
धादिङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। पार्टीले कात्तिक ७ गतेदेखि अभियान सुरु भएको औपचारिक घोषणा गरेको हो । अभियान मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ ।
अभियानका क्रममा पार्टीका सबै केन्द्रीय सदस्यदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्मका नेता तथा कार्यकर्ता आफ्नो मतदाता नामावली रहेको क्षेत्रमा परिचालित हुने बताइएको छ । अभियानमार्फत पार्टीको संगठन विस्तार, जनसम्बन्ध सुदृढीकरण तथा आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई प्राथमिकता दिइनेछ ।
जागरण अभियानसँगै पार्टीले महाधिवेशनको तयारीलाई समेत अघि बढाउने योजना बनाएको छ ।
धादिङमा भने अभियान कहिलेदेखि सुरु हुन्छ भन्ने विषयमा औपचारिक निर्णय हुन बाँकी छ । यसबारे नेकपाका नेता दीपक लामिछाने (सुबोध)ले केन्द्रबाट सर्कुलर प्राप्त भइनसकेको जानकारी दिए। केन्द्रको सर्कुलर आएपछि जिल्लामा बैठक बसेर कार्यविभाजन गर्ने र त्यसपछि अभियान सुरु गरिने उनले बताए ।
केन्द्रको निर्देशनअनुसार जिल्ला तहमा आवश्यक तयारी पूरा भएपछि धादिङमा पनि अभियान सञ्चालन हुने उनको भनाइ छ । फाईल तस्वीर

