
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–२, नलाङ खिर्रेमा आयोजित तेस्रो स्वर्गीय लोकबहादुर गुरुङ स्मृति कप २०८३ खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकीले जितेको छ ।
तमु युवा समाज सिद्धलेक–२ को आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा नुवाकोटको दुप्चेश्वर गाउँपालिकालाई पराजित गर्दै सुपर हेल्थ उग्रचण्डी (शुक्लागण्डकी) ले उपाधि जित्न सफल भएको हो ।
उपाधि जितेसँगै गण्डकीले १ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको दुप्चेश्वर गाउँपालिकाले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ । त्यसैगरी तृतीय स्थान हासिल गरेको चितवनको भरतपुर महानगरपालिकाले ३३ हजार ३३३ रुपैयाँ नगद पुरस्कार हात पारेको छ ।
गत वर्ष सम्पन्न दोस्रो लोकबहादुर गुरुङ स्मृति कपको उपाधि दुप्चेश्वर गाउँपालिका नुवाकोटले जितेको थियो । त्यसअघि आयोजित पहिलो स्वर्गीय लोकबहादुर गुरुङ तथा स्वर्गीय मनोज श्रेष्ठ स्मृति कपको उपाधि ज्वालामुखी गाउँपालिकालाई पराजित गर्दै गण्डकी गाउँपालिकाले जितेको थियो ।
नलाङको साविक वडा नम्बर ४ का वडा अध्यक्षसमेत रहेका लोकबहादुर गुरुङको खिर्रेमा भएको सवारी दुर्घटनामा परी निधन भएको थियो । उहाँको सम्झनामा तमु युवा समाज सिद्धलेक–२ ले हरेक वर्ष स्मृति कप भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

