
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थित महेन्द्रोदय माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयमै च्याउखेती गरेर सिकाइसँगै व्यावसायिक सीप र उद्यमशीलताको अभ्यास थालेका छन् ।
विद्यार्थी उद्यमशीलता कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको च्याउखेती कार्यक्रममार्फत विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान, सीप र आत्मनिर्भर बन्ने सोचको विकास गराउने उद्देश्य राखिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक कुमार नेपालीका अनुसार कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई कार्यक्रममा सहभागी गराइएको छ। विद्यालयस्तरमै च्याउ उत्पादनको सम्पूर्ण प्रक्रिया-बीउ राख्ने, तापक्रम तथा आर्द्रता व्यवस्थापन, हेरचाह, उत्पादन संकलन र बजारीकरणबारे विद्यार्थीलाई व्यवहारिक रूपमा सिकाइ भइरहेको उनले बताए ।
उनका अनुसार कार्यक्रमका लागि शिक्षा समन्वय इकाइ धादिङले आर्थिक सहयोग गरेको हो । “पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर आएर विद्यार्थीले आफ्नै हातले उत्पादन गर्ने, श्रमको सम्मान गर्ने र भविष्यमा स्वरोजगार बन्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हौं,” प्रधानाध्यापक नेपालीले भने ।
विद्यालयका शिक्षकहरूका अनुसार च्याउखेतीमार्फत विद्यार्थीले कृषि प्रविधि, उत्पादन व्यवस्थापन, लागत तथा आम्दानीको सामान्य हिसाबकिताब र समूहमा काम गर्ने सीपसमेत सिकिरहेका छन् । यसले विद्यार्थीमा सिर्जनशीलता, जिम्मेवारीबोध र उद्यमशील सोच विकास गर्न सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले कक्षाकोठामा पढेको विषयलाई व्यवहारमा उतार्न पाउँदा सिकाइ अझ प्रभावकारी बनेको बताएका छन् । आफ्नै मेहनतबाट उत्पादन भएको च्याउ देख्दा उत्साह बढेको र भविष्यमा व्यावसायिक रूपमा च्याउखेती गर्ने प्रेरणा समेत मिलेको उनीहरूको भनाइ छ ।
विद्यालयले आगामी दिनमा च्याउखेतीलाई अझ व्यवस्थित बनाउँदै तरकारी खेती, नर्सरी, मौरीपालन तथा अन्य आयमूलक गतिविधिसमेत सञ्चालन गर्ने योजना बनाएको जनाएको छ । यस्ता कार्यक्रमले विद्यार्थीलाई अध्ययनसँगै जीवनोपयोगी सीप प्रदान गर्ने, स्वरोजगारप्रति आकर्षित गर्ने तथा विद्यालयलाई व्यवहारिक शिक्षाको केन्द्रका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
