बाढीबाट प्रभावित धादिङको बागेश्वरी माविका ४०० विद्यार्थीलाई सहयोग

Avatar photo
Dhadingpost
भदौ १८, २०८३

धादिङ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित धादिङको गल्छी गाउँपालिका–६ स्थित बागेश्वरी माध्यमिक विद्यालयका करिब ४०० विद्यार्थीलाई शैक्षिक तथा व्यक्तिगत सरसफाइका सामग्री सहयोग गरिएको छ ।

युनाइटेड कम्युनिटी नेपाल (UniCoN) को सहयोगमा संकलन गरिएका सामग्री शिक्षा विकास तथा समन्वय एकाइ (EDCU), धादिङगल्छी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वय तथा सहकार्यमा विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

भोटेकोशी नदीमा आएको बाढीका कारण बागेश्वरी माध्यमिक विद्यालयमा ठूलो क्षति पुगेको थियो । बाढीबाट विद्यालयको भौतिक संरचनासँगै विद्यार्थीका शैक्षिक सामग्री तथा अन्य आवश्यक सामग्रीमा समेत असर परेको थियो ।

बागेश्वरी माविका विद्यार्थीलाई यस्ता सामग्री सहयोग

विद्यालयमा हस्तान्तरण गरिएका सामग्रीमा कापी, डटपेन, सिसाकलम, नुहाउने साबुन, टुथपेस्ट तथा ब्रस, स्यानिटरी प्याड र कपडाको झोलालगायत रहेका छन् ।

हस्तान्तरण गरिएका सामग्रीको विवरणअनुसार ४०० दर्जन कापी, ३०० दर्जन डटपेन, ३०० दर्जन सिसाकलम, ३०० थान नुहाउने साबुन, ३०० सेट टुथपेस्ट तथा ब्रस, ३०० प्याकेट स्यानिटरी प्याड र ३०० थान कपडाका झोला रहेका छन् ।

राहत सामग्री हस्तान्तरण कार्यक्रम शिक्षा विकास तथा समन्वय एकाइ (EDCU), धादिङका प्रमुख कृष्ण कुमार श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको थियो ।

राहत सामग्री व्यवस्थापनका लागि पहल गर्ने पूर्व IBSE स्याङ्जा जिल्ला संयोजक बिनोद न्यौपाने, IBSE–JICA का धादिङ जिल्ला संयोजक नवराज पाठक, युनाइटेड कम्युनिटी नेपाल (UniCoN)को सम्पूर्ण टोली तथा गल्छी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाप्रति EDCU धादिङले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

बाढीबाट क्षतिग्रस्त बागेश्वरी माध्यमिक विद्यालयको पठनपाठनलाई पूर्ण रूपमा नियमित बनाउन विद्यालयको भौतिक संरचना तथा शैक्षिक सामग्रीको पुनःव्यवस्थापन आवश्यक रहेको छ ।