
धादिङ । वातावरण संरक्षणको सुरुआत आफ्नै घरआँगनबाट गर्नुपर्छ भन्ने सन्देशसहित लायन्स क्लब अफ धादिङ, नीलकण्ठले ‘एक लायन, एक बिरुवा’ अभियान सञ्चालन गरेको छ ।
लायन्स डिस्ट्रीक्ट ३२५ के अन्तर्गत रहेको क्लबले डिभिजन वन कार्यालय, धादिङको समन्वयमा वातावरण संरक्षण अभियानलाई अघि बढाउँदै आफ्ना सदस्यहरूलाई बिरुवा हस्तान्तरण गरी घरआँगन तथा उपयुक्त स्थानमा वृक्षरोपण गराएको हो ।
अभियानअन्तर्गत डिभिजन वन कार्यालय परिसरमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष पोषनाथ अधिकारीलाई वन कार्यालयका तर्फबाट बिरुवा हस्तान्तरण गरिएको थियो । त्यसपछि क्लबका सदस्यहरूले बिरुवा ग्रहण गरी आ–आफ्नो घरआँगन तथा अनुकूल स्थानमा रोपेका छन् ।
कार्यक्रममा क्लबका सचिव दीपक सिटौला, कोषाध्यक्ष शरणकुमार श्रेष्ठ, ट्रेजरर गोविन्द भण्डारी, डिस्ट्रिक्ट सिनियर एओजी ईश्वरीप्रसाद पाण्डे, ईश्वरकुमार श्रेष्ठलगायत लायन सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।
‘वातावरण संरक्षण घरबाटै सुरु गरौँ’
बिरुवा ग्रहण गर्दै क्लबका अध्यक्ष पोषनाथ अधिकारीले वातावरण संरक्षणका लागि ठूला अभियानभन्दा पहिले आफ्नै घर र वरपरको वातावरण हरियाली तथा स्वच्छ बनाउने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले समाज परिवर्तनका ठूला कुरा गर्नुअघि आफ्नै घर अघिको वातावरणलाई राम्रो र हरियाली बनाउनुपर्छ । घरबाट सुरु भएको यो सानो प्रयासले नै भोलि सिङ्गो समाज र देशको वातावरण जोगाउन ठूलो भूमिका खेल्नेछ ।”
क्लबका अनुसार ‘एक लायन, एक बिरुवा’ अभियानलाई केवल एकदिने वृक्षरोपण कार्यक्रमका रूपमा सीमित नराखी दीर्घकालीन वातावरण संरक्षण अभियानका रूपमा अघि बढाउने योजना बनाइएको छ ।
लायन्स क्लब्स इन्टरनेसनलका प्रमुख प्राथमिकतामध्ये वातावरण संरक्षण पनि एक महत्वपूर्ण क्षेत्र भएकाले सोही अवधारणालाई स्थानीय तहमा व्यवहारमा उतार्न क्लबले विभिन्न वातावरणीय गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।
यसका लागि क्लबले वार्षिक क्यालेन्डर बनाएर वृक्षरोपण, बिरुवा संरक्षण तथा वातावरणसम्बन्धी अन्य कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरेको छ ।
बिरुवा रोपेर मात्रै होइन, हुर्काउने प्रतिबद्धता
क्लबले अभियानमा सहभागी सदस्यहरूलाई आफूले रोपेका बिरुवाको नियमित संरक्षण र हुर्काउने जिम्मेवारीसमेत लिन आग्रह गरेको छ । साथै, कार्यक्रममा सहभागी हुन नसकेका लायन सदस्यहरूलाई पनि अभियानमा जोडिन र क्लबसँग सम्पर्क गरी बिरुवा लिएर रोप्न आह्वान गरेको छ ।
‘एक लायन, एक बिरुवा’ अभियानले प्रत्येक व्यक्तिले आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा योगदान दिन सक्छ भन्ने सन्देश दिएको क्लबको भनाइ छ ।
