
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१२ साँकोषस्थित निर्माणाधीन नीलकण्ठ पार्क परिसरमा लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
हरित प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा १२५ वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको क्लबका अध्यक्ष राजाराम रिजालले जानकारी दिए ।
उनका अनुसार पार्क परिसरमा धुपी, कपुर, कल्की फूल, पलाँस, अमला, गुलमोहरलगायतका बिरुवा रोपिएको छ । वृक्षारोपणले पार्कलाई हराभरा बनाउनुका साथै जैविक विविधता संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
उक्त नीलकण्ठ पार्क तत्कालीन प्रदेशसभा सदस्य डा. रामकुमार अधिकारीको पहलमा करिब ३ करोड रुपैयाँको काम भएपछि वजेट अभावमा काम अगाडि बढ्न सकेकाे छैन ।
कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणका लागि वृक्षारोपणलाई निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए । स्थानीयस्तरमा हरियाली विस्तार गर्ने यस्ता अभियानले भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
