कांग्रेसको १५औँ महाधिवेशनमा धादिङबाट ८५ जना प्रतिनिधि सहभागी हुँदै

Avatar photo
Dhadingpost
अशोज १८, २०८३

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङबाट ८५ जना प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशनको उद्घाटन समारोह आज असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने नेपाली कांग्रेसले जनाएको छ ।

धादिङबाट प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित ६६ जना महाधिवेशन प्रतिनिधि तथा पदेन महाधिवेशन प्रतिनिधिका रूपमा प्रतिनिधिसभा क्षेत्रका सभापति २ जना, प्रदेशसभा क्षेत्रका सभापति ४ जना र स्थानीय तहका सभापति १३ जना गरी कुल ८५ जना सहभागी हुने भएका हुन् ।

कुल प्रतिनिधिमध्ये धादिङ क्षेत्र नं. १ बाट ४२ जना र क्षेत्र नं. २ बाट ४३ जना सहभागी हुनेछन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा हुने भए पनि बन्दसत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते हुने संशोधित कार्यतालिका छ । निर्वाचन कार्यक्रम भने असोज २१ र २२ गतेका लागि तोकिएको छ ।

महाधिवेशनमा स्वदेश तथा विदेशबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। कांग्रेसका अनुसार यसपटकको महाधिवेशनमा सहभागी प्रतिनिधिको संख्या पार्टीको इतिहासमै ठूलो हुने बताइएको छ।

धादिङबाट सहभागी हुने ८५ प्रतिनिधिले महाधिवेशनका विभिन्न प्रक्रिया तथा निर्णयमा जिल्लाको प्रतिनिधित्व गर्नेछन् ।