ढोला स्वास्थ्य चौकी लगातार पाँचौँ पटक उत्कृष्ट, तीन वर्षदेखि जिल्ला प्रथम

Avatar photo
Dhadingpost
असार १३, २०८३

धादिङ । ज्वालामुखी गाउँपालिका–४ स्थित ढोला स्वास्थ्य चौकीले स्वास्थ्य संस्थाहरूको न्यूनतम सेवा मापदण्ड (एमएसएस) फलोअप मूल्यांकनमा लगातार पाँचौँ पटक उत्कृष्ट बन्दै धादिङ जिल्लाभर प्रथम स्थान हासिल गरेको छ ।

जनस्वास्थ्य कार्यालय धादिङ तथा सम्बन्धित स्थानीय तहबाट गरिएको मूल्यांकनमा सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा तथा स्वास्थ्य चौकी सहयोग सेवासम्बन्धी सूचकमा ढोला स्वास्थ्य चौकीले ९६ प्रतिशत अंक प्राप्त गर्दै जिल्लाका सबै स्वास्थ्य संस्थामध्ये पहिलो स्थान हासिल गरेको हो ।

ढोला स्वास्थ्य चौकीले आर्थिक वर्ष २०७८/०७९, २०७९/०८०, २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ मा ज्वालामुखी गाउँपालिकाभित्र लगातार पाँच वर्ष उत्कृष्ट स्वास्थ्य संस्था बन्दै प्रथम स्थान कायम गरेको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ मा लगातार तीन वर्ष धादिङ जिल्लाभर उत्कृष्ट स्वास्थ्य संस्था घोषित हुँदै प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्डअनुसार सुशासन, सेवा व्यवस्थापन, क्लिनिकल सेवा तथा स्वास्थ्य सेवा प्रवाहको गुणस्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आएको ढोला स्वास्थ्य चौकीले पछिल्ला वर्षहरूमा निरन्तर उत्कृष्ट नतिजा कायम राख्दै आएको जनाएको छ ।

तस्वीर स्रोतः ढोला स्वास्थ चौकी