
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि धादिङबाट आठ जनाले उम्मेदवारी दिएका छन्। पार्टीको ९९ सदस्यीय केन्द्रीय समितिका लागि देशभरबाट चार सयभन्दा बढी आकांक्षीले उम्मेदवारी दर्ता गराएका हुन्।
धादिङबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेहरूमा धादिङबाट प्रत्यक्ष निर्वाचित संघीय सांसद बोदनारायण श्रेष्ठ र आशिका तामाङ रहेका छन्। त्यसैगरी हिमेश पन्त, उपेन्द्र पाण्डे, केशवराज अधिकारी, प्रकाश सुवेदी, प्रदीप तिमल्सिना (साजन) तथा कृष्णमान शाक्य ले पनि उम्मेदवारी दर्ता गराएका छन्।
रास्वपाले केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान प्रणालीमार्फत निर्वाचन गर्ने तयारी गरेको छ। मतदानबाट निर्वाचित हुने ९९ जना केन्द्रीय सदस्यहरूमध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने जनाइएको छ।
पार्टीका अनुसार मतदानका लागि विद्युतीय उपकरण प्रयोग गरिनेछ भने विदेशमा रहेका प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था गरिएको छ। निर्वाचनमा करिब चार हजार प्रतिनिधिले मतदान गर्ने अपेक्षा गरिएको छ।
