
हरेक पदको आफ्नै प्रतिष्ठा हुन्छ । पद भनेको नाम वा परिचय मात्रै होइन, त्यससँग जिम्मेवारी, जवाफदेहिता र पदीय मर्यादा पनि जोडिएर आउँछ । कुनै पनि पद प्राप्त गर्ने व्यक्तिको पहिलो कर्तव्य नै उक्त पदको प्रतिष्ठा र मर्यादा जोगाउनु हो । अरूले त सुझाव दिने र मूल्यांकन गर्ने मात्रै हुन् ।
अहिले निकै आशा गरिएका र जनताले भारी मतका साथ पत्याएका, खासगरी युवा सांसदहरूमाथि नै गुनासा र निराशा व्यक्त हुन थालेका छन् । संसदमा नयाँ पुस्ताको उपस्थिति बढेसँगै जनताको अपेक्षा पनि स्वाभाविक रूपमा बढेको छ । तर केही सांसदको कमजोर प्रस्तुति, अध्ययनको कमी र संसदीय भूमिकाप्रतिको अपर्याप्त तयारीले ती अपेक्षामाथि प्रश्न उठाउन थालेको छ ।
जेनजीले खोजेको परिवर्तन अनुहारको मात्रै थिएन
पाका पुराना नेताका ठाउँमा नयाँ र युवा नेता, कामचोरका ठाउँमा कामयावी कर्मचारीतन्त्र, पुरानो ढाँचा र शैलीका ठाउँमा आधुनिक ज्ञान तथा प्रविधिबारे जानकार नेतृत्व, ढिलो र कमजोरको ठाउँमा छिटो र सशक्त नेतृत्व, अपारदर्शिता र साँठगाँठका ठाउँमा पारदर्शिता तथा योग्यतामा आधारित खुला प्रतिस्पर्धा अनि कुशासनका ठाउँमा सुशासन हुनुपर्छ भन्ने नै जेनजी विद्रोहको मूल मर्म हो ।
नवयुवाहरूले खासमा अनुहार परिवर्तन मात्रै चाहेका थिएनन् । उनीहरू शासकको सोच, शैली र संस्कारमै परिवर्तन चाहिरहेका थिए । पुरानो पुस्तालाई विस्थापित गरेर मात्र होइन, पुरानो प्रवृत्ति र कार्यशैलीलाई विस्थापित गरेर नयाँ पुस्ताको ऊर्जा, ज्ञान, प्रविधि, योग्यता र सिर्जनशीलतालाई राज्य सञ्चालनमा स्थापित गर्नुपर्छ भन्ने उनीहरूको मूल आकांक्षा थियो ।
त्यसैले जेनजी विद्रोहलाई युवाको आक्रोशका रूपमा मात्रै बुझ्नु हुँदैन । यो सुशासन, पारदर्शिता, जवाफदेहिता, योग्यता र परिवर्तनप्रतिको नयाँ पुस्ताको सामूहिक आकांक्षाको अभिव्यक्ति हो ।
सरकारको अहिलेसम्मको पहल, प्रयत्न र कदम हेर्दा केही नयाँ र राम्रो काम गर्न खोजेको देखिन्छ । नियतमै शङ्का गरिहाल्नुपर्ने अवस्था छैन । तर प्रस्तुति र कार्यान्वयनमा जाँदा हिजोको भनाइ र आजको गराइबीच तालमेल नमिलेको देखिन्छ ।
न्यायपूर्ण र विवेकशील सरकारको अपेक्षा राख्नेहरूलाई पहिलो गाँसमै ढुङ्गा लागेको अवस्था छ । सुकुम्बासीको हकमा देखिएको अमानवीय, अव्यावहारिक र निर्मम आतुरताले जनताको मन दुखाएको छ ।
युवा जोशसँगै अपरिपक्व दाउपेच, बदलाभाव, समन्वयको कमी, आफू नै सर्वज्ञ छु भन्ने अहम् भाव, सल्लाह लिने र दिने पङ्क्तिको सीमित घेरा तथा साँघुरो सोच नै सरकार र नेतृत्वको कमजोर पक्ष बन्न सक्ने देखिन्छ ।
