धादिङमा १३औँ अनकन्या कपको फाइनल आज, विजेताले १ लाख ५० हजार पाउने

Avatar photo
Dhadingpost
कार्तिक ९, २०८३

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–७, धारापानीस्थित खेलमैदानमा जारी १३औँ अनकन्या कप ९-ए साइड फुटबल प्रतियोगिताको फाइनल खेल आज (कात्तिक ९ गते) हुँदैछ ।

कात्तिक ६ गतेदेखि लगनशील युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बिहान ८ बजे आयोजक लगनशील युवा क्लब र चक्रदेवी युवा क्लबबीच हुनेछ । त्यस्तै, दोस्रो सेमिफाइनलमा बिहान १० बजे सिद्धलेक वारियर्स र मैदी युनाइटेड आमनेसामने हुनेछन् ।

दुवै सेमिफाइनलका विजेताबीच आजै फाइनल खेल हुने क्लबका सचिव सौरव थापाले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ र सर्वाधिक गोलकर्तालाई ४ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

अनकन्या कपका अघिल्ला विजेता

अनकन्या कपका अघिल्ला संस्करणमा पनि विभिन्न क्लबले उपाधि जित्दै आएका छन् । १२औँ अनकन्या कपमा आयोजक लगनशील युवा क्लबले अनकन्या युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।

त्यसअघि ११औँ अनकन्या कपको उपाधि टार गाउँ युवा क्लब, मुरलीभञ्ज्याङले जितेको थियो । उक्त प्रतियोगिताको फाइनलमा टार गाउँले मैदी युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

२०६३ सालमा स्थापना भएको लगनशील युवा क्लबले स्थानीय खेल प्रतिभाको पहिचान, खेलाडी उत्पादन तथा खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यले अनकन्या कप आयोजना गर्दै आएको जनाएको छ ।