
धादिङ । रोटरी क्लब अफ धादिङ र रोटर्याक्ट क्लब अफ धादिङको संयुक्त आयोजनामा त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित पञ्चधारे धार्मिक वन संरक्षण क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा प्राकृतिक स्रोतहरूको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका १०० वटा बिरुवा रोपिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा रोटरी तथा रोटर्याक्ट क्लबका पदाधिकारी एवं सदस्यहरूका साथै स्थानीय धार्मिक वन संरक्षण क्षेत्र उपभोक्ता समितिका पदाधिकारी र स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
रोटरी क्लब अफ धादिङका अध्यक्ष ईश्वर कडेलको नेतृत्वमा सम्पन्न कार्यक्रममा क्लबका सदस्यहरू अशोक कुमार बस्नेत, नवीन कुमार श्रेष्ठ, बाबु काजी श्रेष्ठ तथा कृष्णलाल श्रेष्ठ सहभागी थिए ।
त्यसैगरी रोटर्याक्ट क्लब अफ धादिङका अध्यक्ष भावना भट्टराई तथा सदस्य सन्दीप रिजालले सक्रिय रूपमा सहभागिता जनाएका थिए ।
स्थानीय धार्मिक वन संरक्षण क्षेत्र उपभोक्ता समितिसँगको समन्वयमा सम्पन्न कार्यक्रममा समितिका अध्यक्ष चेतप्रसाद बसौलाको नेतृत्वमा हरि पन्त, चेतनाथ बसौला, भूमिप्रसाद कडेल लगायत पदाधिकारी तथा सदस्यहरूले व्यवस्थापन र समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै रोटरी क्लब अफ धादिङका अध्यक्ष ईश्वर कडेलले वृक्षारोपणलाई भावी पुस्ताका लागि गरिने दीर्घकालीन लगानीको रूपमा व्याख्या गर्दै वातावरण संरक्षणमा सबैको साझा जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने धार्मिक वन संरक्षण क्षेत्र उपभोक्ता समिति, स्थानीय समुदाय तथा सम्पूर्ण सहभागीहरूप्रति आभार व्यक्त गरे ।
आयोजक संस्थाहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा दिगो विकासमा टेवा पुग्ने यस्ता सामुदायिक कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