सांसदहरूको कमजोर प्रस्तुति
एआईको सहयोगमा तयार पारिएको एकपाने लिखित भाषण पढ्दा पनि सांसदहरू थरथर काँपेको दृश्यले युवाहरूले भरिएको वर्तमान संसदको प्रस्तुतिमाथि प्रश्न उठाएको छ ।
हरेक दिन प्रायः कागज हेरेर बोल्ने युवा सांसदहरूको भाषण उस्तै र एकै शैलीमा किन आयो भन्ने प्रश्नसमेत उठेको छ । एआई सिर्जित लिखित सामग्रीमा निर्भरता बढ्दै गएको हो भने यसले सांसदको आफ्नै अध्ययन, ज्ञान र प्रस्तुतिको क्षमतामाथि गम्भीर प्रश्न खडा गर्छ ।
केही समयअघि सचेतकले समेत आफ्ना सदस्यहरूलाई यस विषयमा ध्यानाकर्षण गराउनुभएको भन्ने समाचार बाहिर आएको थियो ।
अध्ययन र विषयवस्तुको ज्ञानभन्दा पहिरन र प्रदर्शनतिर ध्यान, कालो चस्मा, मोडलिङ शैली, ChatGPT बाट तयार पारिएको एकपाने लिखित भाषण पढ्न पनि लगलग काँप्नुपर्ने अवस्था र कमजोर प्रस्तुतीले संसदीय पद, प्रतिष्ठा र मर्यादामाथि नै प्रश्न उठाउने अवस्था सिर्जना गरेको छ ।
सभामुखले नै मर्यादा सम्झाउनुपर्ने अवस्था
यस्तै गतिविधिका कारण सभामुखले समेत संसदलाई मर्यादित र अनुशासित बनाउन निर्देशन दिनुपर्ने अवस्था आएको लेखकको बुझाइ छ ।
संसदमा सांसदको पहिरनदेखि बैठकमा प्रस्तुत हुने शैलीसम्म पदीय मर्यादासँग जोडिन्छ । जनप्रतिनिधिले आफ्नो व्यक्तिगत स्वतन्त्रता र संसदको संस्थागत मर्यादाबीचको सन्तुलन बुझ्न आवश्यक हुन्छ ।
संसद केवल उपस्थित भएर भाषण गर्ने ठाउँ होइन। यो जनताको आवाज, नीति निर्माण र सरकारलाई जवाफदेही बनाउने सर्वोच्च राजनीतिक मञ्च हो ।
हरेक बादलमा चाँदीको घेरा हुन्छ
अंग्रेजी साहित्यमा एउटा भनाइ छ—“Every cloud has a silver lining.” अर्थात्, हरेक बादलमा चाँदीको घेरा हुन्छ ।
हरेक व्यक्तिको आ–आफ्नै खुबी र सामर्थ्य हुन्छ । यो दुनियाँमा काम नलाग्ने वस्तु र अयोग्य मानिस कोही पनि हुँदैन । तर उसको योग्यता, विज्ञता र क्षमताभन्दा बाहिरको जिम्मेवारी दिइयो भने समस्या उत्पन्न हुन सक्छ ।
उसको ज्ञान, सीप र क्षमताले धान्न सक्ने जिम्मेवारी दिइएको भए यस्ता प्रश्न उठ्ने थिएनन् । रहर गर्नेले पनि आफ्नो क्षमता र तयारीअनुसारको पद तथा जिम्मेवारी ग्रहण गरेको भए अहिले अक्षमताको आरोप खेप्नुपर्ने अवस्था आउने थिएन ।
अहिले सांसद बनेका धेरै युवायुवतीले आफ्नो ज्ञान र तयारीभन्दा माथिको भारी बोक्न खोज्दा कमजोरी छताछुल्ल भएको देखिन्छ । सामर्थ्य र ज्ञानभन्दा बाहिर भूमिका विस्तार गर्न खोज्दा आलोचना र प्रश्नको सामना गर्नुपरेको छ ।
आफ्नै क्षेत्रमा अब्बल, राजनीतिमा किन कमजोर ?
