‘सुपर एल–निनो’ को प्रभाव: नेपालमा यस वर्ष कम वर्षा हुने अनुमान, खडेरीको जोखिम

Avatar photo
Dhadingpost
असार ४, २०८३

काठमाडौं । यस वर्ष प्रशान्त महासागरमा विकसित भइरहेको ‘एल–निनो’ प्रभावका कारण नेपालमा औसतभन्दा कम वर्षा हुने सम्भावना देखिएको मौसमविद्हरूले बताएका छन् । यसले कृषि, खानेपानी तथा जलस्रोत क्षेत्रमा समेत असर पार्न सक्ने भन्दै समयमै तयारी गर्न सुझाव दिइएको छ ।

नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ तारिख भए पनि करिब १० दिनसम्मको अघिपछि हुने अवस्थालाई सामान्य मानिन्छ । तर यस वर्ष मनसुन सक्रियतामा सुस्तता देखिएको र एक सातादेखि मनसुनको प्रणाली खासै अघि बढ्न नसकेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् डा. विनोद पोखरेलले बताएका छन् ।

यस्तै, सोही विभागका सहप्राध्यापक डा. मदन सिग्देलले यस पटक ‘सुपर एल–निनो’ को सम्भावना रहेको उल्लेख गर्दै आगामी एक महिनापछि वर्षा उल्लेखनीय रूपमा कम हुन सक्ने बताएका छन् । उनका अनुसार सम्भावित खडेरी र त्यसबाट पर्ने असरलाई ध्यानमा राखी संघ, प्रदेश र स्थानीय तहका सरकारले तत्काल आवश्यक तयारी सुरु गर्नुपर्छ ।

‘एल–निनो’ भनेको प्रशान्त महासागरको सतहको पानी सामान्य अवस्थाभन्दा असामान्य रूपमा तात्ने प्रक्रिया हो । महासागरको सतही तापक्रम सामान्यभन्दा ०.५ डिग्री सेल्सियसभन्दा बढी बढिरहँदा यसको प्रभाव विश्वव्यापी रूपमा देखिन सक्छ । यसले वायुमण्डलीय प्रणालीमा परिवर्तन ल्याई वर्षा, तापक्रम तथा मौसमको नियमित चक्रमा असन्तुलन सिर्जना गर्ने भएकाले विभिन्न देशमा खडेरी वा अत्यधिक वर्षाजस्ता चरम मौसमी अवस्था उत्पन्न हुन सक्छन् ।