
काठमाडौं । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच कार्यगत एकताको तयारी सुरु भएको छ ।
दुवै दलका नेताहरूबीच पछिल्लो समय कार्यगत सहकार्यबारे छलफल तीव्र भएको स्रोतहरूले बताएका छन् । गत २१ फागुनमा सम्पन्न निर्वाचनमा अपेक्षाभन्दा कमजोर परिणाम आएपछि वाम शक्तिबीच सहकार्यको आवश्यकता महसुस गरिएको बताइन्छ ।
यसअघि २०७४ सालमा केपी शर्मा ओली र पुष्पकमल दाहाल को नेतृत्वमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । उक्त एकताले वाम आन्दोलनलाई उल्लेखनीय राजनीतिक सफलता दिलाए पनि आन्तरिक विवादका कारण २०७७ सालमा पार्टी विभाजन भएको थियो ।
विभाजनपछि दुवै दलले राजनीतिक रूपमा उल्लेखनीय क्षति व्यहोरेको विश्लेषण हुँदै आएको छ । त्यसैको समीक्षा गर्दै आगामी स्थानीय तह निर्वाचनमा वाम मत विभाजन हुन नदिन र साझा रणनीति बनाउन कार्यगत एकताको गृहकार्य अघि बढाइएको स्रोतको दाबी छ ।
यद्यपि, कार्यगत एकता कुन मोडालिटीमा अघि बढ्ने, सिट तालमेल कसरी हुने तथा औपचारिक निर्णय कहिले हुने भन्ने विषयमा दुवै दलले हालसम्म सार्वजनिक रूपमा विस्तृत जानकारी दिएका छैनन् । राजनीतिक वृत्तमा भने आगामी निर्वाचनअघि वाम सहकार्यको सम्भावना बलियो बन्दै गएको चर्चा छ ।