निर्वाचनपूर्व, अझ भनौँ संसदीय जिम्मेवारीमा आउनुअघिसम्म आज आलोचित भएका कतिपय माननीयहरू प्रशंसनीय थिए ।
कोही सामाजिक अभियन्ता थिए। कोही व्यापारी थिए। कोही पत्रकार थिए । कोही डाक्टर, कोही कलाकार, कोही मोडल र कोही समाजसेवी थिए । ती सबै आ–आफ्नो क्षेत्रमा अब्बल र प्रशंसनीय नै थिए ।
तर आफ्नो ज्ञान, सीप, योगदान र अनुभवभन्दा फरक क्षेत्रमा राजनीतिमा आएपछि कतिपय कमजोर र आलोचित देखिएका छन् ।
एउटा क्षेत्रको मान्छे अर्को क्षेत्रमा फिट नहुने भन्ने होइन । तर सबैले नयाँ जिम्मेवारीअनुसार आफूलाई अनुकूलन गर्न सक्छन् भन्ने हुँदैन । नयाँ ठाउँ र नयाँ जिम्मेवारीमा आफूलाई तयार गर्न समय, अध्ययन र अभ्यास आवश्यक हुन्छ ।
अहिले देखिएको कमजोरीको एउटा कारण यही पनि हुन सक्छ ।
संसदमा बोल्न पनि अध्ययन चाहिन्छ
संसदमा के बोल्ने ? कसरी प्रभावकारी रूपमा बोल्ने ? आफ्नो सम्बोधनलाई कसरी तार्किक बनाउने ? यी प्रश्नको उत्तरका लागि अध्ययन र अनुभव आवश्यक हुन्छ ।
अनुभव नयाँ सांसदसँग नहुन सक्छ । तर राजनीतिसम्बन्धी सामान्य ज्ञान र आफूले बोल्ने विषयको अध्ययन भने गर्न सकिन्छ । अध्ययन, चिन्तन र निरन्तर अभ्यासमार्फत आफूलाई जानकार बनाउन सकिन्छ ।
सांसद हुनु भनेको संसदमा उपस्थित भएर आफ्नो पालो आएपछि कागज हेरेर भाषण पढ्नु मात्र होइन । सांसद हुनु भनेको जनताको प्रतिनिधि भएर राज्य सञ्चालनका विषयमा विचार राख्नु, सरकारलाई प्रश्न गर्नु, नीतिमाथि बहस गर्नु र जनताको आवाजलाई तथ्य तथा तर्कसहित प्रस्तुत गर्नु हो ।
सांसदको एउटा भाषणले नीति निर्माणमा प्रभाव पार्न सक्छ । एउटा प्रश्नले सरकारलाई जवाफदेही बनाउन सक्छ । त्यसैले संसदमा बोल्ने विषयलाई सामान्य औपचारिकताका रूपमा लिनु हुँदैन ।
खोइ त ती जोशिला र तार्किक सांसदहरू ?
यतिबेला अघिल्लो संसदमा निर्वाचित जोशिला र तर्कशील सांसदहरूको खोजी र चर्चा सुरु भएको छ ।
सुमना श्रेष्ठ, सन्तोष परियार, मनिष झा, सोभिता गौतम, तोशिमा कार्कीजस्ता युवा सांसदहरू अघिल्लो संसदमा अध्ययन, चिन्तन र दमदार तर्कका साथ प्रस्तुत हुने गरेको लेखकको मूल्यांकन छ ।
रास्वपाका केही सांसदले सिंगो संसदमा प्रभावशाली बहस सिर्जना गरेका थिए । विपक्षी दलका नेताहरूले समेत उनीहरूको तयारी र तार्किक प्रस्तुतिको चर्चा गर्ने गरेका थि ए।
यो पालि मनिष झाहरू तुलनात्मक रूपमा मौन देखिनु, सोभिता मन्त्री बनेपछि उनको भूमिकामा आएको परिवर्तन तथा अध्ययन र तर्ककलामा अब्बल केही सांसद ओझेलमा पर्नु स्वाभाविक रूपमा चासोको विषय बनेको छ ।
पाकाहरूमा प्रदीप गिरी अनि युवाहरूमा सुमना श्रेष्ठजस्ता अध्ययन र तर्कसहित प्रस्तुत हुने सांसदको शैली अहिलेको सदनले खोजिरहेको छ ।
युवा हुनु मात्रै पर्याप्त छैन
जेनजीले खोजेको परिवर्तन बुढाका ठाउँमा युवा ल्याउनु मात्र होइन । युवा भएर पनि अध्ययन, ज्ञान, क्षमता र तर्कमा कमजोर हुनु जेनजीको सपना होइन ।
उमेरले युवा भएर मात्र पुग्दैन, सोच पनि युवा हुनुपर्छ ।
ज्ञानमा युवा, प्रविधिमा युवा, कार्यशैलीमा युवा, विचारमा युवा र परिणाम दिने क्षमतामा युवा हुनुपर्छ ।
जेनजीको सपना युवामय संसद मात्र होइन, सक्षम, अध्ययनशील, तार्किक, अनुशासित, पारदर्शी र परिणाममुखी संसद हो ।
अहिले इतिहासकै युवामय संसद बनेको छ । अब इतिहासकै सक्षम र प्रभावशाली संसद बनाउने जिम्मेवारी पनि यही पुस्ताको हो ।
सबैलाई चेतना भया !
