्षा, खेलकुदलगायत विभिन्न मानवीय सहयोगका क्षेत्रमा योगदान गर्दै आएको छ । समाजले भोटेकोशी बाढीपीडितका लागि समेत करिब १० लाख रुपैयाँ सहयोग गरेको थियो ।
नेपाली समुदायबीच आपसी सद्भाव र सहकार्य बढाउनुका साथै चाडपर्वको मौलिकता जोगाउने र विपद्का बेला आवश्यक सहयोग जुटाउने उद्देश्यले आयोजना गर्न लागिएको देउसी–भैलो कार्यक्रमले समाजको मानवीय सेवासम्बन्धी अभियानलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ ।










